छुटेका कुरा –
साठीको दशकबाट नयाँ पुस्ता नियाल्दा धेरै भत्केका किल्लाहरू देखिन्छन् । पहिले र अहिलेको स्थिति फरक देखिन्छ । आफ्नो यात्राको शृङ्खला देखिन्छन् । यिनै देखाइको आधारमा भविष्यको आकलन गर्न सकिन्छ ।
नयाँ पुस्ताले अहिलेसम्मको इतिहास र उपलब्धिलाई जोगाएर राख्न सिक्नुपर्दछ । प्रविधिको प्रयोगले समयलाई अल्मल्याउन परेको छ । निकै लामो यात्रा तय गर्नुछ । खाने र नखानेको कुराको बीचमा भेद गर्न जान्नुपरेको छ । जङ्क संस्कृतिलाई झाङ्गिनबाट रोक्नुछ । पुर्खाको अपुताली होइन विरासत बोक्नुछ । विरासत संस्कृति सहितको सभ्यता र विकास हो । त्यसैले युवालाई यो नै एक निकाश हो ।
युवाले अब राष्ट्रियताको परिभाषा फेर्नुछ । राष्ट्रियताभित्र भत्केका किल्लाको मर्मत समेटिएको हुन्छ । धर्मभित्रको अन्धता र धर्मविहीनतालाई बुझ्नुपरेको छ । धर्मले वैज्ञानिक समावेशिता बुझेको हुन्छ । विविधताको व्यवस्थापन आधुनिक राजनीतिशास्त्रको उत्कृष्ट अन्वेषण हो । मभित्र सबै र सबैभित्र म अटाउने पद्धतिको विकास नयाँ राष्ट्रियताको सवाल हो । भौतिक दुरीभन्दा मानसिक दुरी धेरै कहालीलाग्दो हुन्छ । अहिले एउटै घरभित्रको निकटताभित्र मानसिक दुरी रहेको छ । सम्बन्ध सृजना र सम्बन्ध विच्छेदले कृत्रिम समाजको निर्माण भइरहेको छ । यसलाई नयाँ पुस्ताले विचार गर्न सकेन भने सभ्यताको विनाश हुनेछ ।
यो लेखलाई आवाजमा सुन्नुहोस्
नयाँ पुस्ता चनाखो बन्नुपर्छ । विज्ञानमा आधारित धर्म र धर्ममा आधारित विज्ञानको खाँचो छ । अबको पुस्ताले पुरानो मन्दिरमा नयाँ गजुर हाल्नुछ । विदेशीले लेखेको होइन स्वदेशले बनाएको र स्वदेशीले लेखेको इतिहास पढ्नु पर्ने वातावरण सिर्जना गर्नुछ । यसको लागि संस्थागत संस्मरण जरुरी छ।
नयाँ पुस्ता चनाखो बन्नुपर्छ । विज्ञानमा आधारित धर्म र धर्ममा आधारित विज्ञानको खाँचो छ । अबको पुस्ताले पुरानो मन्दिरमा नयाँ गजुर हाल्नुछ । विदेशीले लेखेको होइन स्वदेशले बनाएको र स्वदेशीले लेखेको इतिहास पढ्नु पर्ने वातावरण सिर्जना गर्नुछ । यसको लागि संस्थागत संस्मरण जरुरी छ।
ज्ञानको पुस्तान्तरण आजको आवश्यकता हो । वृद्धाश्रम होइन, घरघरलाई जेष्ठनागरिक मैत्री बनाउनु छ । मान्छेमान्छेबीचको अन्र्तद्वन्द्व घटाउनु छ । पढेलेखेका उन्नत मन मष्तिष्क बोकेको युवाले स्वच्छ राजनीति गर्नुछ । पार्टी पद्धतिको विषाक्त पक्षलाई समयमै निर्मूल गर्नुछ । राजनीतिलाई विकिरणमुक्त पार्नु छ । स्कूल, कलेज, गुरुकुल, र शिक्षालयमा स्वदेशको आवश्यकता पढ्नु, पढाउनु छ ।
अबको कृषक मैलो, फोहोरी, नपढेको र अन्धविश्वासी हुने छैन । युवा कृषक हुने छन् । जसले कृषि कर्म र विज्ञान बुझेको हुनेछन् । कार चढेर सुट लगाएर अथवा दौरा सुरुवालमा चिटिक्क सजिएर हिड्ने हँसिला किसान राष्ट्रले प्राप्त गर्नेछ । स्वदेशी मल, विउ र विजनको भन्डारण गर्ने प्रविधिमैत्री युवा देशले मागेको छ । यो देशका किसान निरक्षर रहने छैनन् । किसान भन्दा गर्वले शिर उचो हुने वातावरण बन्नेछ ।
अपाङ्गता भएका व्यक्तिको सम्मान बढ्नेछ । भौतिक अपाङ्गता भए पनि मानसिक रुपमा ऋषितुल्य सम्मानित भएर विद्या, व्यवसाय वा शव्दजीवी भएर अपाङ्गता भएका व्यक्ति बाच्ने छन् । महिला वा पुरुष भएकै कारण उपेक्षित हुनुपेर्ने छैन । जीवन र जवानीको सार्थकताको लागि युवा पुस्ताले घाम नअस्ताउदै धेरै गर्नेछन् ।
युवाले गरिबीमा बाच्नु हुँदैन, गरिबी घटाउनु पर्दछ । सकेसम्म निर्मुलै गर्नुपर्दछ । त्यसको लागि समय र शक्तिको ख्याल गर्नुपर्दछ । नयाँ पुस्तानै पुरानो पुस्ताको नयाँ संस्करण हो । नयाँ संस्करण समयानुकुल र अध्यावधिक गरिएको हुन्छ । त्यसैले नयाँ पुस्ताले भविष्यलाई अर्थात् आगतलाई विगतसँग जोड्न सक्नुपर्दछ।
नयाँ पुस्ताले आफ्नो परम्परा र संस्कृतिको धरोहर थाम्न सक्नुपर्दछ । यसको लागि अहिले समाजमा आएको विचलन समयमै रोक्नुपर्दछ । उदाहरणको लागि हामीले नेपाली संस्कृति अनुकुलका नाम आफ्ना बच्चाबच्चीलाई दिऔं । विदेशी नाम राख्दा के के नै हुन्छ भन्ने सोच छाडौं । धर्मगुरुहरुले पनि न्वारान अर्थात् नामकरणको बेला नेपाली नामको लागि सल्लाह दिने काम गरौं । जन्मदिन मनाऔं तर मैनबत्ति निभाएर होइन, तिलको तेलको बत्ति बालेर ।
आफ्नो परम्परागत विश्वास अनुसारको भगवान र पितृलाई संस्मरण गर्दै जन्मदिन मनाउनेको, महत्व नै बेग्लै हुन्छ । जन्मदिन मनाउनेले प्रसाद बाड्दा केक वा अन्य पकवान पहिला जेष्ठ सदस्य र आगन्तुकलाई खुवाऔं । त्यसपछि मात्र आफू खाऔं । व्यक्तिवादी संस्कृति अनुकुल हुने गरी पहिला केक वा पकवान आफूले खाने चेष्टा नगरौं । यो संस्कारको परिमार्जन जरुरी छ ।
घर बनाउँदा नेपाली शैलिलाई सकभर नबिर्सौं । कोठा वा कार्यालयको साजसज्जमा नेपाली पन देखियोस् । नेपालको धरातलीय यथार्थलाई कहिल्यै नबिर्सौं । खाने बानीको नेपालीकरण एंव वैज्ञानिकीकरण जरुरी छ । सकभर वासी चिज नखाऔं । ऋतु अनुसारको मौसमी फलफूल र तरकारीलाई प्राथमीकता दिउँ । सकभर घरमा पकाएर ताजा खाने पद्धतिलाई नत्यागौं । गाइको दूध, दही, मोही, र घरेलु पकवानमा जोड गरौं । मांसाहारले पनि उमेर, स्वास्थ्य, र श्रमको अवस्था विचार गरी मात्र मासु वा माछाको सेवन गरौं । मादक पदार्थ सकभर नखाऔं । खानै परेमा स्वास्थ्यको ख्याल गर्न नबिर्सौं । धुम्रपानवाट टाढा रहनु राम्रो हुन्छ । कुनै पनि काम गर्दा नेपाल राष्ट्रको हितलाई बिचार गरौं । अर्थतन्त्रको बारेमा सोचौं र आर्थिक नेपाली भएर बाच्न सिकौं । उत्पादन नगरी वितरण गर्ने कुरामा विश्वास नगरौं ।
नयाँ पुस्ताले पुरानो पुस्तालाई प्रविधि र नयाँ कुरा आदरसाथ सिकाउन जान्नुपर्दछ । पुरानो पुस्ताले डिजिटल साक्षरतालाई अभियानको रुपमा लिनुपर्दछ । अबको युग डिजिटल हो । अर्थशास्त्र, राजनीतिकशास्त्र एंव सामाजिकशास्त्र यो बिना अगाडि बड्न नसक्ने स्थितिमा आएको छ । यो जातभातको जमाना होइन । जातभातलाई मान्यता दिने सोच परित्याग गर्नुपर्दछ । मान्छेले मानवीयतालाई संस्मरण गर्नुपर्दछ । जन्मदा सबै बराबर हुन्छन् भने हुर्कदा र मर्दा पनि समान इज्जत र मर्यादा रहने व्यवस्था कायम गर्न सक्नुपरेको छ । यो नयाँ पुस्ताको जिम्मेवारी हो । पुर्खाबाट प्राप्त डिएनएको कदर गर्न जान्नुपर्दछ । त्यो भनेको इतिहासको संरक्षण र जेष्ठ नागरिकप्रति सद्भाव हो ।
अबको युवाले देशको लागि राजनीति गर्नुपर्दछ । उच्चस्तरीय ज्ञान र विवेक भएकाले राजनीति गर्नुपर्दछ । अहिले शासकमा शासकीय शैली हराएको देख्दैछु म । न्यायाधीशभित्रको न्यायाधीश कि त मरिसकेको छ या मृतप्राय छ । यो मैले देखेको छु । सरकार सरकार जस्तो बन्न सक्नुपर्दछ कानून तोड्ने कुरा गर्नुहुँदैन । राजनीति विकास र निकाशको लागि हो ।
उत्पादनशील उमेर र उर्जावान समय भएकोले उत्पादन र उत्पादनका साधनमा युवा पुस्ताको रुचि आवश्यक छ । उत्पादन बिना बितरणमुखी समाजवाद सार्थक बन्न सक्दैन । समाजवादी चिन्ता कुनै खास उत्पादनमैत्री बन्न सक्नुपर्दछ । यो युवा पंक्तिले मनन् गर्न सक्नुपर्दछ । युवा वर्गको भूमिका नविकरण, शुद्धिकरण, पुनर्ताजगीकरण, र व्यवस्थापकीकरणसँग सम्बन्धित हुन्छ । त्यसैले नेत्तृत्व विकास तथा नयाँ आविष्कारका साथ साथै ज्ञान सीप र आचरणमा उनीहरु खप्पीस हुन आवश्यक छ ।
युवा पुस्ताले अब जातिय भेगीय वा नश्लीय राजनीति गर्नु हुँदैन । उनीहरुको काम जुटाउने हो, फुटाउने होइन । सृजनामा विश्वास गर्ने युवाले द्वन्द्वलाई त्यागि शान्तिको सहयात्रामा विश्वास गर्न सक्नुपर्दछ । वातावरण विनासलाई रोक्ने क्षमता युवा जनशक्तिमा हुनुपर्दछ । विदेशको भूमिमा होइन स्वदेशको माटोमा पसिना बगाउनु छ । सुन फलाउनु छ । यो नै युवाको दायित्व बोध हो । राष्ट्रबोध भएको युवापुस्ता देशले मागेको छ । कायर, डरछेरुवा होइन, यशस्वी र पौरखी वीर युवापुस्ता देशले मागेको छ ।
आजको युवा भ्रष्टाचार, अनाचार, र दुराचार मुक्त समाजको सृजना गर्न सक्ने भ्रष्टाचार विरोधी चाहिएको छ । राजनीतिमा अवकासको उमेर राखौं; किनकि युवाहरु राजनीतिमा आउन सकुन् । राजनीतिज्ञको र पत्रकारको योग्यता तोकौं । विश्वभरका बुद्धिजीवीहरुको एकताको सवाल धेरै खड्किएको छ । मजदुर एकताले मात्र विकास र निकास सम्भव छैन । मालिक र मजदुरको अन्तरघुलन जरुरी छ । मजदुरले शिक्षा आर्जन गर्नुपर्दछ, मालिक बन्ने बाटोमा लाग्नुपर्दछ । मालिकले आफैंले पनि काम गर्न सक्नुपर्दछ । कामको मुल्य मात्र हुँदैन, यसको इज्जत पनि हुन्छ भन्ने वातावरण सृजना गर्नु युवाको दायित्व हो । प्रतिष्ठित काम र उचित दाम श्रमको हकसँग सम्बन्धित छ । विश्वभरका श्रमिक एक हुने होइन, श्रमिकले विश्वलाई एक गर्ने हो । राष्ट्र हित, उद्योेग हित, र श्रमिक हितलाई नजोडी हुँदैन । किनकि राष्ट्रको औधोगिकिकरण, उद्योगको श्रमिकीकरण, र श्रमिकको राष्ट्रिय एकीकरण हुन युवा पुस्ताको समर्थन जरुरी छ।
हामीलाई थाहा छ कि हाम्रो देश धेरै ठाउँमा प्वाल परेको छ । यी प्वाल नटालेसम्म विकासको भाडोमा केही अडिन सक्दैन । विकास भनेको वृद्धि मात्र होइन, विकास सभ्यता सहितको सुगमता हो । सभ्यतालाई नमारीकन मान्छेको जीवनलाई सजिलो बनाउँदै वृद्धि गर्न सकियो भने त्यसलाई विकास मान्न सकिन्छ ।
यो बेला युवालाई सिकाउनु पर्ने मुख्य दुई कुरा भनेको आचरण र कार्यविधि हो । आचरण राम्रो भएर कार्यविधि छुट्यो भने पनि हामीले सोचेको कुरा पुरा हुन सक्दैन । म भन्छु अबको युवा गमलामा राखेको फूलजस्तै भएर फुलेर मात्रै हुँदैन । अबको युवा जङ्गलमा हुर्किएको रुख जस्तो हुनुपर्छ । गमलाको फूल हेर्दा सुन्दर देखिन्छ तर उनीहरूमा परनिर्भरता पाइन्छ । उनीहरू फैलिन पनि पाउँदैनन्, धेरै खुल्न पनि पाउँदैनन् । रुखहरू हुर्किन, बढ्न र फैलन पाउँछन् । यस्तो युवा हामीलाई चाहिएको छ ।
आजको बालक भोलिको युवा र आजको युवा भोलिको वयस्क तथा वृद्धबृदा भएकाले जीवन र जगत, लौकिक र पारलौकिक यथार्थताको बारेमा पनि जानकारी राख्नुपर्छ । जीवन सबथोक हो । जीवन केही पनि हैन । वुद्धको सुन्यवाद र हिन्दुका पूणर्वाद एउटै हो भन्ने युवाले बुझ्नुपर्दछ । दृश्य परिणामभन्दा अदृश्य शक्ति बढी प्रभावशाली र शक्तिशाली हुन्छ । हामीले हावा नदेखेको भए पनि हामी हावा बिना बाच्न सक्दैनौं । कुनै पनि इनर्जि देखिदैन । इनर्जीको परिणाम देखिन्छ ।
त्यसैले इनर्जीलाई ‘भू भूव स्व’ अर्थात् पृथ्वी, वायुमण्डल र अन्तरीक्षको शान्ति र सम्वृद्धिको लागि प्रयोग गरौं । उर्जा बिना जीवन सम्भव छैन – त्यसैले परिचालनको बौद्धिक अभ्यास गरौं । कर्ममा विश्वास गरौं । फल अवश्य प्राप्त हुनेछ ।
युवा पुस्ताका लागि अन्य केहि थप कुराहरुः
१. नेपाली भाषाको अतिरिक्त अङ्ग्रेजी र चिनीया भाषा सिकौं ।
२. घरमा कम्तिमा दुई वटा फलफूलको रुख रोपौं ।
३. आमा बुवालाई सम्मान गर्न सिकौं ।
४. हप्तामा एक दिन विश्राम वा मनोरन्जनात्मक कार्यमा कम्तिमा ३ घण्टा बिताऔं ।
५. शारीरिक र सुक्ष्म व्यायाम कम्तिमा दिनको एक घण्टा र हप्तामा कम्तिमा ५ दिन गरौं ।
६. केटाकेटी छन् भने फूल रोप्न र सिचाइ गर्न सिकाऔं ।
७. कुनै पनि निशुल्क कुरामा विश्वास नगरौं । निशुल्क चिज धेरै महङ्गो हुन्छ ।
८. पुस्तक हार्ड कपी नै पढ्ने बानी बसालौं ।
९. बेलुका सुत्ने बेलामा र विहान उठ्ने बेलामा मनतातो पानी पिऔं ।
१०. जीन्दगीमा सफलता र असफलताका सङ्केत हुन्छन् । सफलताको सङ्केत भएको बेलामा धेरै काम गरौं र असफलता वा दुःखको बेला बचेर बसौं, धैर्य धारण गरौं ।
११. श्रीमान-श्रीमातीबीच विवाद भएमा हार्न सिकौं ।
अवश्य राम्राे दर्शन छ ।पढ्ने माैका पाइएला ।
राम्रो चिन्तन। यतातिर सवैकाे ध्यान जान जरुरी छ।
पढे, राम्रो लाग्यो ।