छुटेका कुरा-
कोरोना भाइरसको सङ्क्रमणपछि स्थगित त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर तहका समेस्टर प्रणालीका परीक्षाहरुको नतिजा आन्तरिक मूल्यांकनबाटै गरिने तयारी भइरहेको छ ।
त्रिविका अनुसार वार्षिक प्रणालीमा अध्ययनरत विद्यार्थीको भने लिखित परीक्षाबाहेक मूल्याङ्कनको विकल्प छैन् ।
त्रिविले विभिन्न संकायमा विभागबाट आएका पत्र र आयोगले गरेको सिफारिसका आधारमा अन्याैल टुङ्ग्याईने बताइएकाे छ ।
स्नातक तह तथा स्नातकोत्तर तहका मौखिक परीक्षाहरू अनलाइन मिटिङ एप्समार्फत सञ्चालन गर्न सकिने पनि बताइएको छ ।
त्रिभुवन विश्वविद्यालयका रजिष्टार पेसल दाहालले विद्यार्थीको समय खेर नजाने किसिमले अगाडि बढ्ने बताए । गत चैतमै हुनु पर्ने स्नातकोत्तरका परीक्षाहरु हालसम्म हुन नसकेकोले अब चाँडै नै यसको बारेमा सोच्नै पर्ने बेला भएको उहाँहरूको भनाई छ ।
यही चैतमा व्यवस्थापन संकायका स्नातकोत्तर तहमा दोस्रो र चौथो सेमेस्टरको परीक्षा सञ्चालन भइरहेका थिए भने एमए दोस्रो र चौथो सेमेस्टरको परीक्षा सुरु हुन दुई दिन मात्र बाँकी थियो । यसबाट स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने लाखौँ विद्यार्थी प्रभावित भएका छन् ।
विश्वविद्यालयले सेमेस्टर प्रणालीका माध्यमबाट पठनपाठन हुने र हाल अनलाइन माध्यमबाट कक्षा सञ्चालन भएका विद्यार्थीको परीक्षा कुन आधारमा सञ्चालन गर्ने भनेर पनि अध्ययन भइरहेको उहाँले बताउनुभयो ।
कोरोनाको सङ्क्रमण बढ्ने अवस्था देखिएपछि चैत ५ गते विश्वविद्यालयका सबै परीक्षा रोक्न सरकारले निर्देशन दिएको थियो । सरकारको सोहि निर्देशनपछि विश्वविद्यालयले चैत ७ गतेबाट सुरूहुनलागेका परीक्षा स्थगित गर्ने निर्णय लिएको थियो ।