०६ फागुन २०८२ , बुधबार

विस्फोटको तेस्रो पाइला – कुञ्ज नाटकघरमा


विस्फोटको तेस्रो पाइला – कुञ्ज नाटकघरमा

काठमाडौं:
नेपाली साहित्यका स्थापित स्रष्टा सरूभक्तद्वारा लिखित नाटक ‘विस्फोटको तेस्रो पाइला’ माघ ४ गतेदेखि २० गतेसम्म नयाँ बानेश्वरस्थित थापागाउँको कुञ्ज नाटकघर (गुरुकुल) मा नियमित रूपमा मञ्चन भइरहेको छ। एभरेष्ट फिल्म एकेडेमी र कुञ्ज नाटकघरको सहकार्यमा तयार भएको यस नाटकले महिला उत्पीडन, मानवीय संवेदना तथा समसामयिक सामाजिक यथार्थलाई गहिराइका साथ उजागर गरेको छ।

प्रयोगवादी शैलीमा प्रस्तुत नाटकले ‘विस्फोट’ का तीन तहलाई प्रतीकात्मक रूपमा चित्रण गर्दै मानवीय चेतना, विद्रोह र सामाजिक परिवर्तनका पक्षलाई कलात्मक ढंगले प्रस्तुत गर्छ। कविता, नाटक तथा उपन्यासमार्फत निरन्तर सामाजिक प्रश्न उठाउँदै आएका सरूभक्तको ‘विस्फोट’ शृंखला नेपाली रंगमञ्चमा विचारोत्तेजक, अर्थपूर्ण र सशक्त कृतिका रूपमा परिचित छ।

नाटकको परिकल्पना तथा निर्देशन रोमस राय ठाकुरीले गरेका हुन्। कलाकारहरू रुन्जुन मानन्दर, आयन परियार, सरला, मिरा खड्का, अनुप भण्डारी, रोमस राय ठाकुरी र रेणुका आचार्यको प्रभावशाली अभिनयसँगै युवा कलाकारहरूको सशक्त, ऊर्जावान र जीवन्त प्रस्तुतिले दर्शक तथा रंगकर्मीहरूबाट प्रशंसा पाइरहेको छ, जसले नाटकलाई थप प्रभावशाली बनाएको छ।

नाटक बिहीबार बाहेक हरेक दिन साँझ ५ बजे मञ्चन हुँदै आएको छ भने शनिबार दिउँसो १ बजे अतिरिक्त शो समेत राखिएको छ। टिकट दर विद्यार्थीका लागि ३०० रुपैयाँ र सामान्य दर्शकका लागि ४०० रुपैयाँ निर्धारण गरिएको छ। साथै, ३ वटा टिकट खरिद गर्दा १ वटा टिकट निःशुल्क प्रदान गरिने विशेष अफर पनि उपलब्ध छ।

समसामयिक सामाजिक यथार्थ र मानवीय संवेदनालाई प्रयोगात्मक रंगमञ्चमार्फत अनुभूति गर्न चाहने दर्शकका लागि ‘विस्फोटको तेस्रो पाइला’ एक महत्वपूर्ण, सशक्त र स्मरणीय प्रस्तुति बन्ने अपेक्षा गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *