०९ माघ २०८१ , बुधबार

कविता– रहर


 

बा, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरुको
खिया लागेका कलका पुर्जाहरुजस्तै
गणितका सूत्रहरु पनि साह्रै पुराना भइसके
रहर छैन मलाई बाँचिदिने
केवल इतिहासका पानाहरुमा ।

मैले त बाँच्नु पर्छ आउने दिनहरुमा
इतिहासको गतिलाई उछिनेर
इतिहासभन्दा बढी अरु केही भएर
त्यसैले बा, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरुको ।

फ्रेम हालेर राख्ने आदर्शभन्दा
भोग्न सकिने आदर्श मलाई राम्रो लाग्छ
बनिसकेको बाटामा हिंड्नभन्दा
बाटो बनाउँदै हिड्न रहर लाग्छ ।

इतिहासका ठेली होइन
एउटा कोदालो चाहिन्छ मेरा पाखुरालाई
योजनाले होइन
पैतालाले नाप्नु छ मैले प्रत्येक अग्ला टाकुरालाई
र गर्नुछ भुक्तान जम्मै
धरतीले बोकाएका ऋणहरुको
बा, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहाँ मेरेका दिनहरुको ।

 

 

यो जिन्दगी खै के जिन्दगी
(कवितासङ्ग्रह)
हरिभक्त कटुवाल

 


4 thoughts on “कविता– रहर

Leave a Reply

Your email address will not be published. Required fields are marked *