१७ मङि्सर २०८१ , सोमबार

महिला डाक्टरको रूपमा समाजलाई नियाल्दा

पुस्तक अंश - अक्षरको राजमार्गमा डाक्टर

छुटेका कुरा –

घरमा महिला स्वास्थ्य छिन् भने परिवार नै स्वस्थ हुन्छ । महिला नै स्वस्थ नभएको घरपरिवार स्वस्थ हुन गाह्रो पर्छ । महिला स्वास्थ्यसँग उनको व्यक्तिगत जीवन मात्र नभई परिवार र समाजको स्वास्थ्य पनि जोडिएको हुन्छ ।

महिलाले गर्भावस्था र सुत्केरी अवस्थामा मात्र हैन जीवनभरि स्वास्थ्य सेवा पाउनुपर्छ ।

महिला स्वास्थ्यलाई उनको शारीरिक अवस्थाले मात्र हैन उनी बाँची हेरेको सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवेशले पनि प्रभाव पार्दछ ।
आजभन्दा पाँच वर्ष अगाडि म नुवाकोट गएको थिएँ, हेल्थ क्याम्प लिएर । त्यहाँको महिलाहरूमा पाठेघर खस्ने समस्या डरलाग्दो रहेछ । यसलाई अंग्रेजीमा युटेरल कोल्याप्स भनिन्छ । यो गम्भीर समस्याको समाधानका लागि सरसफाइमा ध्यान दिए मात्रै पनि धेरै समस्या समाधान हुने देखें । यो तत्काल गर्नुपर्ने काम हो । थोरै ज्ञान नहुँदा पनि धेरै दुःख पाइरहेका छन् यी महिलाहरूले ।

हामीले छ महिना वा एक वर्षमा हेल्थ क्याम्प लिएर विभिन्न ठाउँहरू जाने गरेका छौं । समस्या एक दिन मात्रै आउने हैन । एकपटक गएर केही सामग्री दिनु, सिकाउनु दीर्घकालीन समाधान हैन ।

अवलोकन भ्रमणको मेरो निष्कर्ष –
महिलाको कमजोर स्वास्थ्यको जरो उनीहरूको जीवनस्तर र शिक्षा हो । शिक्षाभित्र पनि स्वास्थ्य शिक्षा प्रमुख आवश्यकता हो । महिलालाई सानैदेखि स्वास्थ्य शिक्षामा जोड दिनुपर्छ । स्वास्थ्य शिक्षा पाएकाहरूलाई त्यसको व्यावहारिकताको लागि सुरक्षित आयस्रोत चाहिन्छ ।
महिला आफैंं आय आर्जन गर्न सके र आफ्नो स्वास्थ्यको आफैंं निणर्य लिन सके उनलाई मात्रै हैन परिवार, समुदाय सबैलाई फाइदा हुन्छ । त्यसैले महिला स्वास्थ्य समुदायको सरोकारको विषय हो ।
महिलाको शरीर पुरुषको भन्दा केही फरक हुन्छ । यसले उनीहरु विभिन्न स्वास्थ्य समस्याको जोखिममा हुन्छन् । सामाजिक परम्परालगायतका असमानताहरूले गर्दा ती जोखिमहरु अझ बढाएको छ ।

महिलाको स्वास्थ्य कमजोर हुनुको मुख्य कारणहरू-

(क) गरिबी
धनी देशमा समेत महिला गरिबीको रेखामुनि छन् । हाम्रो मुलुकमा त जन्मनुपूर्व नै यो समस्याको कुचक्रमा फस्छन् । छोरीलाई पडाइँदैन, पढाए पनि कम पढाइन्छ । काम धेरै गरे पनि ज्यालामा विभेद छ । गर्भावस्थामा आवश्यक आहार पाउँदैनन् । छोराछोरीमा भएको भिन्नताले महिलालाई गरिबभित्रको पनि गरिब बनाउँछ ।
(ख) सामाजिक विभेद
केही शिक्षित परिवारलाई छोडेर हेर्ने हो भने समाजमा महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा लिइन्छ । महिलालाई कस्तो व्यवहार गरिन्छ ? उनीहरूले कसरी सोच्छन् ? निणर्य गर्न क्षमता र समाजमा उनीहरूलाई कस्तो कस्तो भूमिका दिइन्छ ? यसरी नियाल्दा महिलाको समाजमा कस्तो अवस्था छ भनेर थाहा पाउन सकिन्छ ।

विकसित मुलुकमा समानताको कुरा धेरै अगाडिबाट उठेको भए पनि हाम्रो मुलुकमा महिलाको अवस्था अझै नाजुक छ । यो समस्या समाधानका लागि हामी सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न आवश्यक छ ।
धेरैजसो महिला किन गरिब छन् ? उनीहरूको कमजोर स्वास्थ्यको मुख्य कारण के हो ? भनेर राम्रोसँग केलाउँदा त्यसका लागि सामाजिक रीतिथिति र परम्परा नै जिम्मेवार छन् । हामीले गरिबीको साटो उन्नति प्रगति र कमजोर स्वास्थ्यको साटो स्वास्थ्यलाई सहयोग गर्ने हुर्काउने सामाजिक परम्पराको सुरुआत गर्नुपर्छ ।

त्यसका लागि घरैबाट स्वस्थ बानी र व्यवहारको विकास गर्नुपर्छ । बालबालिकालाई समयानुकूल असल शिक्षा दिनुपर्छ । त्यसका लागि पुरुषहरूले पनि महत्वपूणर् भूमिका निर्वाह गर्न सक्छन् । परिवर्तनका लागि सरकारबाट लिइने निणर्यहरू र कार्यक्रमहरू सबैभन्दा महत्वपूणर् रहन्छन् । सोही अनुसार नीति तथा कार्यक्रमहरू तर्जुमा गर्नुपर्छ ।

स्वास्थ्य सुत्र (basic tips)

एक महिला डाक्टर भएको नाताले मैले सैद्धान्तिक कोणबाट समाजलाई नियाल्ने मात्रै नभएर व्यावहारिक रूपमा महिलाहरूको स्वास्थ्य समस्या समाधानका लागि व्यावहारिक पक्ष पनि केलाउनुपर्छ । दैनिक रूपमा ध्यान दिनुपर्ने आधारभूत कुराहरू बुझाउनुपर्छ । सजिलै जान्न सकिने सीप सिकाउनुपर्छ भन्ने लागेको छ ।

आफ्नो दायित्वका रूपमा यहाँ महिलाहरूले जान्नैपर्ने केही महत्वपूणर् स्वस्थ रहने सुझावहरू (basic tips) समावेश गरेकी छु ।

१. सरसफाइ (sanitation)
हामीले सरसफाइमा धेरै ध्यान दिनुपर्छ । महिनावारी भएको समयमा र बच्चा जन्मिसकेपछिको अवस्थामा त झन् विशेष ध्यान दिनुपर्छ । यो अवस्थामा रोगसँग लड्ने शक्ति कम भएको हुन्छ । र, अर्को मुख्य कुरा महिलाले दिसापिसाब गर्दा एउटा महत्वपूणर् बानीको विकास गर्नुपर्छ । “पिसाब गर्ने ठाउँबाट सुरु गरेर दिसा गर्ने ठाउँसम्म सफा गर्नुपर्छ ।” सजिलो भाषामा भन्दा अगाडिबाट पछाडिसम्म राम्रोसँग धुनुपर्छ । तर कतिले चाहिँ दिसा गरिसकेपछि पहिला दिसा धोएर त्यसपछि मात्र पिसाब फेर्ने ठाउँ (योनी) धुने गर्नुहुन्छ । त्यो गर्दा योनीमा संक्रमण हुन सक्छ । र, सफा गरिसकेपछि ती ठाउँलाई सुख्खा बनाउनुपर्छ । ओसिलो ठाउँमा कीटाणुहरू चाँडै फैलिन्छन् । महिलाले महिनावारी हुँदा लगाएको कपडा दिनदिनै फेर्नुपर्छ ।
हाम्रो समाजमा भित्री वस्त्रहरू अर्को लुगाले छोपेर सुकाउने चलन छ । यो गलत हो । भित्री वस्त्रहरूलाई राम्रोसँग सुकाउनुपर्छ । यस्ता साना कुराहरूमा ध्यान दिएर ठूलो रोगहरूबाट बच्न सकिन्छ ।

२. नियमित व्यायाम (regular exercise)
आजभोलि हाम्रो जीवनशैली धेरै नै आधुनिक भइसक्यो कि आफू र आफ्नो स्वास्थ्यको ध्यान दिन हामी सकिरहेका छैनौं । सायद व्यस्तताले पनि होला । हामी पैसा कमाउने चक्करमा अमूल्य स्वास्थ्य बिर्सिरहेका छौं । नियमित व्यायामको रूपमा हामी नियमित आधा घण्टा जति पसिना आउने गरेर काम, योगा, डान्स आदि गर्न सक्छौं ।

३. आहार (diet)
सन्तुलित आहार स्वास्थ्यका लागि अपरिहार्य कुरा हो । शरीरलाई आवश्यक भिटामिन भएका खानेकुरा खानुपर्छ । रेसादार खानेकुरा, हरियो सागपात, फलफूल पनि मिलाएर खानुपर्छ ।

४. स्वास्थ्य परीक्षण (health checkup)
महिलाको शरीर धेरै संवेदनशील छ । त्यसैले हामीले समय मिलाएर विभिन्न चेकजाँच गराइरहनुपर्छ ।
पाठेघरको मुखको क्यान्सरको परीक्षणका लागि प्याप जाँच
(pap smear) , ब्रेस्ट क्यान्सरको परीक्षणका लागि म्यामोग्राम
(mammogram) जस्ता जाँचहरू उमेरअनुसार गराउनुपर्छ ।
महिलामा अहिले बढी मात्रामा स्तनमा हुने क्यान्सर
(breast cancer) र पाठेघरको क्यान्सर (cervical cancer) देखिएको छ ।
समस्यालाई समयमै पहिचान गर्न सकियो भने निराकरण गर्न सकिन्छ । आफैंंंले पनि म स्वस्थ छु कि छैन भनेर परीक्षण गर्न सकिन्छ । सेल्फ ब्रेस्ट क्यान्सर इग्ज्यामिनेसनबाट स्तन क्यान्सरको अवस्थाबारे जानकारी लिन सकिन्छ । जसमा महिलाले आफ्नो स्तनहरूलाई महिनाको एकपटक चेकजाँच गर्नुपर्छ । जसका लागि ऐनाको अगाडि बसेर हेर्नुपर्छ । स्तनको मुन्टा एउटै आकारको छ कि छैन ? मुन्टा भित्र पसेको छ कि छैन ? छालामा फरक छ कि छैन ? अनि स्तन छाम्दा कुनै किसिमका गाँठागँगुठी छन् कि छैनन् ? भन्ने कुराहरू हेर्नुपर्छ । आफैंंंले जाँच्दा कुनै समस्या देखिएमा स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *