छुटेका कुरा–
भनिन्छ–जीवन सपना हो । मान्छे जन्मनुका पछाडि पनि सपनाको कारण हुन्छ । यो मलाई थाहा थिएन । तर आफ्नै जीवनसँग सपनाको तादम्यता मिलेको देखेर मै छक्क पर्दछु ।
हो – मेरो जीवनको सुरुवात सपनासँग जोडिएको छ । कति मान्छे सपना नै देख्दैनन् भन्ने पनि सुन्छु । होला पनि । तर म त सपना नदेखेको भए नजन्मिने पो रहेछु ।
धेरैलाई अचम्म लाग्ला वास्तवमै म सपना देखेर जन्मिएको रे । यदि सपना नै नदेखेको भए ‘के म यो धर्तीमा नै हुने थिइनँ ?’ कहिले काहीँ प्रश्न गर्छु ।
सपनासँग विपनाको तालमेल र विपनासँग सपनाको तालमेल यसरी सुरु हुन्छ ।
मेरो जेठो दाई विश्वरमण म भन्दा २८ बर्षले जेठो हुनुहुन्थ्यो । पढ्नु पर्दछ भन्ने लागेर नै होला मेरो बुवाले जेठो दाई विश्वरमणलाई काठमाडांै पढ्न पठाउनु भयो । राजेश्वर दाइ सहपाठी हुनुभयो । चर्चित राजनीतिज्ञ एवं साहित्यकार राजेश्वर देवकोटा मेरी ठूलीकान्छी आमाको भदा हुनुहुन्थ्यो ।
जेठो दाइले २२ वर्षको उमेरमा नेपालीमा एमए र आचार्य गर्नुभयो । उहाँ भगवान्को प्यारो भएर बुबा भएकै ठाउँमा गएको पनि आज ६८ बर्ष भईसक्यो ।
दाइको मृत्युको पीडाले बुबालाई ठुलो घात भयो । अरु चार छोरा भए पनि बुबालाई पुत्र वियोगको पिडाले छोडेन । संसारको रित रहेछ छाडेर जानेले छाडेर जान्छ पृथ्वीमा बस्नेले उसलाई सम्झन्छ ।
छाडेर जानेले के पाउँछ थाहा छैन तर पृथ्वीमा बस्नेले उसको यादमा हरबखत पीडाबोध गरिरहन्छ । त्यस्तो पढेलेखेको छोरा अल्पायुमै बितेपछि बुबालाई र आमालाई पर्नु पिर प¥यो । जे बिर्सन्छु भन्छ मान्छेलाई त्यही बढी याद आउँछ भने झैं बुबाआमाले दाइलाई बिर्सन खोज्दा झन् सम्झन थाल्नु भएछ । उहाँहरुलाई दाइ बित्दा कति गाह्रो भयो होला ? अहिले यसो सम्झदा मलाई असह्य हुन्छ ।
चार छोरा जिवित हुँदाहुदै उहाँहरुलाई अर्काे छोरो किन चाहियो र ! तर के गर्नु मेरो जन्म लेखेको रहेछ । म यो धर्तिमा आउनु पर्ने भएपछि ।
एक दिन आमालाई स्वप्न भएछ । अर्को सन्तान नजन्माउने सोचमा हुनु भएको आमालाई त्यो सपनाको कारण एउटा छोरा जन्माउनुप¥यो भन्ने लागेछ, र म जन्मिएँ ।
सपनाले पनि मान्छेलाई कहाँ कहाँ पु¥याउँछ । सपनाको बारेमा ब्याख्या गर्ने व्याख्याता वैज्ञानिकहरु नै स्वयंम् सपना देखेर सपनाको विश्लेषण गर्ने भए जस्तै मेरो सुधो सोझो आमालाई पनि आफ्नो प्रिय जेठो छोरा विश्वरमण जन्मदैछ भन्ने सपना भएछ । एक दिन आमा बुबाले मलाई भन्नुभयो ।
छोराको शोक भईरहेको आमालाई एक दिन सपनामा उहीँ छोरा आएर भन्नुभएछ “आमा म सानोबाबु भएर जन्मदैछु, रामबाबु भएर जन्मदैछु, म आउँदैछु ।”
मलाई मेरो ठुलो आमाले रामबाबु नै भनेर बोलाउनुहुन्थ्यो । अरुले बसन्त भने पनि उहाँको लागि म रामबाबु थिएँ ।
आमाले रसिया पढ्न जाँदा भन्नुभएको थियो । “सपनामा तिम्रो छोरो फर्किदै छ, भन्ने सपना देखेथँे र तिमी जन्मियौँ ।”
आमाले देखेको सपना नै मेरो विपना भयो । नजन्मिनु पर्ने मान्छे म जन्मन पाएँ । धर्तिमा आउने हरेकका कथा फरक फरक हुन्छन् तर मेरो कथा फरक मात्रै भएन रोचक पनि भयो । मेरो जन्म नै सपना देखेर भयो ।
आमालाई त्यो सपना नआएको भए म हुन्थे र ? कहिले काहीँ सम्झन्छु यो धर्तिमा मेरो अस्तित्व अनि सपनाको संयोग । के सपना नआउने भए म जन्मन्थे र ? मेरो पाइला यो धर्तिमा टेकिन्थे र ? अनि मैले गरेका कर्म यो धर्तिमा लेखिन्थे र ? अनि लाग्छ सपना र संयोग नै म हो ।
सपना देख्नु पर्दछ । चाहे खुल्ला आँखाले होस् वा निन्द्रामा । त्यसको विपनामा तालमेल हुन्छ भन्ने ज्ञान मैले त जन्मदै लिएर आए ।
अहिले जीवनलाई फर्केर हेर्दै कथा लेखिरहँदा त्यो सपनालाई धन्यवाद दिन चाहन्छु र बुबा मुवा जसले यो धर्ति देखाउनुभयो, उहाँहरुलाई नमन गर्दछु । यो धर्तिमा वसन्त लेखिनुमा सपनाको संयोग छ र त यो पुस्तक “सपना र संयोग” बन्दैछ ।
सपना देखेर जन्मेको म बुबाले सोचेको विपना जस्तै भएँ भन्छन् मान्छेहरु । मेरो अनुहार मेरै ठूल्दाइसँग मिल्छ भनेर सबैले भनिरहनु हुन्थ्यो । गएको मान्छे फर्केर आए झै मलाई उहाँहरुले माया गर्नुहुन्थ्यो । अगाध प्रेम गर्नुहुन्थ्यो ।
म सपना देखेपछि जन्मेको कुरा मैले धेरै पछि मात्र थाहा पाएँ । फेरि थाहा पाएँ, निदाएर हैन खुल्ला आँखाले सपना देखेपछि दुनियाँ झन् गजबको हुने रहेछ । मैले पनि खुल्ला आँखाले सपना देख्न थालँे । दुनियाँलाई नियाल्न थालेँ र देखँे दुनियाँका अनगिन्ती सपनाहरु । आमाले सपना देखेर जन्मिएको म, मेरो आमालाई पनि जन्माउने आमा मेरो देशकालागि स्वप्नशील भएर काम गरिरहेछु ।