०३ फागुन २०८१ , शनिबार

तुलनाको अर्को दुष्प्रयास

who is best !

छुटेका कुरा-

आधुनिक फुटबलमा को महान् – रोनाल्डो वा मेस्सी ?

महान खेलाडीको गद्दीमा आसीन हुन लायक वास्तविक  फुटबलर को हुन ?

को सर्वाधिक सफल एथलेट्स हुन ? यावत प्रश्नहरू कोहिको दिल, दिमाग र मनमा छन् । चाहे त्यो फुटबलमा चासो राख्ने होस् या नहोस् । आफूलाई मन पर्ने खेलाडी नै महान हुन भन्ने कुरामा तपाईं हामी स्पष्ट नै छौँ नि …होइन ? आफ्नो रोजाइमा गर्वले छाती त फुल्ने नै भयो तर के तपाईं सत प्रतिशत ढुक्क हुनुहुन्छ आफ्नो छनौटमा ?

तपाईंको रोजाइमा मेरो पुर्ण सम्मान र समर्थन छ । पृष्ठभूमि हेरौँ थोरै ।

आधुनिक फुटबलको सुरुवात सन् १८५७ मा वेलायती फुटबल क्लब “सेफिल्ड एफसी” को स्थापनापछि भएको मानिन्छ । आजको समयसम्म आइपुग्दा कसले सोचेको थियो होला, फुटबलले यत्तिसम्मको उचाइ लेला भनेर । कसले सोचेको थियो होला..संसारले मेस्सी, रोनाल्डो, नेइमार , पेले, म्याराडोना, रोनाल्डिन्हो , जिदाने जस्ता सयौं खेलाडी पाउनेछ र आफ्नो फुटबल कौशलले संसार झुमाउने छन् भनेर । तर हकिकत हामी सामु छ । फुटबल के हो, मैले धेरै नबोले राम्रो होला । आज फुटबल हाम्रो संस्कृति भएको छ । आत्मियता , भाइचारा र विश्व बन्धुत्वको एकताको कारक भएको छ ।

टोलटोलमा हुने भाले कप होस् या स्थानीय फुटबल टुर्नामेन्ट या विभिन्न देशका फुटबल लिग हुन या फुटबलको महाकुम्भ विश्वकप फुटबल, हामीले बिताएको त्यो ९० मिनेट हाम्रो जीवनकै खास र विशेष रहन्छ – मैदान भित्रका खेलाडी अनि मैदान बाहिरका  दर्शकलाई  ।

 

फुटबल “टिम गेम” हो तर एक जना उत्कृष्ट खेलाडीको उपस्थितिले टिमको प्रदर्शनलाई अर्कै दर्जामा पुर्याइदिन्छ । यस्ता उत्कृष्ट खेलाडी पहिले आए, पछि पनि आउलान तर

⭐️सर्वकालीन वर्तमान फुटबलको सर्वाधिक महत्त्वपूर्ण मत एक ठाउँ गएर अड्किन्छ – लियोनेल मेस्सी कि क्रिष्टियानो रोनाल्डो महान् भन्ने विषयमा। यो विषय तबसम्म रहनेछ जबसम्म फुटबल रहन्छ ⭐️।

लामो समयदेखिको यो बहस आज म केही तथ्यमा आधारित भएर प्रकाश पार्ने कोशिश गर्दैछु । 

यी दुई खेलाडी आफैमा फुटबल जगतका नक्षत्र हुन । यिनलाई फुटबलका भगवान मान्नेको पनि कमि छैन होला तथापि यो दुस्साहस आफैमा रोचक छ , रोमाञ्चक छ । कुनै फ्यानको मन नदुखोस् , चोट नपरोस् । यो मेरो व्यक्तिगत धारणा हो । ध्यान मोडौँ तथ्यतिर अर्थात लेट्स चेक फ्यक्ट्स । 

आजको फुटबल दुनियाँमा यी खेलाडीको वर्चस्व एक दशक भन्दा लामो अवधिसम्म रहिरहँदा अझै कति रेकर्ड बन्न बाँकी होलान । त्यसैले मेस्सी र रोनाल्डो बिचको तुलना गर्नु अहिलै नै हतार हुनेछ । तथापि तथ्य र तथ्यांकमा त बहस गर्न सकिन्छ नि ।

यहाँ उल्लेख डाटा २०१९/२० को च्याम्पियन्स लिगसम्मका हुन् जसलाई निम्न शीर्षकमा बाढ्न सकिन्छ : 

गोल संख्या

क्लब र देशका लागि खेलेका १,०१४ खेलमा रोनाल्डोले ७३७ गोल गरेका छन् जबकी उनीभन्दा १४५ कम खेल खेलेका मेस्सीको नाममा ७०४ गोल रहेको छ  ।

जम्मा असिस्ट

 गोल गर्न अरुलाई अवसर सिर्जना गर्ने  मामिलामा मेस्सी अगाडि देखिन्छन् । उनको नाममा कुल २९८ असिस्ट छ भने रोनाल्डोले मात्र २२३ असिस्ट गरेका छन् ।

बल पासिङ , ड्रिबलिङ र हेडिङ

 प्लेमेकर भएकाले मेस्सीको बल पासिङ राम्रो देखिन्छ । ड्रिबलिङको मामिलामा पनि मेस्सीलाई रोनाल्डोले भेट्न सकेका छैनन् तर हेडिङ गोलको तथ्यांक हेर्दा १०१४ खेलमा १२७ गोल गरेका रोनाल्डो बिना कुनै शंका उत्कृष्ट छन् । ८६९ खेलमा मेस्सीको हेडिङ गोल संख्या मात्र २४ रहेको छ ।

पेनाल्टी

 पेनाल्टीलाई गोलमा परिणत गर्ने कुशलता केही ज्यादा रोनाल्डोको नाममा रहन्छ किनकि उनले १२७ गोल पेनाल्टी मार्फत गरेका छन् जसमा २५ अवसरमा उनी चुकेको देखिन्छ । यहि कुरामा मेस्सीले ९० गोल पेनाल्टी मार्फत गरेका छन जसमा २६ पटक उनी गोल गर्नबाट  असफल भएका छन् ।

फ्रिकिक

 हालका वर्षहरुमा मेस्सीले धेरै फ्रिकिक गोल गरिरहँदा रोनाल्डो केही पछाडि परेको हो कि भन्ने कुरा समर्थकलाई लागे पनि रोनाल्डोको नाममा ५५ र मेस्सीको नाममा ५४ फ्रिकिक गोल रहेका छन् जुन लगभग बराबर नै हो ।

ह्याट्रिक

 दवै जनाको ह्याट्रिक संख्या जोड्दा ११० हुन आउँछ जुन फुटबल जगतमा नै दुर्लभ मानिन्छ । देश र क्लबका लागि खेलेका सम्पूर्ण खेलमा मेस्सीले ५४ ह्याट्रिक पूरा गरेका छन भने रोनाल्डोले ५६ ।

रेकर्ड

सायदै कुनै रेकर्ड होलान जुन रेकर्ड यी दुई खलाडीले तोडेका नहुन । दुवै खेलाडीको रेकर्डको कुरा गर्दा लगभग समान देखिन्छ । एकै वर्षमा ९१ गोल गरेर गिनिज बुकमा विश्व किर्तिमान राखेका मेस्सी र च्याम्पियन्स लिगमा रेकर्डको थुप्रो लगाएका रोनाल्डोको व्यावसायिक खेलमा अझै रेकर्ड बन्ने र तोडिने क्रम जारी रहनेछ भन्न सकिन्छ । घरेलु लिगमा मेस्सी सर्वाधिक (६३४) गोल गर्ने खेलाडी हुन भने रोनाल्डो युरोपेली देशमा आफ्नो देशका लागि सर्वाधिक(९९) गोल गर्ने खेलाडी हुन् । दुवै रेकर्ड आफैमा अविश्वसनीय छन् ।

व्यक्तिगत सम्मान र उपाधी

 फुटबलको सर्वाधिक सम्मानित उपाधी बेलोन डि’अर मेस्सीले २००९ देखि २०१२ सम्म लगातार ४ पटक सहित कुल ६ पटक जितेका छन् । उनले समान ६ पटक नै युरोपियन गोल्डेन बुट जितेका छन् । विश्वकप फुटबलमा उनले जितेको गोल्डेन बल पनि उनको व्यक्तिगत ट्रफि ड्रअरलाई शोभा बढाएको छ ।

अर्कोतिर रोनाल्डोले ५ पटक बेलोन डि’अर र ४ पटक युरोपियन गोल्डेन बुटको सम्मान पाएको देखिन्छ । “पुस्कास अवार्ड ” बाट पनि सम्मानित रोनाल्डोलाई पनि व्यक्तिगत उपाधी र सम्मानमा मेस्सी भन्दा कम आक्न मिल्दैन ।

जम्मा ट्रफी

  खेल जीवन भरी यी दुई खेलाडीको जम्मा ट्रफी संख्या ज्यादै अपत्यारिलो छ । मेस्सीले कुल ३४ उपाधी जित्दा रोनाल्डोको नाममा ३२ ट्रफी रहेका छन । जसमा  च्याम्पियन्स लिग ५ पटक रोनाल्डो र ४ पटक मेस्सीले जितेका छन ।

देशका लागि रोनाल्डोले २०१६ को युरोकप र २०१९ को लिग अफ नेसन्स जिताएका छन् जसले उनलाई मेस्सी भन्दा आफू उत्कृष्ट रहेको प्रमाणित गर्न केही हद सम्म मदत गरेको छ । तर लगातार ४ मुख्य प्रतियोगितामा फाइनल पुगेर पनि उपाधी जित्न नसक्नु मेस्सीको खेल जीवनको ठूलो अभिशाप हो । अर्जेन्टिनाका लागि सन् २००४ को यु-२० विश्वकप र सन् २००८ को ओलम्पिक स्वर्ण पदक जिताए पनि सिनियर टिमबाट मेजर उपाधी उचाल्ने चाहना अझै अधुरै छ र उनको चाहान कैले पूरा हुने हो त्यो भने हेर्न बाँकी छ ।

अत: विश्वकप फुटबलको उपाधी भने दुवै खेलाडीको आगामी लक्ष्य हुनेछ ।

अन्तर्राष्ट्रिय गोल संख्या

 आफ्नो देशका लागि खेलेका खेलमा दुवैले आफ्नो देशमा सर्वाधिक गोलको कीर्तिमान राखेका छन् । पोर्चुगलका लागि रोनाल्डोले ९९ गोल (१६४ खेलमा) गर्दा मेस्सीले ७० गोल ( १३८ खेलमा) गरेका छन् ।

रोनाल्डोमा धेरै देशका क्लब र खेलाडीसँगको अनुभव छ भने मेस्सीले एकै क्लबमा एउटै लयलाई कायम राखिरहने निरन्तरता आफैमा गर्विलो छ ।

उमेरले रोनाल्डोभन्दा दुई वर्ष कान्छो भएपनि मेस्सीको र रोनाल्डोको  तथ्य र तथ्यांक समग्रमा उस्तै उस्तै छ । २१औं शताब्दीको पुस्ताले पाएको अद्वितीय उपहार यी सर्वश्रेष्ठ खेलाडीको खेल कौशल देख्न पाउनु नै हो- त्यो पनि एकै मञ्चमा ।

प्रस्तुत माथिको तुलना मात्र “नम्बर” को भ्रम हो , अंकको खेल हो । योगदान र खेल कौशलको तुलोमा राख्दा यिनको तौल लगभग बराबर छ । तुलना गर्नु नराम्रो होइन । तुलनाले आफैमा प्रतिस्पर्धात्मक भावनाको वातावरण बनाउँछ जसले अन्तत: क्षमता प्रदर्शनलाई सुधार्न उत्प्रेरित पनि गर्छ  ।

त्यसैले , हामीले दुवैको खेल हेर्ने हो, मनोरञ्जन लिने हो, भाइचारा बढाउने हो न कि अशिष्ट , अशोभनीय र अस्वस्थ प्रतिस्पर्धा । हामी यस मानेमा भाग्यमानी छौँ कि हामीले एउटै कालखण्डमा यी दुई सर्वश्रेष्ठ सफल खेलाडीलाई सँगै एउटै मैदानमा एउटा बलको लागि संघर्ष गरेको देख्यौं । जीतमा टिमको सेलिब्रेसन र हारमा उनीहरुको मलीन अनुहार देख्यौं । समाज सेवामा पनि ठूलो योगदान दिएका यस्ता असल विश्व नागरिकको बारेमा बनेका एउटै फ्रेममा अटेजति भिडियो, फोटो र अन्य सामाग्री हामी सेभ गरेर राख्छौं । यो नै हो खेलको अन्तिम उदेश्य ।

No hate, Only Admiration ! 

तुलनाको विषयमा महान-महान खेलाडी बिच त मत भिन्नता छ भने हामी दर्शक किन बढी उद्वेलित हुने, किन लड्ने ?

तुलना गर्ने आधार उनीहरुको  उमेर, आम्दानी , प्रभाव र नतिजा होलान तर यी महान खेलाडी आफैमा बिजेता हुन्

आफैलाई इमानदार भएर सोध्नु त- यी खेलाडीको कमेन्ट्री सहितको पुराना हाइलाइट्स हेर्दा कति आनन्द आउँछ , संसार नै भुलिन्छ । हो कि होइन त ? एकदम हो नि ।

त्यसैले यो बहस छोडुम र यो कुराको निष्कर्ष यसरी सकौँ :

“अद्भूत कला हेर्नु छ भने रोनाल्डोको खेल हेर, जादु हेर्नू छ भने मेस्सीको कौशल । “

#messi #ronaldo

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *