०८ जेठ २०८२ , बुधबार

मेडिकल साइन्सको भविष्य

स्वास्थ्यको रहस्य

छुटेका कुरा –

आजको विज्ञान र प्रविधिको प्रयोगले मेडिकल साइन्स निकै माथि पुगेको छ । असम्भव मानिएका परिकल्पनाहरू सम्भव भएका छन् । अबको केही वर्षमा निकै ठूला चमत्कारहरू हामीले देख्न पाउनेछौं ।

आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढ्दै जाँदा डाक्टरको रोजगारीमा समस्या आउँछ कि भन्ने डर पनि कायम छ । यद्यपि, मान्छेले बनाएका कुरालाई नियन्त्रण, नियमन गर्नका लागि मान्छे त चाहिन्छ नै होला !

औषधीमा पनि अनेकौं प्रयोगहरू भएका छन् । थोरै औषधीले ठूलो काम गरेका छन् । मान्छेको आयु बढिरहेको छ, अझै बढाउने प्रयासहरू भइरहेका छन् ।
गुगलले भूगोल खुम्च्याएको अवस्थामा हामी समयानुकूल हुन आवश्यक छ । समयानुकूल हुनका लागि अध्ययनशील, क्रियाशील हुनुपर्छ ।
भूगोल टाढा भए पनि संसारभरिका डाक्टरहरूबीच भेटघाट भएको जसरी नै कुराकानी गर्न सम्भव छ । विदेशमा भएको डाक्टरले अर्को देशमा उपचार गर्न, सल्लाह दिन सम्भव भएको छ ।

डाक्टर मान्छे भएकाले मानवीय गल्ती भइहाल्छ । यसै कुरामा रिसर्च गरेर वैज्ञानिकहरूले डाक्टरको भन्दा राम्रो काम गर्न सक्ने, अपरेसन गर्न सक्ने रोवर्ट बनाउन सफल भएका छन्, जसले शतप्रतिशत काम गरिरहेका छन् ।

मेडिकल साइन्सकाे क्षेत्रमा ठूला तथा महत्वाकांक्षी रिसर्चहरू भइरहेका छन् । जो सम्भव हुँदा संसारका अधिकांश रोगलाई मान्छेसँग जुध्न गाह्रो पर्ने पक्का छ ।

मान्छे स्वभावैले नै जिज्ञासु छ । ऊ खोज अनुसन्धान गरिरहन्छ । त्यसै गरी रोग पनि परिवर्तनशील छ । मान्छेले एउटा किसिमको समस्या समाधान गरे भन्ठान्दै गर्दा रोगले आफ्नै स्वभावहरू परिवर्तन गरिरहेका छन् । त्यसैले यो चुनौती मानव रहेसम्म रहनेछ ।

स्वास्थ्यको रहस्य के होला त ? सुगर, प्रेसर, मुटु रोग, क्यान्सर निमिट्यान्न पार्ने सूत्र के होला त ? मान्छेलाई सधैं बचाउन सक्ने औषधी कहिलेसम्म बन्छ होला ? कहिल्यै बिरामी नहुने औषधी विश्वको कुनै कुनामा पाइन्छ ?

स्वास्थ्य र डाक्टरको कुरा आउँदा केही सामान्य त केही असामान्य जिज्ञासाहरू मनमा आउन सक्छन् । यस्ता प्रश्नहरू मनमा खेल्न सक्छन् । मेडिकल साइन्सले आजसम्म आइपुग्दा निकै ठूलोे फड्को मारिसकेकाले पनि यस्ता सम्भावनाको अपेक्षा हुनु अस्वाभाविक पनि हैन । यद्यपि हामीले बाँच्ने भनेको वर्तमानमा नै हो । वर्तमानमा बाँच्नलाई वर्तमान समय सान्दर्भिक काम गर्नुपर्छ । प्राकृतिक रूपमा स्वस्थ बन्न आफू सिन्को पनि नभाँच्ने अनि कहिल्यै नमरिने, कहिल्यै रोग नलाग्ने औषधीको परिकल्पना गर्नु मात्र चाहिँ मूर्खता हो ।

अधिकांश सर्ने नसर्ने रोगहरू हामीले नै निम्त्याएका हुन्छौं, हामीले नै जानी नजानी त्यसलाई हाम्रो शरीरमा बास बस्न सहज परिस्थिति निर्माण गरिदिन्छौं । यसलाई निम्त्याउने कि लखेट्ने यो हाम्रै हातमा छ । हाम्रो दैनिकीमा निर्भर छ ।
स्वास्थ्य र समयजस्ता बहुमूल्य सम्पत्ति हामीले गुमाइसकेपछि मात्र थाहा पाउँछौं । “बेला हुँदा ध्यान गएन । गल्ती गरें ।” मैले हेरेका बिरामीहरू अधिकांशको कथा यस्तै छ ।

मैले जहिले पनि भन्ने गरेको छु- हामीले स्वस्थ जीवनशैली अपनाउन मात्र सक्यौं भने डाक्टर र अस्पताल धाउने जरुरत पर्दैन । डाक्टरले लेख्ने, औषधी लेख्नेतर्फ मात्र ध्यान दिन्छ भन्ने आरोप लाग्ने गरेको पनि सुन्छु । मान्छे बिरामी परुन् र म औषधी लेखेरै पैसा कमाऊँ गलत सोच ममा कहिल्यै पनि आएको छैन, नआओस् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *