१७ मङि्सर २०८१ , सोमबार

जलाउने कोही छैन !


छुटेका कुरा–

छोराबाट छोरी हुनुको यात्रा अनि कैलाश श्रेष्ठबाट भूमिका श्रेष्ठ हुँदाको सङ्घर्षमय कथाको वृतान्त हो भूमिका । एक तेस्रो लिङ्गीको आत्मकथा हो भूमिका । उनिजस्तै लाखौं तेस्रो लिङ्गी र यौनिक अल्पसङ्ख्यकहरुलाई बुझ्न र उनिहरु पनि अन्य जस्तै प्राकृतिक मान्छे नै हुन भनेर जान्न , उनिहरु हामीबाट के चाहन्छन् र अन्य समुदायबाट कस्तो व्यवहारको अपेक्षा राख्दछन्, यी तमाम सवालको जवाफ हो भूमिका ।

प्रस्तुत पुस्तक अंश अडियोमा सुन्नुहोस्…

शिखण्डीको नियति, कैलाश (कुमारी) का कष्ट, गुफापछि व्रतबन्ध, यसरी छुट्यो पढाई, नीलहिराः न्यानो आश्रय, मैले नपाएको नागरिकता, लाइसेन्स हुँदा र नहुँदा, भूमिका श्रेष्ठः असली पहिचान, रात्रिकालीन जीवन र गिरफ्तारी, इन्डियामा डान्सः किन्नर र संस्कृति, मिस पिङ्क, प्रेमसम्बन्ध, आमालाई चाहियो बुहारी, ब्रेस्ट इन टेस्टिज आउट, हाम्रो यौन-अभ्यास, समुदायका केही साथी, अनुज पिटर (समलिङ्गी पुरुष), एलिन भण्डारी (तेस्रो लिङ्गी पुरुष), कुसुम विष्ट (अन्तरलिङ्गी महिला), हाम्रा लागि स्वर्ग, समलिङ्गी विवाह, लक्ष्यप्राप्तिका लागि राजनीति, राजनीतिक पूर्वाग्रह, पहिलो परिवर्तक, विश्वप्रसिद्ध तेस्रो लिङ्गी-समलिङ्गीहरु, लेडी गागाको ललकार, भिन्न देश-भिन्न व्यवहार, धर्मशास्त्र र धारणा, बौद्ध धर्म, बाबुआमा बन्ने रहर, अभिनय अनुभव, निष्कर्ष, भगवान्लाई धन्यवाद, जलाउने कोही छैन्, र तस्वीरमा भूमिका गरी पैँतिस वटा शिर्षकमा भूमिका श्रेष्ठले आफ्नो यस आत्मकथा पस्केकी छन् । हामी उनको यही पुस्तक भूमिका (तेस्रो लिङ्गीको आत्मकथा) बाट जलाउने कोही छैन शिर्षकको कितावअंश प्रस्तुत गर्दैछौँ । प्रस्तुत कितावअंश पढेपछि वा सुनेपछि पुरा किताव पढ्न चाहनुहुन्छ भने तल दिइएको ठेगानामा सम्पर्क गर्नसक्नसहुन्छ ।
जलाउने कोही छैन् !

मानिस मात्र होइन, पृथ्वीका हरेक प्राणी बाँच्नका लागि सङ्घर्ष गरिरहेका छन् । चाल्र्स डार्बिनको सिद्धान्तले यही भन्छ । बाँच्ने सङ्घर्षकै क्रममा हामी बाँदरबाट अहिलेको स्वरुपसम्म विकसित भएका हौँ । त्यसमा पनि तेस्रो लिङ्गी-समलिङ्गी समुदायले गर्ने सङ्घर्ष बहुसङ्ख्यक विपरीतलिङ्गीको भन्दा निकै कठिन छ ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका पाँच पहिचानमध्ये पनि तेस्रो लिङ्गीको सङ्घर्ष अझ पृथक रहेको मेरो अनुभव छ । समलिङ्गी, अन्तरलिङ्गी र द्विलिङ्गीले आफ्नो पहिचान लुकाउन पनि सक्छन् । तर, तेस्रो लिङ्गी महिला-पुरुषलाई त्यसो गर्न सम्भव छैन । जतिसुकै प्रयास गरे पनि हाम्रो व्यवहार विपरीतलिङ्गी महिला-पुरुषको भन्दा फरक देखिहाल्छ । त्यसैले त धेरैको आँखाको तारो बन्न पुग्छ यो समुदाय ।हामीलाई झ्वाट्ट हेर्दा युवक वा युवती देखिए पनि लैङ्गिक हाउभाउ ठ्याक्कै उल्टो भइदिन्छ । पहिलोपल्ट देख्नेहरुले जिब्रो टोक्छन्, नकारात्मक सोच्छन् । ‘हिजडा’, ‘छक्का’, ‘नपुंसक’ भनेर हेप्छन् । त्यसो त हामीलाई देवताको रुप ठानेर आशीर्वाद माग्न आउने पनि छन् ।

मेडिकल साइन्सका अनुसार महिलामा ‘एक्स’ क्रोमोजोम हुन्छ भने पुरुषमा ‘एक्स’ र ‘वाई’ दुवै हुन्छ । स्त्रीको डिम्ब पुरुष शुक्रकणको ‘एक्स’ क्रोमोजोमसँग सम्पर्कमा आए नारी-भ्रूण बन्छ । त्यसै गरी डिम्ब ‘वाई’ क्रोमोजोमको सम्पर्कमा आए गर्भमा पुरुष-भ्रूण बन्छ । दुवै क्रोमोजोम समान मात्रामा सम्पर्कमा आए हामीजस्ता तेस्रो लिङ्गीको जन्म हुँदो रहेछ । यो पनि जैविक प्रक्रिया ने हो । छोरा हुने वा छोरी भन्ने कुरा पहिल्यै निर्धारित हुँदैन । ठीक त्यसै गरी लैङ्गिक र यौनिक अल्पसङ्ख्यकको जन्म पनि संयोग नै हो । हिन्दुशास्त्रीय मान्यताअनुसारचाहिँ हामी ब्रह्माजीको छायाबाट उत्पत्ति भएका रे !

जसले जेसुकै भनोस्, हाम्रो जन्म पनि सृष्टिको रचना नै हो । यहि ब्रह्माण्डका अंश हौंं हामी । हामीभित्र पनि अन्य मानिससरह आत्मा छ र त्यो परमात्माकै एक अंश रहेको मेरो विस्वास छ । अतः म देवताहरुप्रति विस्वास र आस्था राख्छु । भगवान गणेशप्रति विशेष आस्था जाग्छ । क्रिस्चियनको चर्च र बुद्धिस्टको गुम्बामा पनि पस्छु बेलाबखत । मस्जिदमा भने हामीलाई पस्न दिँदैनन् होला भनेर गएकी छुइनँ । रमजान-इदमा मुस्लिम साथीहरुले बोलाउँछन् । उनीहरुकहाँ गएर सेबई आदि परिकार खाएकी छु । मुस्लिम साथीहरु हामीले बनाएको मासु खाँदैनन् । ‘हलाल’ गरेकै चाहिँदो रहेछ । मैले त उनीहरुले बनाएको मासु पनि खाएकी छु ।
म हिन्दु हुँ । हरेक मङ्गलबार गणेशको व्रत बस्छु । नेवारी संस्कारमा इही, बाह्रादेखि व्रतबन्ध, विवाहलगायत १० संस्कार गराउने लोकेश्वर, हरित-ताराजस्ता देवीदेवता छन् । अर्धनारीश्वरजस्ता नारी-पुरुष दुवैको एकसाथ प्रतिनिधित्व गर्ने देवीदेवता पनि छन् । म तिनको प्रतिबद्ध भक्त हुँ । म आफूलाई नारी ठान्छु । कोही एक जनासँग जीवन बिताउन चाहन्छु । अन्य नारीझैँ बुहारी बन्ने सपनाले मभित्र पनि डेरा जमाएको छ । प्रेमभावनामा लेनदेन, नाफा-घाटा, धनी-गरिबजस्ता पक्षको गुञ्जायस नहुनुपर्ने हो । तर, घोर कलियुगमा प्रेममा पनि व्यापार चल्दो रहेछ । हिसाबकिताब हुँदो रहेछ । सारमा त प्रेम हृदयमा छचल्किने पवित्र गङ्गा हो । तर, यसमा पनि मानिसहरु दिमाग चलाउन थाले । यो साहित्य हो । दिमाग बढी चलाउँदा त प्रेम साहित्यको साटो गणित पो बन्न पुगेछ । प्रेमको यो मैलो यथार्थले मेरो हृदयमा निकै ठेस पुर्‍याएको छ ।

आहार, निन्द्रा, भय र मैथुन जैविक आवश्यकताका मूल आधार हुुन् । यी हाम्रा नैसर्गिक स्वभाव हुन् । यौनसन्तुष्टि स्वभावअनुसार फरक हुन्छ । यौन मान्छेको मानसिकता, नस्ल, स्थान, वातावरण, भावनात्मक सम्बन्ध र शारीरिक आवश्यकताले निर्धारण गर्ने हो । जसरी हामी खाना खान्छौँ, सास फेर्छौँ, त्यस्तै हो सेक्स पनि । विशुद्ध जैविक प्रक्रिया । खाना र रहनसहन हाम्रो रुचिअनुसार फरक हुन्छ, यौन पनि शरीर, समय र स्थानअनुसार फरक हुनु स्वाभाविकै हो । पुरुष अङ्ग तर नारीभावना लिएर जन्मिएकी म पुरुषप्रति आकर्षित छु । आफ्नो जन्मजात सत्य निर्भीकतापूर्वक सार्वजनिक गरेँ । आफूजस्ताको पक्षमा हाकाहाकी आवाज उठाएँ । आत्मविस्वास बढाउँदै लगेँ । यिनै कारणले सन् २००७ मे १७ का दिन ‘मिस पिङ्क’ को ताज पहिरिन सफल भएँ ।
नेपाली काङ्ग्रेश र तरुण दलले मलाई प्राथमिकतासाथ आफ्नो सदस्य स्विकारे । यसलाई अल्पसङ्ख्यक समुदायको आन्दोलनकै एक उपलब्धि र त्यसलाई अझ सशक्त बनाउने जिम्मेवारीका रुपमा लिएकी छु । हिजोको अमानविय व्यवहारको साटो अब हामीले पनि मान्छे हुनुको अनुभूति गर्न पाएका छौँ । समानताको लडाइँ टुङ्गिइसकेको भने होइन । आत्मविस्वास, मेहनत र निरन्तर सङ्घर्षका कारण जस्तोसुकै परिस्थितिमा पनि आफूलाई सम्हाल्न सकेँ । विषम परिस्थितिमा पनि विचलित भइनँ । सङ्कटमा हरेस खाने, दुःख मान्ने र असफलताको भयले रुमल्लिरहनेहरु जिउँदै मरेतुल्य हुन्छन् । म असफलतालाई सफलताको कुञ्जी ठान्छु ।
प्रेममा धेरै प्रताडना भोग्नुपर्‍यो तर म भावनामा बगिनँ । बरालिइनँ । धेरैले पहिलो प्रेम भुल्न नसक्ने अभिव्यक्ति दिन्छन् तर मलाई त्यस्तो लाग्दैन । म वर्तमानलाई प्राथमिकता दिनुपर्छ भन्छु । वर्तमानको साथीलाई कसरी खुसी बनाउने र आफू पनि कसरी खुसी हुने भन्नेमा केन्द्रित हुनुपर्छ । यहि नै अस्तित्वको पनि चरित्र हो । किनकि यो अस्तित्व वर्तमानमा अडिएको छ । भूत बितिसक्यो, त्यो त मृत चिज हो । भविश्य अनिश्चित छ । जीवन्त भनेको वर्तमान हो । यही कारण सकेसम्म विगत भुलेर वर्तमानमै रमाउन चाहन्छु । जोसँग जोडिएको हुन्छु उसप्रति हरतरहले समर्पित हुने बानी छ, मेरो । वर्तमान बेवास्ता गर्ने र हिजोका कुरा मनभित्र गाँठो पारेर छट्पटाउँदा पीडाबाहेक केही पाइन्न । बरु ती कुरा अरुसँग खुलेर सेयर गर्छु र मन हल्का बनाउँछु । मनका भाव लेखेर, भनेर अनि नाचेर प्रकट गर्छु । यसले मन चङ्गा बनाइदिन्छ ।

आफ्नो लैङ्गिक पहिचानबारे सार्वजनिक सञ्चारमाध्यममा बिनाहिचकिचाहट बोल्न सकेकै कारण समाजमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई बुझ्न र बुझाउन सहज भएको छ । पहिचान खुलाउन चाहनेहरुले प्रेरणा पाएका छन् । यौनिक अल्पसङ्ख्यकमाथि हुने हिंसामा समेत कमि आइरहेको छ । तर, लाग्छ- परिवार, समाज र राष्ट्रले मानवोचित व्यवहार नदेखाएपछि अझै पनि हाम्रा कतिपय साथी बाध्यतावश यौनव्यवसायको दलदलमा फसिरहेका छन् ।

मदिराप्रति त्यस्तो मोह छैन मेरो तर पार्टी-जमघटहरुमा सोसियल हुन पिउँछु । एक्लोपना मलाई मन पर्दैन । त्यसैले हरक्षण कसै न कसैको साथ खोजिरहेँ । सानोमा घरपरिवारको स्नेहमा बिताएँ । म आठ वर्षकी छँदा बुबाले सधैँका लागी छाडेर जानुभयो । त्यसपछि आमाले नै बुबाको पनि भूमिका निर्वाह गर्नुभयो । बैँसालु उमेरमा टेकेसँगै बाह्य साथ पनि खोजी गर्न थालेँ । स्वभाविक हो, अरुले पनि खोज्छन्-माया, प्रेम अनि युगल साथ ।

स्कुले उमेरसँगै युगल प्रेमको अनुभव लिएँ । बुटवलका साथी थिए । भारत जानुभन्दा केही अघि भेटिएका । हामीले सधैँ साथ रहने कसम खाएका थियौँ । उनीसँग आत्मा जोडिइसकेकै थियो, शारीरिक मिलन पनि सामान्य लाग्यो । हामीबीच कयौँपटक सहवास पनि भयो । त्यस बेला अहिलेजस्तो मोबाइल, इमेल, इन्टरनेट सहज थिएन । पसले, छिमेकीका ल्याण्डलाइबाट माया आदानप्रदान गथ्र्यौ । एकअर्काबिना बाँच्न नसक्ने भइसकेका थियौँ । एकाकार भइसकेको आत्मा उनको परिवारले जबर्जस्ती चुँडाइदियो । ‘कुनै केटी पाइनस्, त्यही छक्कासित लागिस्,’ भन्दै उनलाई हप्काए । प्रेममा त्याग पनि त हुन सक्छ । यही सोचेर उनको बाटो सजिलो बनाइदिएँ । उनले अर्को घरजम बसाए ।

पहिलो बिछोडले बिरक्तिएको मन बुझाइदिन पोखराका गुरुङ केटा आइपुगे । अफिसको काममा पोखरा जाँदाआउँदा उनीसित माया बस्यो । मलाई उनको रुपले तानेको होइन तर उनको उदात्त आसक्तिसामु नतमस्तक हुन पुगेँ । रुप प्रेमको मापदण्ड होइन पनि । कहिले म पोखरा जान्थेँ, कहिले उनी काठमाडौँ आउँथे । छोटो अन्तरालमै पटक-पटक भेटघाट भइरह्यो । अन्तरङ्ग प्रेमालाप र सहवासका चरणहरु अघि बढे । तर मेरो ग्रह बिग्रिएछ क्यारे ! उनले पनि परिवारको दबाब भन्दै सम्बन्ध टुङ्ग्याए ।

त्यसपछि आएका झापाली साथीले पनि शङ्का र दबादमा राख्न थाले । आजितै बनाए । अनि कसरी सम्बन्ध टिक्थ्यो र ? निरन्तर चोट, धोका र हण्डरपछि मलाई माया-प्रेमदेखि नै घृणा लाग्न थाल्यो । वाहियात लाग्न थाले अफेयर्सहरु । तर, मन न हो, एउटा तामाङ केटोप्रति फेरी पग्लिहालेछ । उनको गाउँ काभ्रे गएँ । सहरमा हुर्किएकी मलाई प्रेमीको दुर्गम बस्ती पनि प्रिय लाग्यो । गोठ स्याहारेँ । खेतीपाती गरेँ । घाँस ओसारेँ । उनकी आमाको पनि स्याहार गरेँ । यति गर्दा पनि मन जित्न सकिएनछ । धुमधामसँग अर्कै केटी भित्र्याए उनले ।
जीवन भनेकै हाँसखेल र आत्मीयता साटासाटमा बिताउने हो । मैले स्विकारेको सत्य यही हो । घरजम गर्ने सपनामा केहीसित आत्मा जोडियो तर कोही आफ्ना भएनन् । झण्डै दुई वर्ष कसैको बाहुपाशमा फस्ने चाहना राखिनँ । केटावर्गसितै रिस उठ्न थाल्यो । जो पनि आउने, मायाको नाटक गर्ने । केही समय शारीरिक सम्बन्धमा रहने अनि अनेक बहानामा टाढिने । वाहियात लाग्यो, प्रेम भन्ने चिज नै । जन्मिँदा एक्लो, मर्दा पनि एक्लो । आखिर किन चाहियो कोही ? दाम्पत्य जीवनप्रति वितृष्णा हुन थाल्यो ।

भगवानले कसैलाई एक्लो बस्न दिँदा रहेनछन् । फेरी गाँसिएँ, अर्का साथीसित । तर, परिवेश फरक थियो । यौनिक अल्पसङ्ख्यकको हक-अधिकारको अभियानमा हिँडिरहेका बेला उनीसित भेट भयो । उनी आफ्नो समुदाय खोज्दै नीलहिरा समाज आइपुगेका थिए । म त्यसको पुरानो अभियन्ता । उनी जन्मजात महिला, शारीरिक विशेषता पनि त्यही । तर उनमा महिलाको मानसिकता छैन । पुरुषपना छ । आफूलाई पुरुष नै सोच्छन् । केही समयको अन्तरङ्गपछि हामी भावना साटासाट गर्ने भयौँ । नजिकिँदै गयौँ । हाम्रो लैङ्गीक विशेषता फरक, मानसिकता फरक । यो सम्बन्ध पनि अन्यजस्तै केही समयपछि छुटिहाल्यो ।
अहिले पो युवा जोस छ । दिनरात खट्छौँ । खान पुग्ने कमाई छ । उमेर ढल्किँदै गएपछि स्फूर्ति पनि हराउला । अहिलेको कमाइले बुढेसकालमा बसेर खान पुग्दैन । जीवनपर्यन्त अभिभावकको साथ हुँदैन, इष्टमित्रको साथले पुग्दैन । नेपाली समाज हो, बुढेसकालमा राज्यले हेर्ने भनेको त्यही वृद्धभत्ता न हो । त्यति रकमले त हर्मोन र अरु औषधि खान पनि पुग्दैन । हातखुट्टा बसेपछि कसले हेरिदिने होला ? यही चिन्ता लाग्छ मलाई । हरेक यौनिक अल्पसङ्ख्यकको चिन्ता हो यो । बुढेसकालमा इष्टमित्र, दाजुभाई-दिदीबहिनीका सन्तानबाट सुख पाउने भाग्यमानी विरलै हुन्छन् । जतिसुकै भविष्यको चिन्ता गर्दिनँ भन्दा पनि मनमा भारी थोपरिइहाल्दो रहेछ ।
सानो उमेरमा घरपरिवार र छरछिमेकीले एक्ल्याउँछन् । अनेक सङ्घर्ष गरेर घरपरिवारको विश्वास जित्यो, फेरि समाजले एक्लो बनाउन खोज्छ । स्कुल-क्याम्पस गयो, विभेदपूणर् व्यवहारले पढाई पुरा हुन दिँदैनन् । अति विकसित भनिएका यूरोप, अमेरिकामा त यौनिक अल्पसङ्ख्यकले सामाजिक विभेद खेप्नुपरिरहेको छ भने भर्खर आधुनिकतामा प्रवेश गर्दै गरेको हाम्रो समाज त झन कसरी तत्काल सुध्रिनु र ?

नगन्य यौनिक अल्पसङ्ख्यक माात्र शैक्षिक र सीपमूलक ज्ञानले दक्ष छन् । आफ्नै व्यवसाय गर्न आर्थिक हैसियत पुग्दैन । भएकाहरुलाई पनि परिवारको वाधा छ । सम्मानजनक रोजगारी र खानबस्न पुग्ने कमाई विरलै पाइन्छ । धेरै जना घरपरिवार, इष्टमित्र र समाजबाट बहिष्कृत छन् । अनि उनीहरु बाध्य भएर सडकमा आइपुग्छन् । न शिक्षा, न सीप न त हातमा पैसा । धेरैको बाँच्ने आधार बन्छ त्यही सडक, जहाँ आउँछन् योनतृष्णामा भौँतारिइरहेकाहरु । भोको पेट र रित्तो खल्तीले सामाजिक नियम, प्रतिष्ठा हेरेर बस्दैन । अनि आँसु पिएरै थाल्छन्, यौन-व्यवसाय ।

मैले थोरै भए पनि पढेँ । आफ्नो लैङ्गिक विशेषताबारे परिवारलाई बुझाएँ । मलाई पनि समाजले नहेपेको होइन । बाटोमा ट्वाल्ल पर्दै हेर्ने, कानेखुसी गर्नेहरु अहिले पनि छन् । म त्यस्ताको पछि लाग्दिनँ । सामाजिक-राजनीतिक सबै क्षेत्रमा पहिचान स्थापित गरेकी छु । मेरो आत्मबल बलियो छ । त्यसैका भरमा समाजमा टिकिरहेकी छु । नीलहिरा समाजको राजगारीले अहिलेको खर्च धानिरहेको छ । अब आत्मविश्वास छ- यो एउटा जागिर नहुँदा पनि भोकै मर्नुचाहिँ पर्दैन होला । अहिले देशमा सीपमूलक तालिमका थुप्रै अवसर छन् । हात खियाउँछु, श्रम गर्छु र सीप बेच्छु । हातमा सीप र मनमा आत्मविश्वास भए भोको परिँदैन । समाजले मान्यता दिएको व्यवसाय गरेरै बाँच्न सकिन्छ ।
धेरै तेस्रो लिङ्गी-समलिङ्गीहरुको साझा पीडा हो-एक्लोपन । जीवनभर बेसहारा बस्नुपर्ला भन्ने चिन्ताले पोलिरहेको हुन्छ । मलाई पनि बेलाबृला पोल्छ तर मन बुझाउन थालेकी छु । देश-विदेशमा आफ्नो समुदायको हक-अधिकारका लागि अनवरत सक्रिय अभियन्ताको पहिचान बनाइसकेकी छु । यो पहिचान ले जीवनमा भोकै बस्नुपर्ने अवस्था पक्कै आउन नदेला । साथसाथै, सीपमूलक तालिम लिँदै छु । कमाइबाट केही बचत पनि गर्न थालेकी छु । घरपरिवार र इष्टमित्रसित राम्रो सम्बन्ध बनाएकी छु । यही सङ्घर्ष र आत्मविश्वास बाँकी जीवनको सहारा बन्नेमा निश्चिन्त छु ।

‘तेरो ज्यान जलाउने होइन, मन जलाउने मात्र छन्,’ आमा कहिलेकाहीँ भन्नुहुन्छ ।
पशुपति पुगेर त्यहाँका गतिविधि नियाल्दा आमाका यी कुरा अझ गहिरा लाग्छन् । देख्छु- मन्दिरभित्र नतमस्तक भएर ‘धन्यवाद भगवान्’ भन्दै खुसी दर्साउनेहरुको खचाखच लाइन । अनि मन्दिरबाहिर ‘यत्ति चाँडै किन लगेको निष्ठुरी’ भन्दै भगवान्लाई गाली गर्दै दुःख पोखिरहेकाहरुको भिड । मूर्तिसामु उभिएर सफल जीवनको कामना गर्नेहरुको आशाको लहर अनि जलिरहेको चितासामु उभिएर त्यही जीवन समाप्तिले पिरोलिएकाहरुको निराशाको कहर एकसाथ चलिरहेको हुन्छ । तर दुवै एकअर्कासँग पूरै बेखबर । एकातिर भजन गाएर भगवान्को पुकारा । अर्कातिर आफन्तको रुवाबासी ।

मान्छेहरुको चित्त र चिता देख्दा कहिलेकाहीँ म पनि आफू अध्यात्मतिर पो छु कि जस्तो लाग्छ । पशुपतिमा धुवाँ पनि कति फरक ? एउटा जिन्दगी माग्दै गरेको धूपको निलो धुवाँ । अर्को जिन्दगी सकिँदै गरेको कालो धुवाँ । धुवाँमा सकिएको सास, धुवाँमै झुण्डिएको आस । लाग्छ- दुवै धुवाँ मभित्र पनि पसिरहेछ ।
आफैँलाई सुन्न कहिलेकाहीँ आर्यघाट पुग्छु । लाइनै जलिरहेका लास हेर्छु । भिडभाड देख्छु । रोएको देख्छु । चिच्याएको देख्छु । जिन्दगीका अनेक रङ्ग एकसाथ नाचिरहेझैँ लाग्छ । तीमध्ये कुनचाहिँ रङ्ग मेरो होला ? रनभुल्ल हुन्छु । कहिले सबै रङ्ग पाउँछु, कहिले कुनै पाउँदिनँ । अचानक मन गाँठो पर्छ । त्यसलाई प्रश्नले फुकाउने प्रयास गर्छु- ‘मानिस मर्दा आफन्त किन रुन्छन् ?’ मनैले जवाफ दिन्छ- ‘आफ्नो मान्छे भएर ।’ फेरी मनैले प्रश्न गर्छ- ‘मेरो आफ्नो को हो त ?’ अर्को मनले निःसङ्कोच जवाफ दिन्छ- ‘आमा ।’ मन आनन्द हुन्छ । फेरी मनैले सोध्छ- ‘म मर्ने बेलासम्म आमा हुन्छिन् त ?’ अर्को मन बोलिहाल्छ- ‘स्वभावतः आमा तँभन्दा छिटो मर्छिन् ।’

त्यसो भए म मर्ने बेला को रुन्छ ? मेरो लास कसले जलाउँछ ? मेरो दाहसंस्कार कसले गर्छ ? मेरो नाममा कपाल कसले खौरीन्छ ? तेह्र दिन नुन कसले बार्छ ? अब मन मौन बस्छ । बिल्कुलै मौन । प्रश्न दिमागमा गढ्छ । अनि आँखाले आँसु बनेर जवाफ दिन्छ । मात्र आँसु । आँसु कतिपय प्रश्नको मौन उत्तर हो । तर म अनुत्तरित नै छु । मानिस भिडमा बाँच्छ । हुनचाहिँ एक्लो नै हुन्छ । म पनि त्यही भिडको एक्लो प्रतिनिधि हुँ । भिडमा हुन्छु तर नितान्त एक्लो लाग्छ ।म आफैँसँग घोत्लिन्छु- आखिर मेरो जिन्दगी के हो ? एक्लोपन अनि मृत्यु । ओहो, एक्लोपन असाध्यै कहालीलाग्दो शब्द हो ! यहाँ सबै सबैसँग छन् तर कोही कसैसँग छैनन् । अनि लाग्छ वा जिन्दगी ! छ्या जिन्दगी ! ह्या जिन्दगी !

व्यक्तिसँग उसका परिवार, आफन्त र साथीभाइ जोडिएका हुन्छन् । तर व्यथा आफैँसँग, कथा आफैँसँग हुन्छ । तैपनि हामीभन्दा फरक मान्छेका परिवार, छोराछोरी अनि चिन्ता लिने व्यक्ति पक्कै हुन्छन् । म भने एक्लै छु । एक्लै हुनेछु । बुबा बित्दा सानै थिएँ । अहिले आमा हुनुहुन्छ आफ्नो भन्ने । भोलि उहाँ पनि नरहँदा म के हुँला ? म केवल उहाँका लागि हिजडा वा छक्का होइन, मात्र सन्तान हुँ । पहिलेको प्यारो छोरो । अहिलेकी प्यारी छोरी । तर समाजले त यस्तो कहिले सोचेन । भोली पनि नसोच्ला । आमाले भनेको वाक्य फेरी निख्खर भएर आउँछ- ‘तेरो ज्यान जलाउने होइन, मन जलाउने मात्र छन् ।’ साँच्चै आमापछि यो संसारमा को छ मेरो ? न श्रीमान्, न बच्चाबच्ची न त परिवार । कसले जलाउला ? कसले दागबत्ती देला ?

एक्लोपनको यो चिन्ता केवल म एक्लैको होइन । मजस्ता पाँचौँ लाख लैङ्गिक अल्पसङ्ख्यकको हो । फरक पहिचान भएकैले हामी समाजबाट भुसिया कुकुरझैँ लखेटिन्छौँ । न खान गाँस हुन्छ न बस्न बास । न पढाइ न सिकाइ । एउटै विकल्प हुन्छ- यौनव्यवसाय । साथीहरुसँग गफगाफ गरेर दिन जसोतसो कट्छ । धन्दा गरेर आधा रात पनि बितिदिन्छ । तर हाउगुजीजस्तो आधा रातले सातो जाने गरी तर्साउँछ । एक्लोपनले मन एकाएक जमाउँछ र सुरु हुन्छ, आफैँसँग मौन संवाद ।
मान्छेहरु सृष्टिको निरन्तरताका लागि वंशवृक्ष फैलाउँछन् । हाम्रो हकमा भने त्यो वृक्ष हामीसँगै मर्छ । अरुका बच्चा ग्रहण गर्दा पनि बुझ्ने भएपछि उसैले धोका दिएका उदाहरण धेरै छन् । त्यस्तो देखिरहेपछि मान्न बाध्य भइँदो रहेछ- जति गरे पनि आफ्नै रगतजस्तो कोही हुँदो रहेनछ । अनि कुकुर, बिराला र चरा हुँदै प्रकृतिसँग रमाउँछौ हामी । प्रकृतिलाई असीम प्यार गर्ने हामीलाई मान्छेले नै प्यार नगरेको देख्दा ताजुब लाग्छ ।
हामीले मनदेखि गरेको प्यारलाई पनि यौन र पैसामा लगेर टुङ्ग्याइदिन्छन् । कहिलेकाहीँ लाग्छ, जीवन छ र छैन पनि । जीवनमा त जीवन नदेखेपछि मृत्युपछिको डर किन ? त्यसैले आजकल मन जलाउनेहरुको यो भिडमा तन जलाउने मान्छे नभएर पिर पर्दैन मलाई । आखिर सबै कुरा एकछिन त हो । एक दिन त हो । एक वर्ष त हो । आफ्नै उमेर त अर्को वर्ष अर्कै भइसक्छ । आफ्नै कपाल कालोबाट सेतो हुन्छ । आँखा धमिलिन्छ । मुखभित्र टम्म मिलेका दाँत फुस्कँदै जान्छन् । आफ्नै शरीर, आफ्नै मनोविज्ञानले त सधैँ साथ दिँदैन भने अरु मान्छेबाट त्यस्तो अपेक्षा गर्नु नै किन ? अचेल यस्तै लाग्छ ।

मान्छेलाई एक्लो बनाउने आफन्तहरु नै रहेछन् । मलाई आफैँभित्रको मनोविज्ञानले यो सत्य बुझाइरहेको छ । सँगै रहेको दाँत फुत्त झर्छ, अरु दाँतलाई छाडेर । कपाल झर्छ, कपाललाई छाडेर । मान्छे पनि झर्छ, मान्छेलाई छाडेर ! सबै एक्ला रहेछन् । भिड पनि त आखिर एक्लो नै रहेछ । यही बुझेपछि मलाई अचेल एक्लोपन पनि मन पर्न थालेको छ । मन पर्छ त भन्छु, फेरी रात आउँदा कोही यस्तो साथी होस्, जो आफ्नै मनजस्तो होस्, मनसँगै संवाद गर्न सकियोस् जस्तो लाग्छ । अनि आमाकै वाक्य याद आइहाल्छ, ‘तेरो ज्यान जलाउने होइन, मन जलाउने मात्र छन् ।’

 

 


तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *