१७ असार २०७९ , शुक्रबार

आमा जस्तै धर्ती र धर्ती जस्तै आमा

मेरी उनी र म

 

‘ म हजुरको सत्मा छैन ।’ बुवा आउनेबित्तिकै आमाले रुँदै भन्नुभयो । आफैले गरेका कुराहरू आमालाई किन गल्ती लागिरहेका थिए ? सबै गल्तीहरू बुवालाई भनेर आमाले के पाउन खोज्नुभएको थियो ? मनमा राखिरहँदा बोझ हुने भएर हो या समाजको डर भएर हो ; आमाले सबै कुरा सुनाउनुभएछ ।

श्रीमती आफैले अर्कासँग लागे भन्दा बन्चरोले हाने जत्तिकै चोट बुबाको भावनामा परेको थियो । त्यत्रो बन्चरोले हिर्काउँदा बुवाको शरीरमा एक थोपा रगत बगेको थिएन । मनमा आँसु बगेको थियो । रगत नबगे पनि दुखाइ गहिरो थियो । सागर भन्दा गहिरो ।

डेढ महिनाका लागि काम विशेषले बाहिर जाँदा यता श्रीमतीले विचित्र गरी सकिछे । सहन गाह्रो भयो ।
‘त्यसो किन गरिस् नि ? त्यो भन्दा त मर्नु बेस ।’ बुवाले असह्य भएर आमालाई गाली गर्नुभयो । त्यतिबेला बेला म चार महिनाको मात्रै थिएँ अरे । यी सबै कुरा म ठुलो भएपछि दामोदर काकाले प्रत्यक्ष विवरणबाट सुनाउनुभएको ।

महिला परपुरुषसँग लागेपछि कारबाही हुने व्यवस्था रहेछ त्यति बेलाको मुलुकी ऐनमा । समाज आफैले पनि हेयको दृष्टिले हेर्छ । समाजको अपमान त छँदै थियो । साथै, कानुनले पनि विभेद गरिदिएको थियो ।

‘किन होला ?’ त्यो सुनेपछि मेरो मस्तिष्कमा धेरै विचारहरू आउँथे ।
पुरुषले बहुविवाह गरेर समाजमा ठाडो शिर पारेर हि“डेको देखिन्छ, महिलाका लागि भने अपराध हुँदो रहेछ । पुरुषका लागि त्यति उदार समाज, महिलाका लागि भने किन यति क्रूर ?

यही कारणले दुई वर्षका लागि काठमाडौ“को जेल जानुभयो, आमा । अढाइ वर्षकी दिदी र मलाई एक्लै छाडेर । आमालाई जेल पठाउने प्रावधान कानूनका पानामा त रहेछ तर बुवाले भनेपछि मात्रै लाग्ने । पहिले थाहा थिएन आमालाई जेल बुवाले पठाउनुभएको रहेछ । बुवा बितेपछि मात्रै थाहा पाएँ । बुवा हुँदै थाहा पाएको थिएँ भने बुवासँग पक्कै गुनासो गर्ने थिएँ, प्रश्न गर्ने थिएँ – ‘किन हामीलाई आमा भईभई आमाबिनाका सन्तान बनाउनुभयो बुवा ?’ 

सबैका लागि असल बुवा, भलाद्मी पनि । राम्रो मान्छे, पढेको मान्छे, पढ्न लेख्न पर्छ भनेर गाउँघरमा सबैलाई सिकाउँदै हिँड्ने मान्छे, मेरो बुवा । व्यावहारिक, सङ्घर्षशील अनि इमानदार । आमासँग बुवाको दोस्रो विवाह थियो । तर, आमालाई भने त्यो भुलका लागि क्षमा नगरिदिएर बुवाले हामीमाथि ठुलो अन्याय गर्नुभएको थियो भन्ने लाग्छ । बुवालाई सम्झिएर एउटा कविता कोरेको छु ।

म भक्कानिएर रोएँ

तिम्रो त्यो मायाको गाली याद गरेर रोएँ
तिमीसँग हि“डेका यात्रा सम्झिएर रोएँ
तिमीले गुनगुनाउने मन्त्र उच्चारण गरेर रोएँ
तिमीले देखाएको त्यो मेरो जन्म घरको स्मरण गरेर रोएँ

मैले धोती नफेरी दाल पकाउँदा तिमीलाई लागेको
चोट र मर्म केलाएर रोएँ
आइएमा एघार पटक फेल भए पनि फेरि जाँच दिने
तिम्रो रहरलाई कदर गर्दै रोएँ
पहिलो पटक काठमाडौँ“ जाँदा,
मस्याङको उकालो चढेपछि वास बस्दा,
तिमीले धोती फेरी पकाएको मीठो भोजनलाई सम्झेर रोएँ

भाइ बद्रीले बि“डी खाँदा सहन सकेनौ
तान्दै गरेको हुक्काको नलीले पिट्न लाग्यौ
फेरि त्यही नलीलाई भाँचेर फ्याँक्यौ
अनि तिमीले अबदेखि चुरोट तमाखु खान्न भनेर
छोडेको प्रणलाई सम्झेर रोएँ

मैले आठ पास गर्दा पनि हिसाब पढ्न नपाएको
नौ कक्षामा फेल हुन्छ कि भनी पुनः आठै पढ् भन्थ्यौ
मन नपरे पनि मप्रतिको उत्तरदायित्व कति थियो भन्ने सम्झेर रोएँ
तिमीले देखाएको जय नेपाल चित्रघर सिनेमा हलमा पहिलो पटक सिनेमा हेर्दा
पर्दामा मान्छे कसरी आउँदा रहेछन् भन्ने जिज्ञासा र उमङ्ग सम्झेर रोएँ

तिमी जस्तो व्यक्तित्वले मेरी आमाको भुललाई कसरी माफ गर्न सकेनछौ ? स्मरण गरेर रोएँ
कहिले तिमीलाई सम्झेर रोएँ , कहिले तिमीलाई बिर्सिएर रोएँ ।
तिम्रो मप्रतिको माया र प्रेमलाई सम्झेर म भक्कानिएर रोएँ ।।

आमा जेल जानुभएपछि म र दिदीलाई दरुङ्गा लगियो । उतिबेला नेपालबाट नेपाल जान पनि भारतको बाटो भएर जानुपर्ने अवस्था थियो । अरुको घरमा गएर आफ्नो घरमा पसेजस्तै । हामी बुटवलदेखि दरुङ्गा हि“डेर जानुपर्ने ।

जेलमा दुई वर्ष सजाय काटेर आमा त निस्कनुभयो तर आमाप्रति समाजले हेर्ने दृष्टिकोण पुरै परिवर्तन भइसकेको थियो । कहिले बोलेर र कहिले नबोलेर समाजले दिएको सजायले आमाको मुटु चिराचिरा पारयो होला । परिवार परिवार रहेन, छोराछोरी गाउँमा थिए, आरोप लागेको व्यक्ति कता हराए थाहा छैन । गाउँ समाजको अवहेलना र तिरस्कार सायद सहन सक्दिन भन्ने लागेर त होला आमाले हामीलाई मात्रै होइन, देशै चटक्क छाडेर भारत जानुभयो । जाँदा जाँदै बम्बई पुग्नुभएछ । त्यो पनि धेरै पछि थाहा भयो ।

आमाले दुई वर्ष जेल सजाय भोग्नुभयो तर हामी दिदीभाइले जीवनभर सजाय भोग्यौ“ गल्ती गर्ने बालख हुदैनन् तर बालखले आमाबाबुले गरेका गल्ती भोग्नु पर्दाेरहेछ । हामी बालबालिकालाई समाजले नगरेको कसुरको सजाय दिएको थियो । सायद आमाले पनि जीवनभरि भोग्नुभयो होला । तर हामीले भन्दा फरक ।

न आमाले भोगेको हामीले देख्यौ न हामीले भोगेको आमाले । दुवैले भोग्यौ पीडा, आँसु र अनिच्छाका रात र दिनहरू ।

अबदेखि हाम्रो संसार छुट्टाछुट्टै भयो । न हामी आमाका भयौ न आमा हाम्री हुनुभयो । केही क्षणका लागि नभएर सधैसधैका लागि यस्तै भयो । आमा आमा बाँचुन्जेल र हामी, हामी बाँचुन्जेल । हामी कोही कसैका भएनौ । आफ्नै आमा आफैसँग नभएको बच्चाहरू हुर्किएको सुन्दा कुनै चलचित्रको कहानी जस्तो लाग्ने घटना मेरै जीवनको तीतो यथार्थ थियो ।

आमा बम्बई कसरी पुग्नुभयो थाहा छैन । अलिक बुझ्ने भएपछि लाग्थ्यो आमासँग भेटेँभने पक्का सोध्नेछु, ‘ किन यस्तो भयो आमा ?’

निकै ठुलो भएपछि दुई पटक भेट भयो । न सोध्न मन लाग्यो न सोधेँ। मौन रहेरै यसको उत्तर पाउने लालसा बोकी हिँडेको थिएँ । फेरि किताब लेख्छु भन्ने पनि त थिएन नि । आफ्नो मनलाई त मैले बुझाएकै थिएँ । आमाले मराठी व्यक्तिसँग विवाह गर्नुभएछ । बच्चा नभएको खबर थियो । आमाको जीवन उतै बित्यो, हामीबिनै सन्तानबिनै ।

संसारले सबैभन्दा धेरै महिमा कसैको गाएको छ भने त्यो आमाकै गाएको छ । भन्छन् चोखो माया भन्ने शब्द पनि आमाको मायाको प्रतिविम्ब हो रे । ममताकी खानी भनेर आमालाई सधैँ प्रेमको अग्लो उचाइ दिने गरिन्छ । पुजिन्छ आमालाई । आमालाई धर्ती भनेर सिङ्गो भूगोलको संज्ञा पनि दिइएको छ । धर्तीले त जीवनभर चराचर जगत्लाई पिठ्युँमा बोकेकी हुन्छिन् । तर, सबै आमाले कहाँ त्यसरी धर्ती हुने सामर्थ्य राख्दा रहेछन् र !

यदि आमा नै धर्ती हुन् भने के म धर्तीबिनै उभिएको छु त ? उसो भए म कहाँ उभिएको छु होला ? मैले मलाई गर्ने प्रश्नहरूले मलाई नै खाउँला झैँ हेर्दछन् । अनि सम्झन्छु , धर्तीबिना कोही बाँच्न सक्ला र ! फेरि प्रश्न गर्दछु ,त्यसो भए आमा नहुनेहरू के टेकेर उभिएका होलान् ?

मेरो प्रश्नहरूले मलाई नभनीकनै उत्तर दिएपछि आमा र धर्ती एकै हुन् भन्ने विश्वास लाग्न छाड्यो । लाग्यो आमा धर्ती नै होइनन् । यसै भनिएको मात्रै हो । मेरो जीवनको सबैभन्दा अधुरो पाटो मेरी आमा हुनुभयो ।

वेदनाबाट आएको उमङ्ग ठान्छु म आफूलाई । मलाई त्यति धेरै स्नेह दिएर मेरी हजुरआमाले अँध्यारोमा ज्योति छरे झैँ जीवनमा उज्यालो छरिदिनुभयो । मैले कहिल्यै अँध्यारो महसुस गर्न नपर्ने गरी ।

अरूले देख्दा आमाविहीन भए पनि मैले आमाको स्नेह, मातृत्व, ममता, प्यार र जिन्दगी सबै सबै हजुरआमाबाट पूरा गर्न पाएको थिएँ । यस मानेमा मलाई म धर्तीमै उभिएको छु र हजुरआमा पो धर्ती हुनुहुँदो रहेछ भन्ने लाग्न थाल्यो । आमा जस्तै धर्ती अनि धर्ती जस्तै आमा । मेरी उनी – हजुरआमा ।

 

पुस्तक लोकार्पण कार्यक्रमको एक अंश, लेखकलाई उनीहरूको शुभकामना 

https://www.facebook.com/lekhankunja/videos/3217492875239961

Leave a Reply

Your email address will not be published.