१७ मङि्सर २०८१ , सोमबार

साइड हिरो 


साइड हिरो –

केटीको नजिक पुगेपछि उसले आफ्नो बाइकको कान मज्जाले बटार्‍यो । घ्वाइँ… घ्वाइँ…।
अपृला १५० मा रहेकी स्कुटरवाली निकै पछि परी । फेरि, आफ्नो स्कुटरको कान बेस्मारी बटार्दै केही सेकेन्डमै स्कुटरवाली पनि हाम्रो नजिक आइपुगी ।

हामीबीचको प्रतिस्पर्धा वरिपरि भएका सबैले अन्दाज गर्न सक्थे ।

नबोलेरै, नजानेरै चिनेजानेको साथी जस्तै भई एउटा अपरिचित अनुहार ।

यसरी ऊ हामीसँग प्रतिस्पर्धाको खेल खेलिरहेकी थिई । जिस्केकी हो कि रिसाएकी पत्तो पाउन सकिएन ।

“आजकालका केटीहरू, कडा, हार्नै मान्दैनन् है विवेक ?”
बाइकको पछाडि बसेको मैले सुनिरहेको थिएँ, हेलमेट छिचोलेर आएको रमेशको सानो आवाज ।

“हाहा…”

मैले हाँसेरै हो झैँ मान्दिएँ ।

उसले मेरो हाँसो सुन्यो कि सुनेन त्यो पनि पत्तो पाईंनँ । बेस्सरी हावा चलेको थियो ।
मेरो ध्यान अलि बढी अर्कैतिर थियो, त्यो केटीतिर । मलाई त्यो केटीको कन्फिडेन्स बहुत बढिया लागिरहेको थियो । हाम्रोतिरको केटीहरूले साइकल चलाउँदा त कस्तो लाज मान्छ । यताको केटीहरू त मरद छ ।
केटीले पुरै ढाकिने गरी हेलमेट लगाएकी थिई । म उसको रङ्गीबिरङ्गी हेलमेटको सिसाभित्रको अनुहार हेर्न चाहान्थें । बाटोमा हेलमेट लगाएका मान्छेको अनुहार हेर्नु आकाशको फल आखातरी मर जस्तै हो ।

ऊ गोरी रहिछे । उसको बाहुला र पञ्जाबीचको खाली भागमा हेरेर मैले यो थाहा पाएको थिएँ ।

अगाडि पछाडि हुँदै हामी साँगा पुग्यौँ । ठूलो महादेवको मूर्तिले हाम्रो अल्लारेपन नियाली रहेको थियो ।

त्यहाँको उकालो सुरु हुने बित्तिकै जाम पनि सुरु भयो । किन जाम भयो थाहासम्म भएन । जामको लहरो निकै लामो भइसकेको थियो । एक्सिडेन्ट भयो कि के हो ! ऊ र हामी नजिक नजिकै थियौं ।

एकचोटी उसले हेलमेटको सिसा मात्रै खोलोस्, भगवान्, मेरो मनको इच्छा ।
त्यसै बेला हामीभन्दा पछाडि रहेको बाइकवालाले हर्न बजायो । ऊ पछाडि फर्किएर हेलमेटको सिसा उघार्दै हर्न बजाउनेलाई जवाफ दिई ।

– “के भइरहेको छ भनेर देखिदेखि के सारो हर्न बजाको हो ?”
– “हतार छ त्यही भर ।” उसले जवाफ फर्कायो ।
–“यी केटाहरू कति घमन्डी भाका होलान्”, उसले आक्रोश पोखी । यती भन्दै गर्दा उसले हेलमेटको सिसा माथि सारेकी थिई तर अनुहार हेर्न पाइनँ, मास्क लगाएकी रहिछ । मैले उस्का आँखा नियाल्ने प्रयास गरेँ ।
यसबेला रमेश आफ्नै सुरमा थियो । रमेशको कपालले आँखा छोपेछ क्यार उसले हेलमेट फुकालेर कपाल मिलायो र वरिपरि हेर्दै हेलमेट लगायो ।
कुनै केटीले हेरिहाले भने भुतुक्कै हुने अनुहार र जिउडाल परेको छ केटोको । मेरो अनुहार र जिउडाल उस्कोसँग तुलना गर्नै मिल्दैन । न कुरा गरौं ।
आज हामी रमेशको गर्लफ्रेन्ड भेट्न जाँदैछौँ ।
यत्तिकैमा अगाडिका गाडीहरू स्टार्ट हुनथाले । केटीले पनि छड्के पारामा एक नजर हामीतिर फ्याँकी र घ्याई पर्दै हुईंकी। म हेरेको हेर्यै भएँ ।

मलाई लव नपरी ब्रेकप हुन लागेजस्तो, उखपात भयो ।

मेरा आँखा त्यत्रा गाडी बाइक स्कुटरलाई छोडेर उसैलाई नियाल्न व्यस्त थिए । मेरा आँखाले उसको स्कुटरको नम्बर प्लेट हेर्न भ्याएछन् । लेखिएको थियो – प्रदेश ३–०२००६ १५७४ ।
ऊसम्म पुग्नको लागि एउटा लहरो भेटेजस्तो लाग्यो मलाई । मैले लहरो समाउनु पर्छ ।

मैले मन्त्र जसरी याद गर्न थालेँ ती नम्बरहरू । उसको र हाम्रो बाटो बनेपा चारदोबाटो पुगेपछि अलग भयो । बनेपा चारदोबाटो चोक पुगेपछि ऊ दायाँतिर लागि । हामी सिधै धुलिखेलतिर लाग्याैं।

धुलिखेल त्यहाँबाट छ किलोमिटर अगाडि पर्छ ।
रमेशले बाटाका उकालोहरूमा धेरै वटा बाइक र गाडीहरूलाई उछिन्यो । ओरालोमा धेरैलाई पछि पार्‍यो ।
अलि परसम्म सँगै जान पाएको भए बोल्ने कुनै बहाना पो पाइन्थ्यो कि भन्ने सम्भावना पनि बाँकी रहेन । मलाई नमिठो लाग्यो ।

ऊ अरुबेला यति सारो स्पिड्याउने मान्छे हैन तर प्रेमिका भेट्न जानेबेला ऊ सधैँ हतारमा हुन्छ । उनले पनि छिटो आउन भन्छिन् क्यार । फेरि हामी चार बजे अफिस सकेर मात्रै निस्कन पाउँथ्यौँ । सवारी साधन स्पिड्याउने कारण विभिन्न हुन्छन् मान्छेपिच्छे । थोरै समय र चाडै पुग्नुपर्ने चुनौती थियो हामीसँग । हुन त छोरी मान्छेको सुन्दरताको शक्तिले पनि होला उस्का हात एक्सिलेटरमा बढी बटारिएका ।

बकलोलले धेरै उडाएछ । झन्डै ५० मिनेट जति लाग्ने ठाउँ हामी ३० मिनटमै पुग्यौँ ।
– “तेरो लड्की भेट्न सधैं मलाई किन ल्याउँछस् ओए बकलोल”, मैले उसलाई सोधेँ ।
– “मेरो कुनै गल्तीमा तैँले टालटुल गर्छस् भनेर ल्याको ।” उसले भन्यो ।
–“बिहेपछि पनि यसै गरी बोलाउँछस् ?” मैले सोधे ।
– उ ठूलो आवाजमा हाँस्यो ।
अन्ततः हामी धुलिखेल पुग्यौँ । र, होटेल हेरिटेज होमतिर लाग्यौँ ।
हामीभन्दा अगाडि नै सन्ध्या आइपुगिसकेका रहिछिन् ।
होटेल हेरिटेज होमको रुफटपमा बसेर हामी कफिसँगै विभिन्न विषयमा गफिन थाल्यौं । कुरा हुँदै गयो, मैले मेरो कफिको अन्तिम चुस्की लिएँ । हेरेँ उनीहरूले त आदि मात्रै सकेका छन् । मतलब उनीहरू सकेसम्म धेरै समय बिताउन चाहन्छन् ।

म लाहानमा हुँदाको बेला सम्झन्छु । कक्षा दशमा पढ्दा हामी केटी साथीहरूसँग घुम्न जान्थ्यौँ । हामीलाई चिया खासै पसन्द हुँदैनथ्यो । गर्मी पनि असाध्यै हुने, हामी कोक खाएर बात गथ्र्यौं । काठमाडौँले हो चियामा रमाउन सिकाएको । सस्तो पनि छ यो ।
मलाई लाग्यो यिनीहरू अब दुवै एक अर्काको प्रेममा डुबिसकेका छन् ।

यिनीहरूको जोडी सधैँ यसरी नै खुसी भएको देख्न पाऊँ छिन्नमस्ता भगवतीसँग मनमनै प्रार्थना गरेँ ।
भगवतीलाई भाकल गर्दा मनको इच्छा पुरा हुन्छ, आमाले भन्नुहुन्थ्यो । मैले बाटोमा भेटेको केटीलाई फेरि भेट्न पाउँ प्रार्थनामा अर्को महत्त्वपूर्ण इच्छा पनि छुटाइनँ ।
कोही चिनेको मान्छे आउँलान कि भनेर मैले हेरिरहेको हुन्थें ।

उनी हिरोइन । मेरो साथी हिरो । उनीहरुलाई सहयोग गर्न म साइड हिरो । हिरोहिरोइनलाई सहयोग गर्नु साइड हिरोको धर्म हो । उनीहरुको प्रेम सफल बनाउन आफूले सकेसम्म मेहनत गर्नु मेरो दायित्व हो । मैले पुराना फिल्महरु हेरेको छु । महाभारत हेरेको छु ।

महाभारतका कर्णबाट हो मैले साथीको दायित्व सिकेको – “साथी दुर्योधन नै भए पनि संकटमा उसलाई साथ दिनुपर्छ ।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *