जापान पूर्वी एसियामा अवस्थित एक गतिशील राष्ट्र हो ।
आफ्नो समृद्ध संस्कृति, आकर्षक इतिहास, न्यानो आतिथ्यता र अत्याधुनिक प्रविधिको क्षेत्रमा उदाहरणीय बनेको जापानले गरेका अनेक तरक्की वर्णनातित छन् ।
उत्तर-आधुनिकतावाद अङ्गालेका सहरहरूमा मात्र नभएर उद्योगधन्दा र कल कारखानाहरूमा समेत नवप्रवर्तन अवलम्बन गर्दै सफल कहलिएको एक उदाहरणीय देश हो जापान । तुलनात्मक रूपमा सानो भौगोलिक आकार र आजको विश्वव्यापीकरणको चुनौतीका बाबजुद यो मुलुक आधुनिकता र नवीनतालाई फुजी पहाड र चेरीको फुल जत्तिकै महत्व दिएर अघि बढेको छ । यातायात, इलेकट्रोनिक्स, सूचना प्रविधि हुँदै रोबोटिक्स र आर्टिफिसियल ईन्टिलिजेन्स जस्ता क्षेत्रहरूमा जापानले मारेको एक फड्को बाँकी विश्वका लागि लोभलाग्दो छ । वर्तमान र भविष्य उज्यालो हुँदाहुँदै पनि जापानले आफ्नो विगतसँग गहिरो झुकाव राखेको छ । जापान सांस्कृतिक सम्पदा, प्राकृतिक खनिज, खाद्य व्यञ्जन, कलाकौशल र न्यानो आतिथ्य जस्ता कुराहरूमा सचेत छ । यी र यस्तै विशेषताहरूले गर्दा जापान भ्रमण गरेकाहरूलाई यस देशले अमिट छाप छोडी रहेको छ । यो क्रमले निरन्तरता मात्र पाउँदा समेत आगामी दिनमा जापान भ्रमण गर्नेहरूलाई निराश नतुल्याउने आँकलन गर्न सकिन्छ । आफूले आफ्नै विगतसँग प्रतिस्पर्धा गर्दै विश्वलाई विकासको मौलिक उदाहरण पस्केको जापान जोकोहीको लागि पनि अध्ययन अनुसन्धानको गन्तव्य बनेको छ ।
२०७९ साल फागुनको दोस्रो हप्तामा जापानमा “जापानस् फ्रेन्डसिप टाईज् प्रोग्राम – जेनिसिस २०२२” सम्पन्न भयो । ईनर्जी थेमको सार्क ब्याच – २ अन्तर्गत रहेर मलाई पनि उक्त कार्यक्रममा फेब्रुअरी २२ देखि २८ सम्म सामेल हुने मौका मिलेको थियो । यसै दौरानमा मैले देखे-सिकेका कुराहरू मेरो उमेर समूहका सहकर्मी, विद्यार्थी, आउँदो पुस्ता, विकाश, नवप्रवर्तन र जापानबारे चासो राख्नेहरू तथा अन्य सबै सरोकारवालाहरूका निम्ति उपयुक्त हुन्छ भन्ने अभिप्रायका साथ यो आलेख प्रस्तुत गरेकी छु ।
जापान रहँदा बस्दा मूलभूत रूपमा मैले ऊर्जा, वातावरण र खाद्य संस्कृति बारे बुझ्ने मौका पाएँ; जसलाई क्रमशः यहाँ प्रस्तुत गरेकी छु ।
ऊर्जा:
जापानको ऊर्जाको विकास क्रमको कुरा गर्दा आणविक ऊर्जाको वर्णन विना यो प्रसङ्ग अधुरो रहन्छ । सन् २०११ सम्म पनि जापान विश्वको सबैभन्दा धेरै परमाणु ऊर्जा प्रयोगकर्ताहरू मध्ये एक थियो । बिस्तारै फुकुशिमा प्रकोप पछि आणविक ऊर्जाको प्रयोग घटेको भए पनि ऊर्जा क्षेत्रमा यसको प्रभाव अझै देखिन्छ । जापानले नवीकरणीय ऊर्जा अन्तर्गत रहेर, सौर्य र वायु ऊर्जाको प्रयोग बढाउन महत्त्वकांक्षी लक्ष्यहरू राखेको छ । जसको प्राप्तिका निम्ति टोकियो जस्तो सहरमा समेत राम्रो प्रयासहरू भएको देख्न सकिन्छ । जापानले अहिले स्मार्ट ग्रिड प्रविधिको लगानीमा समेत जोड दिएको छ । फलस्वरूप आपूर्तिमा विश्वसनीयता देखिन थालेको छ । ऊर्जाको सदुपयोगमा जापान कुशल देखिन्छ । उद्योगधन्दा कल कारखानामा मात्र नभएर सामान्य घर परिवारले समेत ऊर्जाको विवेकसम्मत प्रयोग गर्ने गरेको पाइन्छ ।
यहाँको ऊर्जाको स्रोत मिश्रित प्रकृतिको देखिन्छ । जापानसँग आन्तरिक ऊर्जा स्रोतहरूको सीमितताले गर्दा आफ्नो ऊर्जा आवश्यकताहरू पूरा गर्न जीवाश्म इन्धन, आयातित तेल, प्राकृतिक ग्याँस, र कोइलामा पनि निर्भरता छ । ऊर्जा क्षेत्रको नयाँ सम्भावना, हाइड्रोजन अर्थतन्त्रको फैलावटलाई मध्यनजर गर्दै जापान अब यातायात क्षेत्रमा समेत हाइड्रोजन इन्धनको प्रयोग गर्ने नयाँ खोज तथा अनुसन्धानहरू गरिरहेको छ ।
वातावरण:
जापान एक विकसित देश भए तापनि वातावरण र पर्यावरण संरक्षण तथा दिगो विकास जस्ता क्षेत्रमा गरेको प्रतिबद्धता अवलम्बन गर्ने प्रयास गरिरहेको छ । उच्च सहरीकरण र जनघनत्वका बाबजुद पनि भिडभाड र प्रदूषण नियन्त्रित देखियो । भूकम्प र सुनामी जस्ता प्राकृतिक प्रकोपहरूको जति जोखिम छ त्यहाँको प्रकोप रिकभरीको व्यवस्था उति नै प्रभावकारी देख्दा सुरक्षित महसुस हुने रहेछ । फोहोर मैला व्यवस्थापनमा वस्तुको कम प्रयोग, पुन प्रयोग र पुन चक्रको संस्कृतिका साथै परिष्कृत प्रशोधन प्रणालीको अवलम्बन गरिएको छ । अव्यवस्थित यातायात र यस वाट उत्पन्न प्रदूषण विश्वकै लागि चुनौती बनिरहेको वर्तमान समयमा जापानको व्यवस्थित र अत्याधुनिक सार्वजनिक यातायात प्रणालीको कार्यान्वयनबाट यातायात जनित प्रदूषण नियन्त्रण बाहिर गएको छैन ।
दिगो वन जङ्गल व्यवस्थापनमा जोड दिने जापानसँग कुल भूभागको २ तिहाइ वन आज पनि संरक्षित छ । जापानले हावा, पानी र माटोलाई प्राकृतिक अवस्थामै जोगाई राख्न कडा वातावरणीय नियमहरू अवलम्बन गरेको छ । जापानले स्थानीय खाद्यवस्तुको जैविक खेती र उत्पादन जस्ता दिगो कृषि अभ्यासहरूलाई बढवा दिँदै जैविक विविधता संरक्षणको क्षेत्रमा पनि महत्वपूण काम गरेको देखिन्छ । यस सम्बन्धमा लोपोन्मुख वनस्पति र जीवजन्तुका प्रजातिहरूको संरक्षण गर्ने उपायहरूको सफल कार्यान्वयन उल्लेखनीय छ ।
खाद्य संस्कृतिः
खाद्य संस्कृति, पाक संस्कृति र परिकार बिच शाब्दिक भिन्नता भएता पनि यिनीहरूको सार एकै भन्ने बुझ्नु पर्ने हुन्छ । जापान एक अनौठो खाद्य संस्कृति बोकेको मुलुक हो भन्ने कुरा त खाने कुरा खाँदा चप स्टिकको प्रयोगले पनि सङ्केत गर्छ । परम्परागत व्यञ्जनलाई आधुनिकतामा ढालेर पस्कनु यहाँको खाद्य संस्कृतिको अनौठो विशेषता नै हो । खाना प्रस्तुत गर्न अपनाइने सुन्दर कलाले जोकोहीको मन लोभ्याउँछ ।
मूलभूत रूपमा समुद्री खाद्यवस्तु उपभोग गर्ने जापानीहरू, मौसमी खानेकुरामा समेत विशेष जोड दिन्छन् । चर्चित व्यञ्जनमा सुशी, रामेन लगायतको नाम आए पनि मौसम अनुरूप विविधताले भरिएका परिकारको प्रयोग उच्च छ । काँचो, हाफ बोएल खानेकुरा खाइरहेका जापानीलाई देख्दा अनौठो लागे पनि यो स्वथकर नै रहेछ भन्ने कुरा थाहा लाग्यो । खानामा बोसो र क्यालोरी कम तथा प्रोटिन, भिटामिन, खनिज उच्च पाइयो । पुराना खाद्य संस्कृति संरक्षण र आधुनिकताको सदुपयोग गर्दै तीनको प्रस्तुति, मेजमानीले अतिथिलाई हुरुक्कै बनाउँछ । सेफहरूले आधुनिक होटलमा पुराना खाद्य संस्कृतिको निरन्तरतामा जोड दिएको देखियो । यो कार्य अनुकरणीय छ ।
जापानले विकासको दौरानमा मारेको फड्को नेपाल जस्तो विकासोन्मुख राष्ट्रका निम्ति मार्ग निर्देश हुन सक्छ । समृद्ध सहरहरू देखि शान्त ग्रामीण इलाका सम्म, जापानले अन्वेषणको लागि धेरै अनुभव र अवसरहरू प्रदान गरिरहेको छ । यस देशको विकास, कला र व्यञ्जन विश्वभर प्रख्यात रहेको सर्वविदितै छ । जापानको नयाँ आविष्कार, सूचना प्रविधि, उद्योगधन्दा तथा कल कारखानाको विकास विश्व बजारको निम्ति महत्वपूण छ । ऐतिहासिक भूगोल, पर्यटकीय गन्तव्य, व्यापार साझेदार, नवप्रवर्तन जस्ता अनेक क्षेत्रमा जापान एक उदाहरण बनेको छ ।
यद्यपि, समृद्ध देखिएको जापानमा अनेक चुनौतीहरू नभएका होइनन् । न्यून जन्मदर, बुढ्यौली जनसङ्ख्याको उच्च वृद्धिदर, बढ्दो आप्रवासी र त्यसको साँस्कृतिक प्रभाव, जलवायु परिवर्तन, अन्य राष्ट्रहरूसँगको बढ्दो प्रतिस्पर्धा जस्ता चुनौतीहरू यो देशले पनि भोगिरहेको छ । यति हुँदा हुँदै पनि, दृढ सङ्कल्प र रचनात्मकताले विश्व मञ्चमा अब आउने धेरै वर्षसम्म पनि जापानको नाम अग्र स्थानमा आउने मध्येको एक हुने आँकलन गर्न सकिन्छ ।
निरीक्षक, कविता ओझा
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय