०९ माघ २०८१ , बुधबार

लघुकथा- जिब्रोको गरिमा

लघु कथा

राती अबेर सुत्नुको परिणाम- बिहान पनि अबेर उठें ।
यो अर्लामको ठाँडो पनि बजेनछ क्या ! बज्यो होला आफ्नै निन्द्रा उस्तो चालै पाइएन ! सवा छ मा कलेज पुग्नुपर्ने , साढे पाँच भैसकेछ ! आँखामा दुई अजुली पानी छ्यापें । हतार हतार झोला च्यापेर कुदें । नजिकको माइक्रो स्टेसन पुगें ।

परबाट माइक्रो हानिंएर आउँदै थियो । आइपुगी पनि हाल्यो । अहो ! के बिधि मान्छे हालेको होला ? हुन त सबैलाई मैलाई जस्तो हतार त होला ! ढोकाबाट के छिर्दै थिएँ, पछाडिबाट खलासिले सात पुस्ताको बल लगायर ठेल्यो । म यताउता ढुनमुनिंदै भित्र पुगें । भित्र खुट्टा राख्ने ठाउँ पनि थिएन । कतिका खुट्टा कुचिए । कतिसँग त धकलपकल नै भयो । सबैले खाउँला जस्तै गरेर मलाई घुर्न थाले । लाग्थ्यो ; म उनीहरूको सबैभन्दा ठूलो दुश्मन हुँ । एक जना मोटी न मोटि दुई जनाको सिट एक्लै ओगटेर बसेकि दिदीले मुखै फोरिन, धन्न बुढाससँग झगडा नपरेको मौका परेच क्यारे- यत्ती भनिन्, “आँखा पनि नदेख्ने ।” गल्ती मेरै थियो । अझ त्यो ठेल्ने खलासीको । त्यसैले चुप्प लागेर अर्कोतर्फ फर्किएँ ।

माइक्रोमा बस्नेभन्दा उभिने धेरै छन् । उभिनेभन्दा ढोकामा झुण्डिने धेरै छन् । उभिनेमा महिला धेरै छन । तन्नेरीभन्दा अधबैंसे र बृद्ध धेरै छन् । म पनि एउटा कुनामा च्यापिएर बिराजमान छु । अनेक किसिमका मान्छे । छरेका छन अनेक किसिमका गन्धयुक्त सुगन्ध । ती गन्ध एकै ठाउँमा मिसिएर कक्टेल भएको छ । र, एउटा भयानक विष गन्धको रुपमा मेरो नाकमा ठोकिन पुग्छ । म निसासिन्छु । मास्कले छोपेको नाक बाहिरबाट बुढीऔंला र चोर औंलाले च्याप्छु । खलासीले पुरानै भजन गाइरहेको थियो- “ए दिदी, दाइ, जाने हो ?? सिट खाली छ…!! सिट खाली छ… ल बल्खु.. कालिमाटि… रत्नपार्क… बसपार्क.. ..!!

यात्रु भन्ने बित्तिकै पछाडि गएन भनेर । अली खाँदिएर उभिएन भनेर । नक्कली परिचय पत्र देखायो भनेर । खुद्रा रुपियाँ दिएन भनेर । भाडामा एक रुपियाँ पुगेन भनेर । ओर्लने ठाउँ सोध्दा बोलेन भनेर । ओर्लने ठाउँमा छिटोछिटो झरेन भनेर…… रिसायो, झोक्कियो, निधार खुम्च्याउँदै, लामालामा रेखा तन्काउँदै भन्न मिल्ने नमिल्ने सबै भन्यो खलासीले यात्रुलाई ।

यात्रुलाई मिलाएर राखेन भनेर । बाटो काट्दा अर्को गाडीलाई हात दिएन भनेर । थप यात्रु चढाउन सकेन भनेर । राम्रोसँग ढोका लगाएन भनेर । टायरमा हावा विचार गरेन भनेर । साइडलेन्स मिलाइदिएन/ पुछिदिएन भनेर । टाइममा भाडा उठाएन भनेर…. ड्राइभर जङ्गियो । कण्ठस्थ श्लोक भनेझैं आमा चकारी गाली नै दियो खलासीलाई ।

यात्रु पनि के कम ! सिटभन्दा धेरै मान्छे खाँदेकोमा । भाडामा छुट नदिएकोमा । एक रुपियाँ फिर्ता नपाएकोमा । भनेकै ठाउँमा नरोकिदिएकोमा । माइक्रो बिस्तारै हाँकेर ढिलो गरिदिएकोमा । परिचयपत्रमा छुट नदिएकोमा । एकै ठाउँमा धेरै बेर रोकेकोमा….. धारे हात लगाए । न्वारनदेखिको बल लगायर ड्राइभर र खलासीका पितृलाई पनि पुग्ने गरी गाली दिए यात्रुले ।

अझ रमाइलो त यात्रु यात्रुबीचमै पनि थियो । फलानोको आँखा फुटेको खुट्टैमा किचिदियो । हलानो कति मातिएको कताकता छोइदियो । ढिस्कानाले कति पेल्न सक्या ! छेस्कानाका मोजा गनाए छि छि ! कुन चाहिं हो कपाल लुछ्ने ? अन्तिम सिटको कुनामा बस्ने केटाकेटी कति छिल्लिएका हुन..! अरु मान्छेको ख्याल त गर्नुपर्छ ? अगाडि सिटका आइमाई कति बोल्न सक्या ! कुरा त घरमै गर्नु नि ! छि छि कस्को सेफ्टी ट्याङ्की लिक भएछ ! मुला नै डकारेर मर्‍यारैच नि ! के पारा हो हौ खै ! भित्र छिर्ने ठाउँ त दिनु नि ! बाहिर निस्कने बाटो छाडिदिनुपर्दैन ? आदि आदि ।

सबै मुर्मुरिंदै । धारे हात लगाउँदै । कालो, पिरो अनि रातो हुँदै । पसिना चुहाउँदै । एकले अर्कोलाई आफ्नो गच्छे अनुसार सरापिरहे । विभिन्न बहानामा । कोही मनमनै रिसाए । कोही पुट्पुटाए । कोही बर्बराए । कोही फत्फताए । कोही हिनहिनाए । कोही मुखै फोरेर पड्किए । थर्थराए । जङ्गिए । मच्चिए । गर्जिए । बज्रिए ।

कतिले देख्दै देखेनन् । देख्नेले पढ्दै पढेनन् । पढ्नेले बुझ्दै बुझेनन् । बुझ्नेले पनि बुझै पचाइदिए । कस्को बाउको के लाग्छ र ? माइक्रोको भित्रपट्टि भित्तामा कुनै सँस्थाले प्रायोजन गरेको एउटा स्टिकरमा ठूलाठूला राता अक्षरले लेखिएको एउटा वाक्य हाँसिरहेको थियो-

“जिब्रोको गरिमा, मिठो बोलीमा !”

 

 


तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *