किन भयाे काग कालो ?
यस लेखमा सेता र काला कागहरु एक आपसमा छुटेका कुराहरुको पौराणिकता रहस्योद्घाटन हुनेछ ।
हामीकहाँ तुलना गर्ने परम्परा निकै पुरानो हो । सानोसँग ठूलो, अग्लोसँग होचो अनि कालोसँग सेतो आदि । कालो र सेतोको त तुलना मात्र होइन प्रतीकात्मकताको विषयमा गजबको विरोधाभास समेत हुने गरेको छ। कालोलाई कालोको मात्रा (कति कालाे ) बुझाउन कालो मात्र नभएर उच्चारण अवयवका आधारमा कालोकालो, काआआलो, कालै अनि फुस्रे कालो लगायत, भन्ने गरिन्छ। त्यसै गरी कालोलाई हाडीको पीँध जस्तो – हाडी घोप्टे, औशीको रात जस्तो –औशिह़ा र नुहाएको कागजस्तो – कागे कालो भनेर बिम्ब समेत झुन्ड्याइन्छ।
सामान्यतया सदियौँदेखि हामीले देख्ने गरेको काग कालो नै हुन्छ। त्यसैले त आज शब्दहरूको बगैँचामा काग शब्द कालोको परिपुरक र पर्यायवाची समेत बनेर उडिरहेको छ। फलस्वरूप कालो भन्ने शब्द सुन्नासाथ हाम्रो मगजमा झट्ट काग नै आउँछ । सही सूचना दिने सूचक भए पनि काग कालो भएकै कारण अशुभ समेत मानिन्छ।
यहाँ आज कालो काग कसरी कालो भयो भन्ने बारे स्पष्ट हुन सेतो कागका बारेमा बुझौँ ।
यो सृष्टिमा सेतो कागको समेत अस्तित्व रहेको छ। जसको बारेमा आम जनमानसले कमै सुनेको हुनुपर्छ। सेतो रङका कागहरु हुँदै नहुने होइन, धर्तीका कैयौँ भागहरूमा देखा परेका छन्। जति छन् ती अत्यन्तै कम छन्, त्यसैले त हामी तिनलाई सहज रुपमा देख्न सक्दनौं । देख्न नसकेकै कारण यिनीहरु रहस्यमय लाग्छन्।
सेतो हुने बित्तिकै कागलाई अशुभ नमानिने मात्र होइन शुभ फलदायक समेत मानिन्छ। भारतको मध्यप्रदेशमा दतिया नाम गरेको एउटा गाउँ छ, जहाँ यस्ता कागहरू देखिएका छन्। यसअघि सन् २०१७ मा पनि भारतको मध्यप्रदेश हुँदै बग्ने नर्मदा नदीको किनारमा सेतो काग पाइएको कुरा “बीबीसी हिन्दी” ले बताएको थियो।
पुर्वीय दर्शनको मान्यता अनुसार कागको रङ सेतोबाट कालो हुनुको एउटा पौराणिक कथा यस्तो छ ।
धेरै पहिले नर्मदा नदि किनारमा आफ्नो कुटी बनाएर एकजना भिक्षु तपस्यारत थिए। अमरत्व उनको तपस्याको उद्देश्य थियो। जसका लागि अमृत चाहिन्थ्यो। उनी त्यही प्रक्रियामा थिए। यसै समयमा नर्मदा नदिले एउटा सिनो बगाएर ल्याएर नदी किनारमा हुत्याइदिन्छिन्। सेताम्ये कागहरूको एक बथान कराउँदै सिनोमा झुमिन्छ। होहल्लाले भिक्षुको तपस्या भङ्ग हुन्छ। कागको बथानलाई त्यहाँबाट हटाउन भिक्षुले उपाय रच्दछन्। कागलाई अमृत कहा पाइन्छ खोजेर जानकारी मात्र लिएर आउनु अनि सिनु खानु भन्ने आदेश दिन्छन्। कागहरू अमृतको खोजीमा हिमालयतार्फ लाग्छन्। वर्षौं व्यतित भएपछि पनि अमृत फेला पर्दैन। चिसो र भोकले सबै कागहरू मर्न थाल्छन्। अन्ततोगत्वा एउटा बुढो कागले अमृत फेला पार्छ, तर यति मेहनत गरेर पाएको अमृत पिउने उसलाई लालसा जाग्छ। भोकले चुर भएको कागले अमृत पिउँछ।
अमृत पिएपछि काग अमरत्व पाएर भिक्षु भएको ठाउँमा गएर सबै जानकारी गराउँछ। कागले अमृत पाएको र पिएको कुरा सुनेर भिक्षुका आखा क्रोधले अग्निसरी धपधपाउछन्। कागले आफ्नो प्रतिज्ञा तोडेको भन्दै भिक्षुले काग उपर क्रोधाग्नी युक्त श्राप दिन्छन्। भिक्षुले श्रापमास “मानिसहरूले कागलाई दुष्टता र घृणाको नजरले हेर्ने छन्, बचनको पक्का नभएको हुँदा कुसमाचार मात्र बोक्न लगाउने छन्, दर्बिलो बिस्वास गर्ने छैनन्” भन्छन्। यति भनेर मात्र भिक्षुको क्रोध कम हुदैन। आफ्नो क्रोध शान्त गराउने भिक्षुले आफ्नो कमण्डलुमा रहेको कालो पानीमा कागलाई डुबाउँदै झिक्दै गरेपछि कागको रङ्ग कालो भएको हो।
विज्ञान के भन्छ !
सेता र काला कागहरुबीच तात्विक भिन्नता नभए पनि यिनीइहरुको रङ भने पुरै बिपरित हुन्छ। प्वाख मात्र नभएर छालाको तहबाट नै रङ परिवर्तनको सुरुवात हुन्छ। यसरी रङमा आएको फरकपनाको पछाडिको वैज्ञानिक कारण भनेको वंशाणुगत मात्र हो। धर्तीमा अरु पनि धेरै प्रजातिका कागहरु छन्, जसको शरिरमा कतैकतै सेतो,कालो, छिर्केमिर्के दाग र धब्बाहरु हुन्छन्।
त्यसैगरी भूगर्भशास्त्रीका अनुसार एलविनिजम् प्रक्रिया पूरा नभएका कारण केही काग मौलिक रङका नभई सेतो रङका जन्मिन्छन्।
लाखौं कागमध्ये एउटा एउटाको रङ सेतो हुनु सामान्य मान्नुपर्छ। यो एक क्रमिक उद्बिकास र प्राकिर्तिक विविधता हुनसक्ने चराविज्ञहरूको विश्वास छ।