कहिलेकाहीं म सोच्दछु, यहाँ सत्कर्म गर्नेहरु नै किन बारम्बरमा प्रताडित हुन्छन् ?
म पतञ्जलिको कुरा गर्दैछु । यो संस्था जसले पछिल्लो ३५ वर्षमा दिनरात गरेर योग र आयुर्वेदलाई विश्वव्यापी रुपमा स्थापित गर्न सफल भएको छ । यो संस्थाले नेपालमा पनि ठूलो लगानी भित्र्यायो ।
म लामो समयदेखि नेपालमा पतञ्जलिका गतिविधिलाई नजिकबाट नियालिरहेको छु । जति पनि कामहरु भैरहेका छन् प्रचलित कानुन र विधिविधान भन्दा बाहिर गएर त पक्कै भएका छैनन् । हजारौं लाखौं कार्यकर्ताहरु जुटेर नेपालीहरुमा राष्ट्रप्रेम र स्वाभिमानको बिजारोपण गर्ने, युवाहरुलाई राष्ट्रहितमा जागरुक गराउने, सनातन संस्कृतिलाई समर्थन गर्ने, मानिसहरुलाई प्राणघातक रोगहरुबाट बचाउने, क्यान्सर, बिपी, सुगर जस्ता अनेकौ रोगहरु निको पार्ने कामहरु भैरहेका छन् ।
२०७२ सालमा टुडिखेलमा पतञ्जलिको योगशिविर चलिरहेको थियो । त्यति नै बेला गोरखाको बारपाक केन्द्रबिन्दु बनाई महाभुकम्प गयो । स्वामी रामदेव र श्रद्धेय आचार्य बालकृष्ण यो घटना हुँदा नेपालमै याेगकाे प्रचारप्रसारमा हुनुहुन्थ्याे । उहाँहरू शीघ्र भुकम्प प्रभावित क्षेत्रमा उपस्थित भएर राहत स्वरुप खाना, पानी, चिकित्सकीय उपचार र अस्थायी आश्रय प्रदान गरी हजारौं जीवित बचेका व्यक्तिहरुलाई सहयोग गर्नुभयो । त्यसबेला उहाँहरुले खाना, त्रिपाल, लत्ताकपडा, भाँडाकुँडा, न्यानो ओढ्ने, फलफुल लगायतमा ५ करोड र औषधिमा २ करोड गरेर ७ करोड बराबरको राहात सामाग्री वितरण गर्नुभएको थियो । विपद् व्यवस्थापनमा आयुर्वेदिक चिकित्सक, स्वयं सेवक, योग शिक्षकहरु खटाई, स्वास्थ्य सेवा, मनोचिकित्सकीय सेवा तथा योगको माध्यमबाट मानिसहरुलाई शारीरिक, मानसिक तथा भावनात्मक सहयोग पनि गर्नुभएको थियो ।
त्यस्तै २०८० सालमा आएको भुकम्पमा पनि उहाँहरूले घरबारविहीन भएका करिब ३ हजार परिवारलाई करिब २ करोड बराबरको सहयोग गर्नुभएको थियो । त्यसैगरि २०८१ भदौमा आएको बाढीपहिरोले प्रभावित बागमती प्रदेशका थुप्रै स्थानहरुमा २ करोड बराबरको राहत वितरण गर्नुभएको थियो ।
नेपाल र नेपालीको हितका लागि सधैं अग्रभागमा उभिएर भारतमा पनि आवाज उठाउने संस्था हो पतञ्जलि । जसले पर्यटनका लागि प्रचारकको काम गरिरहेको छ । आचार्य श्री आफैं विश्वभरि नेपाली भाषा बोल्दै नेपाली भाषा संस्कृतिको उत्थान र प्रवर्धनमा लाग्नुभएको छ । भारतमा समेत तिज लगायतका नेपाली चाडबाड मनाउनुहुन्छ । विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमहरु गर्नुहुन्छ । नेपाली संस्कृतिको जगेर्ना र नेपालीको पहिचानमा लागिरहनुभएको छ ।
यो सत्य हो, निशुल्क योग सिकाएर स्वामी रामदेवले नेपाली जनजनको मनको दैलोसम्म योग पुर्याउनुभयो । ५० हजारभन्दा धेरै योग शिक्षकहरूले व्यक्तिगत स्वार्थ त्यागेर योगको माध्यमबाट समाजसेवामा लागिरहनु भएको छ । ‘उमेरमै बुढेसकाल लाग्यो’ भन्नेहरू पनि उच्च जोश र जाँगरका साथ सक्रिय छन्। अबेरसम्म सुत्नेहरू सबेरै उठ्न थालेका छन्। पहिले धनी र केही निश्चित वर्गको अभ्यास मानिएको योग आज बिपन्न वर्गको घरघरमा पुगेको छ।
इमान्दारीपूर्वक भन्नुहोस्, यस्तो प्रेरणा कहाँबाट आयो होला ? के यो साधारण संकल्पबाट सम्भव थियो? केही सन्तहरू निरन्तर यस सत्प्रयासमा लागिरहनुभएको छ। उहाँहरूको प्रेरणाले थुप्रै नेपालीहरू विदेश गएर समेत योग र आयुर्वेदको तालिम लिने अवसर प्राप्त गरिरहेका छन् ।
स्वामी रामदेव र आचार्य बालकृष्णजीको मनमा नेपाल र नेपालीप्रति सधैं सम्मान र सद्भाव रहेको छ । जसरी उहाँहरुले पतञ्जलिका माध्यमबाट भारतमा योग र आयुर्वेदद्वारा करोडौं मानिसहरुलाई स्वस्थ बनाउने तथा स्वास्थ्योपचारको सेवा दिइरहनुभएको छ, धेरै मात्रामा राेजगारी सिर्जना गरिरहनुभएको छ, त्यसरी नै त्यही सेवा भावसहित निस्वार्थ र निशुल्क सेवा पुर्याउन उहाँहरुले नेपालमा पतञ्जलि योगपीठ नेपालको स्थापना गर्नुभयो ।
माथि उल्लेख गरेको छु, जसद्वारा उहाँहरुले योग र आयुर्वेदमा मात्रै नभएर नेपालीलाई लाग्नेगरेको चोटमा समेत मल्हम लगाउने काम गर्नुभएको छ ।
यस्ता सन्तहरुको अपमान गर्नु हाम्रो संस्कृति हाेइन । सन्तहरुले गरिरहेकाे कामकाे वास्तविकता बुझ्न खोजेमात्र पनि धेरै समस्याहरु समस्या लाग्दैनन् । राजनितिक दाउपेच, आग्रह, पूर्वाग्रह वा मिडियाबाजीका आधारमा उहाँहरु जस्ता महापुरुषहरुको सेवाभावलाई अपमान गर्नु, अपशब्द बोलेर बदनाम गर्नु, र अदालतको विचारधिन मुद्दामा पुर्वाग्रही हुनु राम्रो हो त ?
गल्ति के भयाे ?
योग र आयुर्वेदको प्रचार–प्रसार गर्नु गल्ति भयो कि ?
विदेशी वस्तुको उपभोग घटाउँदै स्वदेशी उत्पादनमा जोड दिनु गल्ति भयो कि ?
अभावमा पिल्सिएका विपन्न परिवारलाई योग र आयुर्वेदले निको हुने उपाय दिनु गल्ति भयो कि ?
कि नेपालमा ठूलो र दीर्घकालीन लगानी भित्र्याउनु गल्ति भयो ?
कि नेपालमा रोजगारी सिर्जना गरेर, नेपालका युवाले नेपालमै बसेर, नेपालमै सम्भावना देखेर, नेपालमै काम गर्नुपर्छ, अरूका पछि लाग्नुपर्दैन भन्नु गल्ति भयो ?
पतञ्जलिले विश्वमै एउटा उदाहरणीय काम गरेर नयाँ उचाइ कायम गरिसकेको छ । विदेशी कम्पनीहरूकाबीच काम्ने स्वदेशी कम्पनीहरूमा आत्मविश्वास जगाएको छ । स्वदेशी संस्कृति र सम्पदाको संरक्षण गर्दै मौलिक विकासमा जोड दिएको छ । भारतमा सफल भएको यो प्रयोग नेपालमा पनि नेपाली ढङ्गले अघि बढाउन प्रेरित गरिरहेको छ । ठुलो काम गर्न ठुलै संरचना चाहिन्छ, ठुलै आधार चाहिन्छ । त्यसैको सिलसिलामा काम गर्न बाधा भएका कानुन, नीतिनियम विकास अनुकुल बनाउनुपर्छ । भएको त्यही थियो । पतन्जलिको सत्प्रयासलाई बुझेका सबैले यो संस्थालाई सहयोग नै गर्न खोजेको देखिन्छ । तिललाई पहाड बनाएर सोझासाझा जनतालाई भ्रममा नपार्नु हुन विनम्र अनुराेध छ ।
