छुटेका कुरा –
अन्ततः अनिलले सतक हाने । अब सतक हान्ने पालो उनका साथी भीमको आयो । तर शतकमा पुग्न उनले केहीबेर संघर्ष गर्नुपर्यो । यही संघर्षको अवधि नै हेर्न लायकको थियो ।
त्यो बेला अर्को एण्डमा रहेका अनिलले चाहेको भए चौका र छक्का हानेर खेल समाप्त गर्न सक्थे । त्यसबखत नेपाललाई जितका लागि मात्र ११ रन चाहिएको थियो । तर अनिलले त्यसो गरेनन् । अनिलले भीमलाई साथ दिए ।
लगातार दुई बल डट खेलेर अनिलले भीमलाई पालो दिए । ४२ औं ओभरमा अनिलले लिएको निर्णयलाई समर्थकले तालीका साथ सम्मान गरे । यो निक्कै मज्जाको दृश्य थियो ।
तर पनि त्यो ओभरमा भीमले रन जोड्न सकेनन् ।
त्यसपछि अनिलले एक रन लिँदै पुनः भीमलाई शतकको अवसर दिए । दुई खेलाडीको शतक हेर्न टिकट नकाटेका दर्शकलाई पनि अन्तिम समयमा निःशुल्क प्रवेश दिइयो । ४४ औं ओभरको अन्तिम बलमा १ रन जोड्दै भीमले शतक पूरा गरे ।
दुबैले जिते । नेपालले जित्यो ।
साँच्चै खेलले जीवन सिकाउँछ । उतारचढाव देखाउँछ ।
हार, जीत र त्यसका कारण केलाउन मद्धत गर्छ ।
साथ सम्बन्ध बझाउँछ । यसर्थ खेललाई जोडेका सिकाइहरु प्रभावकारी ठहरिएका छन् ।
धेरै ठाउँ त खेल चाहिँ जीवन जस्तो र वास्तविक जीवन चाहिँ खेल जत्तिको पनि पाइन्न । खेल अबधिको उतारचढाव । खेलाडीले खेलमा बाच्न गरेको मिहिनेत, जित्नलाई निभाएको साथ, अनुशासन । गजब !
के हामी आफ्नो जीवनप्रति एउटा खेलमा जत्ति पनि इमानदार हुन सकेका छौं त ?
साँच्चै खेल नपिटी जीवन पढाउने गुरु रहेछ ।
जय खेल !