०९ फागुन २०८० , बुधबार

अब हप्तामा दुई दिन बिदा ?

Two days public holiday?

छुटेका कुरा- 

नेपाल सरकारले हप्तामा हप्तामा दुई दिन बिदा दिनेबारे अध्ययन सुरु गरेकाे छ ।

त्यसका लागि सरकारले कार्यदल समेत गठन गरिसकेको छ । बीस बर्ष पहिले कार्यान्वयनमा गएर पनि फेल भएको यो अभ्यास फेरि प्रयोगमा ल्याउन सरकारले पहल थालेको हो ।

कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रको उत्थानका लागि यो योजनाले कामगर्ने विश्वास लिईएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारी र सार्वजनिक कार्यालयमा सातामा दुई दिन बिदा दिनेबारे छलफल भइरहेको विभिन्न कार्यक्रममा बताउँदै आएका छन् ।

अहिले धेरैजसो देशमा हप्ताको पाँच दिन, ४० घण्टा काम गर्ने व्यवस्था छ । तर, नेपालमा भने हप्ताको ६ दिन कर्मचारीले काम गर्ने व्यवस्था छ । अहिले ५ दिन (आइतबार देखि बिहीबार सम्म) १० देखि ५ बजेसम्म र एक दिन (शुक्रबार) १० देखि ३ बजेसम्म कार्यालय समय छ । ६ दिन काम गर्दा पनि यो भनेको ४० घण्टा नै हो । कर्मचारीहरु ईमान्दार हुनसके वा त्यस किसिमको नियम बनाएर लागु गर्न सके सेवा प्रवाहमा खासै नकारात्मक प्रभाब परिहाल्छ भन्न सकिदैन ।

मुस्लिम बाहुल्य अधिकांश देशले शुक्रबार र शनिबार बिदा दिने गरेका छन् भने पश्चिमा देशहरु बेलायत, अमेरिका, क्यानडा, अस्ट्रेलिया तथा एसियाली देशहरु चीन, जापानले शनिबार र आइतबार बिदा दिने गरेका छन् ।

नेपालमा पनि बीस बर्ष अघि हप्तामा दुई दिन बिदा दिने अभ्यास भएको थियो । एकपटक लागू भईसकेपछि फेल भएको यस्तो व्यवस्था पुनः कार्यान्वयनमा जानेमै शंका ब्यक्त गर्न थालिएको छ । सो व्यवस्था २ वर्ष पनि टिक्न सकेको थिएन ।
आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ ल्याइएको हप्ताको दुई दिन बिदाको अवधारणाबारे अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले दुई दिन अघि एउटा कार्यदल गठन गरेको छ । सो कार्यदलले काम सुरु गरिसकेको बताईएको छ । कार्यदललाई अध्ययनका लागि २ महिनाको समय तोकिएको छ । पर्यटन मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित कार्यदलमा विभागका निर्देशक, पर्यटन बोर्डको कार्यकारी अधिकृत, अर्थ, गृह र सामान्य प्रशासन मन्त्रालयको प्रतिनिधि सम्मिलित छन् ।

शुक्रबार र शनिबार वा शनिबार र आइतबार कुन दुई दिन बिदा दिने, सरकारी कर्मचारी, सरकारी संस्थान, नीजि क्षेत्र सबैलाई बिदा दिने कि नदिने भन्ने विषयमा पनि छलफल भइरहेको बताईएको छ ।
यस्तो अवस्थामा हप्तामा दुई दिन बिदा दिँदा वर्षमा अर्को ५२ दिन बिदा थपिने भएकाले पनि यसले सेवा प्रवाहमा कस्तो असर गर्ला भन्नेबारे गम्भीर भएर अध्ययन गर्नु जरुरी पनि रहेको छ ।
लगभग २० वर्ष अघि गरिएको त्यसबेलाको अभ्यास किन असफल भयो भन्नेबारे अध्ययन तथा अनुसन्धान अझै हुन सकेको छैन ।

के अब हप्ताको दुईदिन बिदा मनाउन पाउछन त सरकारी कर्मचारीहरुले ? निजी कर्मचारीले पनि यो सुविधा पाउलान त ? त्यो भने हेर्न बाकी नै छ ।

Leave a Reply

Your email address will not be published.