छुटेका कुरा–
अब क–कस्लाई हटाएपछि हाम्रो टिम पेर्फेक्ट बन्छ हजुर ? रामहरीले हाकिमलाई बिन्ती विसाए ।
कुकूरको जस्तो बानी बेहोरा भएको कपिललाई औपचारीक रुपमै हटायौँ । अब मेरोे नजरमा छेपारो जस्ती बेहोरा भएकी झकम्बरी छे । जोसँग पनि मसक्क मस्किने, पर्फेक्सनमा फिटिक्क ध्यान नदिने यसलाई पनि निकालेपछि हाम्रोे टिम झनै पर्फेक्ट बन्छ ।
चम्कन्छ ! रामहरीजी …….
आफ्नो महत्वकांक्षी कम्पनी ‘पर्फेक्सन मल्टिपर्पोज’ टिममा आवद्ध सदस्यहरुलाई पर्फेक्ट बनाउन लागेका पूर्णवहादुरसँग एउटा अनौठो सपना छ । यो सपना उनका बाले बच्चैदेखि उनको मस्तिष्कमा नजानेरै ठोसिदिएका थिए । आफ्नै बाले आफ्नै छोरालाई चाहिने नचााहिने सपना किन बोकाइदिन्छन् ?
सबै कुरा पर्फेक्ट चाहिने अटेलोफोवियाबाट उसका बा ग्रसित थिए भन्ने कुरा बाले कसैलाई भन्न सकेका थिएनन् । जे पनि पर्फेक्ट चाहिन्थ्यो उनलाई ।
हामी सबैलाई बा–आमाले जानेर वा नजानेरै पनि यस्ता केही न केही सपना बच्चाबेलादेखि नै मस्तिष्कमा थुपारिदिन्छन् । परिणामत कोेही स्वभाविक देखिन्छ त कोही अस्वभाविक । बा–आमा नभएकाहरुलाई पनि चिन्तै छैन, सित्तैमा दिन सकिने कुरा समाजले सजिलै थुपारिदिन्छ, चाहिदो नचाहिंँदो !
आफू माथि जानेबेला पूर्णवहादुरुकी आमाले पनि एकपटक फेरि उसका बाबुले उनको लागि देखेको अधुरो, मधुरो सपनामा रङ भरिदिएकी थिइन । बलिन्धारा आँसु बगाउँदै यो सपना पुरा गर्ने अठोट लिएका थिए उनले ।
उनी पर्फेक्ट टिम बनाउँन दिनरात खटिएका छन् । टिममा कोही कमजोर देखियो भने उ हट्यो भनेर जाने हुन्छ ।
सात जनाको टिममा अहिले दुईजना घटेपछि पाँच जना बाकी रहेका छन् । त्यै टिममा आवद्ध उनको एउटा विशेष सहयोगी रामहरीको मुख्य काम टिमका सदस्यहरूकोे कमजोरी पत्ता लगाउनु नै हो । थाहा नपाउने गरी उनले टिमका सबै सदस्य माथि गहिरो निग्रानी गरिरहेका छन् ।
आज सोमबार सधैँ झैँ टिमको विशेष मिटिङ् चलिरहेको छ । उनले टिममा सदस्यहरुको कुरा सुन्नेभन्दा पनि आफ्नै उदेश्य लाद्ने आफ्नै मौलिक शैली अपनाएको देखिन्छ ।
टिम यताउती नहोस् भन्ने डरले उनले चलनचल्तीकोभन्दा विशेष सेवा सुविधा पनि उपलब्ध गराएका छन् । बैश्य युग न हो उनको यो विधी निकै उपयुक्त ठहरिएको छ ।
सदा झैँ हप्ताको पहिलो दिन आज पनि एउटा विशेष तालिमको ब्यवस्था गरिएको छ ।
तालिमको सिलसिलामा पूर्णवहादुरले दुईवटा गिलास मगाएर एउटामा बालुवा र सिमेन्ट घोले भने अर्कोमा माटो र गोबर घोले । माटो र गोबर घोलेपछिको गन्ध हावामा छरिएर सहिनसक्नु भयो । सबैको मुख विग्रीयो । यो उदाहरणलाई लिएर वर्णन गर्दै गर्दाे घ्यार घ्यार गर्दै उनको फोन बज्यो । उनले देखे– फेरि पनि यो त श्रीमतीकै फोन हो । यो दोस्रो पटक थियो । उसका कान राता र ताता भए । अनुहार विग्रीयो । हल्का रिसाउँदै फोन काटेर उनी तालिममा केन्द्रित भए ।
उनले भने ,“तपाईहरु यो बालुवा र सिमेन्ट जस्तो हुने कि ? माटो र गोबर जस्तो ? तपाईहरु बालुवा र सिमेन्ट जस्तो मजबुत हुनुपर्छ भन्ने मेरो इच्छा हो ! तर यो फोहोरी गोबर माटोलाइ हेर्नुस त ! छ्या डिस्कष्टिङ् ! इम्पर्फेक्ट ! पुराना नेपालका घरहरु जस्तो । मलाई यस्तो मन पर्दैन । कस्लाई मन पर्छ होइन !”
यत्तिकैमा फेरि श्रीमतीको फोन आयो । उनले झन् रिसाएर फोन काटे । रिसको झोकमा होस् गुमाएपछि उनको आवाज बाहिरसम्म सुनियो ।
“पर्फेक्ट छ भनेर कस्तो केटी भिडाईदिए काकाले ?”
रीसले आगो भएका उनले वीचैमा मिटिङ स्थगित भएको घोषणा गरे । उनले जाँदाजाँदै छोरी मान्छेहरु पर्फेक्ट मान्छे नभएको र अरुको भरमा बाँच्ने गरेको आरोप लगाए ।
रामहरी जुरुक्क उठेर, पूर्णवहादुरको अगाडि पुगेर अर्को बिन्ती विसाउँछन् ।
“सर..सर. सर… अब हाम्रो अघिल्लो कदम के होला, कसैलाई हटाउने पो कि ?”
“हटाउने ……! तपाईलाई हटाउने ! ”
तपाईले आजसम्म आफ्नै स्वविवेकले डिसिजन लिइएको देखेको छैन !
नाजवाफ भएका रामहरीलाई उनले अझै थप्छन् –
तपाईँलाई मेनेजर बनाएको के कामका लागि हो ? सबै मैले नै गर्ने भएपछि । हँ…
रामहरीले कुरा मिलाउन केही बोल्न खोज्दाखोज्दै पूर्णवहादुर नसुनी हिँडिहाले ।
‘आज घर गएर म त्यस्को सातो लिन्छु !’ पुर्णवहादुरले मनमनै अठोट लिए । घरभित्र छिर्दैगर्दा सबै रिसका शक्तिहरुलाई एक बनाएर उनी श्रीमती माथि खनिने तयारीमा थिए । जसरी खेलाडिहरु खेल अगाडि तयार हुन्छन् त्यसैगरी उनी मानशिक रुपमा तयार भएका थिए ।
सदा बसिरहने ठाउँमा श्रीमती छैनन् । दायाँ, बाँया, तल, माथि, टिकटक बनाउने ठाउँ, वासरुम अहँ.. कहि पनि छैनन् ..,उनी ।
श्रीमतीलाई कतै पनि नभेटेपछि उनले घरेलु सहयोगी हर्क दाइलाई बोलाउँछन् ।
“हर्क दाइ……, ए हर्क दाइ..!!”
अहँ, हर्क दाइ पनि बोलेनन् ।
त्यसपछि हर्क दाइको कोठामा गएर उनले बेस्मारी ढोका ढक्ढक्याए । तर त्यहाँ त ताल्चा लागेको थियो ।
उनी सधै श्रीमती बस्ने ठाउँमा फेरि पुग्छन् । त्यहाँ श्रीमती नभए पनि एउटा चिठी भेटियो । जसमा लेखिएको थियो –
“प्रिय बुढा म मात्रै हैन हर्क दाइलाई पनि नखोज्नु । ……जति प्रयास गर्दा पनि तपाईँ मेरो लागि पर्फेक्ट बन्न सक्नुभएन । मैले बनाउन सकिनँ । त्यसैले म नफर्किने गरी टाढा…धेरै टाढा…. जाँदैछु ।”
गुडबाई ।
–बरी
Wow