१७ असोज २०८१ , बिहिबार

सृष्टी भाग–२


छुटेका कुरा –

भाग १ यता

 -“भैगो दिदी म रुन्न । पिर नगर्नुस् तपाईंका लागि म छु ।”
झरिसकेका आँशु पुछेर सृष्टीकी आमाका आँखामा आँखा जुधाएर आश्वासन दिएँ ।
– “मलाई अरु केही चाहिएन नानी, यी नरपिसाचहरुले मेरी छोरीलाई जसरी रुवाएका छन् यिनीहरुले पनि त्यसरी नै रुनु परोस् । नभा यी पापीहरुले अरुलाई पनि बाँकी राख्दैनन् । मेरी छोरीलाई त यस्तो बनाए–बनाए अब अरुलाई यस्तो नहोस् नानी । बिन्ती केही गर्नुपरो ।”
रुँदारुँदा थाकेको उनको अनुहारमा फेरि बर्रबर्र आशुँ झरे । आँशुसँगै पिडा पनि झरेका थिए ।
– “तपाईंले आँट गरेपछि त्यो सम्भव छ दिदी । आफूलाई सम्हालनुस् ।”
मैले फेरि थपें ।
– “दिदी म जसरी पनि ती पापीहरुलाई सजाय दिन चाहान्छुु । टिचर नामका नरपिचासले झुक्याएर मलाई यस्तो गरे ।”
–अचम्म ! त्यस्तो अवस्थामा पनि सृष्टीले सकि नसकी बल गरेर बोली । उसलाई थाहा रहेछ कानूनले दिने न्याय नै आफ्ना लागि ठुलो औषधी हो भनेर । उसलाई न्यायको खाँचो छ जस्तो लाग्यो मलाई पनि । त्यो भन्दा धेरै कसैको साथको खाँचो छ जस्तो लाग्यो ।
….

सृष्टीको घाउ गहिरो थियो, गहिरो घाउ पुर्नलाई अस्पतालको बसाई लामै भयो।
एकाएक अस्पतालमा हामी छेऊ सुकिलोमुकीलो लुगा लगाएकी हेर्दा निकै पढेलेखेकी जस्ती देखिने एउटी अधबैंशे महिलाको प्रवेश हुन्छ । उनका अघिपछि सुटबुटमा सजिएका दुईचार जना केटाहरु पनि थिए ।
– “हेर, हामी तिमीले जति भन्छ्यौ त्यति पैसा दिन तयार छाैं । मुद्दा अगाडि बढाउने कुरा नगर । तिमीलाई थाहै एक्लैले छोरी हुर्काउन गाह्रै पर्छ । हामीले भनेको मान, त्यसैमा तिम्रो भलाई हुन्छ ।”
सृष्टीकी आमालाई एउटा कुनामा लगेर ती महिलाले उपदेश दिंदै थिइन ।

– “हजुर तपाईं त महिला अधिकारकर्मी होइन र  ? तपाईंले नै यस्तो भनेपछि हामीले न्याय कसरी पाउँछौं खै र ? दश नङ्ग्रा खियाएर, आफैले कमाएर मेरी छोरीलाई यत्री बनाएकी छु । छोरीको इज्जत लुटेराहरुले देको पैसा चाहिएन हजुर ।”
सृष्टीकी आमा हात जोडेर ती महिलाका अघि बिन्ति बिसाउँदै थिईन।
– “तिमीले कस्तो कुरा नबुझेको, कति अर्काका जुठाभाडा माझेर बस्छ्यौ ? तिम्रा पनि सुःखका दिन आउँछन् । चाहिने जति पैसा माग र केस मिलाऊ । ती पार्टीका मान्छे हुन् । ती मध्ये एउटा केटोको आफ्नै भिनाजू मन्त्री छन् । तिमीले मुद्दा लडे पनि जित्नेछैनौ । तिमीलाई के थाहा यी सब कुरा ।
ती महिलाले अझै थप्दै थिईन्,
“थपक्क मैले भनेको मान । मैले त तिमीलाई आफ्नै ठानेर भनेकी हुँ । नभए मलाई के खाँचो  ? यस्ता केस त हाम्रामा कति आउँछन् आउँछन् । पत्रपत्रीकामा खबर आउँदैछन् । अहिले नै  मुद्दा फिर्ता लिई हाल । अझै केही बिग्रेको छैन।”
– “खै म त केही जान्दिन हजुर । यत्ति हो छोरीले न्याय पाउनुपर्छ भन्छन् सबै । म सल्लाह गरेर भन्छु ।”
– “सुन, गल्ति त तिम्री छोरीको पनि छ । सरले बोलायो भन्दैमा स्कुल छुट्टी भएपछि सरासर घर नगएर किन सरसँग जानु परेकोथ्यो, उसलाई ।”
फतफताउँदै सरिता दिदी अस्पतालबाट बाहिरिदै थिईन ।
– “को छ हँ तिमीले सल्लाह गर्ने मान्छे ?  सुनेको अरु संघसंस्थाका मान्छेहरुसँग निकै उठबस छ अरे । मन्त्रीका मान्छेहरु अलि खतरै मान्छे हुन्छन् । तिमीहरु दुवै आमाछोरीको ज्यान जाला । होस् गर, बाँच्नु छ भने मैले भने जस्तो गर्नु ।”
के सम्झिन् को नि ! हिंडिसकेकी मान्छे फेरि फर्केर आईन् र चर्को आवाजमा ती महलिलाले सृष्टीकी आमालाई झपार्दै, अन्तिम चेतावनी दिएर गईन।
भलोको त जमानै छैन भन्या । नाथे नोकरानिले पनि सल्लाह गर्नुपर्ने ।”
तिनको पारो किन तातेको हो कुन्नी  ? बाहिर ननिस्कदासम्म फतफताउँदै थिईन ।

……

– “यो सानी बच्चीको जीवनलाई तहसनहस पारिदिए पापीहरुले । पहिलो कुरो अब यो बाँच्छे बाँच्दीन टुङ्गो छैन । दोस्रो कुरो बाँचे पनि अब समाजले मारिरहने छ । त्यसबाट पो बाचिरहन सक्छे कि सक्दिन ? खै न्याय पाउन त मुस्किलै छ है ।”
सृष्टी बसेको घर पर्तिरका एक भलाद्य्मीले अड्कल काट्दै थिए । सृष्टीलाई हेर्न भनेर ती पनि अस्पतालै आइपुगेका रहेछन् ।
केही दिनपछि सृष्टी डिस्चार्ज भएर घर फर्किई । अस्पतालको खर्च जेनतेन सरसहयोग मागेर पनि टारियो ।
मिडियामा सृष्टीको समाचारले ठुलै ठाउँ पाउँदै थियो । नागरिक समाज, महिला हिंसा सम्बन्धी कामगर्ने विभिन्न संघसंस्थाहरुले प्रहरी प्रशासनलाई चर्को दबाब दिरहेका थिए, सृष्टीको न्यायका लागि ।
प्रहरीले घटनाको छानबीन गर्दै थियो । उता पार्टीका कार्यकर्ताहरु दिनदिनै सृष्टीकी आमालाई आएर छानबीन गर्दै थिए ।
– “कति पैसा चाहिन्छ, भन् म दिन्छु । तिमीहरु जस्तो गरिबलाई पैसा कमाउने मेलो भएको छ होइन छोरीहरुको इज्जत ?  हुन त तिमीहरुको इज्जत भएपो, इज्जतको पर्वाह हुन्थ्यो र रु मन्त्री ज्यूको सालोमाथि लाको आरोपहरु सबै झुठा हुन् भनेर अदालतमा बयान दिनु । उता मन्त्री ज्यूलाई कम्ता गाह्रो परेको छ तिमीहरुले गर्दा ।”

यस्ताे भन्नेहरूमा शत्ताको आडमा बसेर बुचो राजनीति गर्नेहरु थिए ।

यस्ता भन्नेहरुसँग खै के हिम्मतले हो सृष्टीकी आमा रत्ति पनि डराएकी जस्ती देखिएकी थिईनन् । चुपचाप सुनिन् अनि निर्धक्क भएर जवाफ फर्काइन ।
– “के गर्छौ गर । हेर्छु के गर्न सक्दा रहेछौ । मसँग सारा नेपालीको साथ छ । म मेरी छोरीलाई जसरी पनि न्याय दिलाएरै छाड्छु । अपराधी को हुन् मलाई राम्रोसँग थाहा छ । म जाहेरी फिर्ता लिन्न । तिम्रा मन्त्रीलाई गर सुनाई दिनु ।”

……

– “नानी, फैसला त हाम्रै पक्षमा आयो । ती पापीहरुलाई जन्मकैदको सजाय भयो । अब यत्तिमै मेरी छोरीले न्याय पाएकी हुन्छे त ?  मेरी छोरी पहिलाको जस्तै हुन्छे त नानी ?  यसले गुमेको इज्जत फिर्ता पाउँछे त ?”
फैसलाको दिन म अदालतमा थिईनँ । केही दिनपछि सृष्टीलाई भेट्न म उनीहरुको घरै गएकी थिएँ । त्यतिबेलै सृष्टीकी आमाले यसो भनिरहँदा मैले सृष्टीले अस्पतालबाट फर्कने दिनभन्दा अघिल्लो दिन भनेको कुरा सम्झिएँ,– “दिदी बलात्कार हुने मेरो, गाह्रो हुने मलाई । अनि इज्जत पनि मेरो जानुपर्ने । इज्जत त सरहरुको जानूपर्ने होइन र दिदी ?  खराब त सरहरु हुन् नि, होइन र ?”
त्यतिबेला सृष्टीलाई भेट्न आउने सबैले न्याय त पाउली तर जीन्दगी चाहिं सकियो यसको, इज्ज्जत भन्ने कुरा फिर्ता आउन्न भनेर खासखुस कुरा गर्थे । सृष्टीले त्यो सबै कुरा सुनेकी रहिछ । उसले खै किन हो त्यो प्रश्न पछि मैलाई सोधेकी थिई ।
मैले कसै गरी सम्झिंदा पनि सृष्टीलाई त्यतिबेला उत्तर दिन सकेकी थिईंनँ। र, आज उनकी आमाको प्रश्नको पनि उत्तर थिएन मसँग ।
त्यतिबेला जसरी सृष्टीको प्रश्नमा टाउको हल्लाएकी थिएँ । त्यसै गरी आज उनकी आमाको प्रश्नको पनि उत्तर दिएँ । उनीहरुलाई मेरो उत्तरले कत्तिको चित्त बुझ्यो खै ? तर मलाई चाहिं आफ्नै उत्तरले पनि पटक्कै चित्त बुझेको थिएन ।

……
“बलात्कारीलाई फाँसी दे ! नालायक सरकार राजिनामा दे ! ” यसरी पुरानै ढर्रामा नाराबाजी भरहेकै बेला बाटामा उभिएर केहीले शान्तसँग लामबद्ध भएर प्लेकार्डमा धेरै प्रश्नहरु तेर्‍स्याएका थिए । कालो पहिरनमा कालैपट्टी बाँधेका स्कूले नानीहरुले सृष्टीको न्यायका लागि आन्दोलन गर्दै थिए ।

“खै कस्तो इज्जत ? कस्ले राख्यो हाम्रो योनीमा इज्जत ? अरुले अपराध गर्दा हाम्रो इज्जत जानुपर्ने ?  आफ्नो शरीरको अङ्गमा लागेका चोटहरुले इज्जतको वकालत गर्नुपर्ने ? याे कस्तो समाज हाे ? छोरीका लागि समाज र सरकार किन बोल्दैन ?  बोले पनि किन दुख्ने गरी बोल्छ हँ ?”

सहभागीका यस्तै यस्तै प्रश्नहरु थिए सरकार र  समाजलाई ।
सायद यस्तै प्रश्नहरु मेरा मनमा पनि भएर नै होला, मैले सृष्टी र उनकी आमाको प्रश्नको उत्तर दिन नसकेकी । जाहाँसम्म इज्जतको सवाल छ, समाजले हरेक छोरीहरुलाई आफ्ना छोरी जस्तै सम्झिन नसकेर यो सब भएको होला । सम्झिएर चित्त बुझाएँ ।

……

– “तिमीहरु आइपुगेउ । कति ढीलो गरेका । झन् छिटो आओ ड्रेस यहीं लगाम्ला भनेको होइन । यहाँ बेहुलीको बहिनीका साथीहरु खै भनेर खोजी हुन थालीसको । तिमीहरु भने आइपुग्या होइन । मैले भनेको थें मेरा टन्न साथी छन् भनेर । ल हिंड छिटो भित्र जाम ।”
अप्सराले सृष्टीसँगै अरु साथीहरुलाई हात समातेर बेहुली भाको कोठामा लान्छे ।
रुपाले बेहुलीले लाको रातो बुट्टे लुगालाई ईशारा गर्दै देखाउँछे र भन्छे ।
– “ओए हेर्न कति राम्रो लेहेंगा । भोलीपर्सि मेरो बिहेमा, म पनि यस्तै खालको लेहेंगा लाउने हो, बुझेऊ । ए साँची तेरो त बिहे हुँदैन अरे है सृष्टी । राती आमाले पल्लो घरको आन्टीसँग कुरा गर्दै हुनुहुन्थ्यो ।”
– “अँ हो त, यसको बलात्कार भको भएर अब यसलाई कसैले बिहे गर्न मान्दैनन् अरे । मैले पनि हाम्रो बुवाहरुले कुरा गरेको सुनेको । बिचरा सृष्टी ।”
सन्जुले पनि होमा हो थप्छे ।
– “केको बिचरा न सिचरा । आ नभए नहोस् न त । नभए के भयो र । तिमीहरुको हुन्छ भने तिमीहरु गरन बिहे, म त गर्दिन बिहेसिए । सधैं आमासँगै बस्न नि पाइन्छ । बिहे गर्नै पर्छ भन्ने छ र रु कत्तिन ।”
सृष्टीको उत्तरले साथीहरु अक्क न बक्क पर्छन् ।
– “आ छोड्दे यसलाई । यो त ठुलो मान्छे हो नि । झन् यसो भनेका थे भनेर सुनाइदेको त उल्टै हामीसँग पो रिसाउँछे । जाउँ हामी, जन्ति पनि आइसके होलान् सोल्टीहरु आका होलान् जिस्काउनु पर्छ ।”
नाक खुम्च्याउँदै रुपाले सञ्जुतिर हेरेर भन्छे ।
– “सृष्टी टेन्सन नले ल । यिनीहरु यस्तै छन्, छाड्दे । म तँलाई बुझ्छु यार । तँ ठिक छेस् ।”
अप्सराकोको कुराले सृष्टी मुसुक्क मुस्कुराउँछे । सृष्टी र अप्सरालाई छाडेर अरु साथीहरु बिहेको मण्डपतिर लाग्छन् ।

……

– “बुईंनी सृष्टी त गाडी कुदाउँछु पो भन्छे । खै केके गर्न मन लाग्छ यो केटीलाई पनि । मत अचम्म लाग्छ । त्यत्रो घटना भर पनि यो चेत्तिन । गाडीको काम रातबेहाल नभनि काम गर्नुपर्छ । दिउँसै त्यसो गर्नेहरुले, झन् राती बाँकी राख्लान् र ? लौन सम्झाउनु परो, यसलाई । पहिले कहिले यस्तो कुरा नगर्ने मान्छे आजभोली यो बन्छु, यसो गर्छु भन्छे ।”
ओहो, सृष्टीले आफ्नो सपना आमालाई पनि भनिछे । पहिलो भेटमा उसले गाडीमा भनेको कुरा सम्झिएर म फेरि मुस्कुराएँ ।
– “होर ! त्यो त खुसीको कुरा हो नि ! होइन र दिदी । पिर नगर्नु दिदी तपाईंकी छोरी साच्चै ठुली मान्छे बन्छे ।”
दिदीले दिएको पिर्का समातेर बसें । भान्सा कोठा र सुत्ने कोठा एउटै थियो उनीहरुको । तर बीचमा सानो बार लगाएको । यसैले पनि होला कोठा चिटिक्कको देखिन्थ्यो ।
– “खै, म त के जान्दछु र ! यसैको भविष्य के होला भन्ने मात्रै लागिरहन्छ । हाम्री सृष्टी कति ठुली भईछे हगि । लौ त जे होला भगवान् भरोसा ।”
– “ह्या आमा पनि कति सोचिराको होला । बन्छु भनेपछि बन्छु त अनि । त्यही कुराले टेन्सन लिनु पर्छ त ।”
सृष्टीका कुराले दिदी र म हास्न थाल्याैं ।
– “ल नानी तपाईंहरु गफ गर्दै गर्नु । म तपाईंहरुलाई चिया बनाएर ल्याउँछु ।”
अरु केही भन्न खोजे जस्तो त लाग्दै थियो तर केही नबोली सृष्टीकी आमा चिया बनाउन भान्सातिर लागिन् ।

…..

– “दिदी खैत बोल्नु भएन त ?”
उसले निकैबेर अघिको आफ्नो प्रश्न सम्झाउँदै झक्झक्याई ।
नीलडाम भएको शरीर सम्झिएँ, गुप्ताङ्गको बिचबाट चुहेको रगतले शरीर पुरै भिजेकोे दृष्य सझिएँ । चिथोरिएको उसको शरीरको घाउ, ती सबै सम्झिदाँ आँखा बन्द भए । आँखा खोलेपछि उसलाई देखें । जसको शरीरको घाउ बल्ल बिषेक हुँदै छ । शरीरलाई बिषेक बनाउन उसले मनमा पनि निकै औषधी छर्किछे । शाहासको औषधी । मैले विश्वासै गर्न सकिनँ उसले यती सजिलै आफ्नो जीवनलाई जोडेर कसरी सपना देख्न थाली ?

मैले उसलाई उसले बिर्सेका घटनाहरु सम्झाउन चाहिंनँ । एकसरो आफूले सम्झिएँ, बस् । सबैले देख्दा उसको जीवन भाँचिएको थियो । तर होइन रहेछ, उसको जीवन पापीहरुले भाँच्न खोजेका मात्र रहेछन् । तर ऊ भाँच्चिन । ऊ दह्रो भएर उभिई । कयौं यात्रीहरुलाई गन्तव्यसम्म पु¥याउने सपना देखेकी केटी त्यत्तिकै लाचार काहाँ हुन्छे र ! आफ्नो गन्तव्य काहाँ भुल्छेर ? ऊ लडिनँ, हिंड्दै छे, दौडिंदै छे, उड्दै छे, फेरि सपना देख्दै छे ।

ऊ निर्धक्क छे । नहुनुपर्ने केही कारण पनि छैन । नगरेका गल्तीहरुको सजाय उसले भोग्नु किन प¥यो र ? अब उ आफैसँग लडाईं गर्न चाहाँदै छे र जीत्न खोज्दै छे ।
उसले अगि सोधेको प्रश्नको, मसँग उसलाई दिने चित्त बुझ्दो जवाफ थिएन । तर पनि उसको मन बुझाउन दुई शब्द बोल्नैपर्छ जस्तो लागेर बोलिदिएँ ।
– “खै काहाँ सबैले अचम्म मानेका छन् र र ? सबैमा त तिमी पनि पर्‍छ्यौ नि, हैन र ? खै त तिमीलाई अचम्म लागेको रहेनछ त । यसैले त गर्छु भन्ने आँट गर्‍यौ सृष्टी, अरुले अचम्म मानोस् नमानोस् तिमीले अचम्म नमानेका कुरा जति सबै तिमीले गर्न सक्छ्यौ । अनि यो कुरा मलाई पनि अचम्म लागेको छैन नि ! गाडी कुदाउने अरु पनि मान्छे नै हुन् र तिमी पनि मान्छे नै हौ । यसमा अचम्म मान्नुपर्ने के कारण छ भन त ?”
– “खै दिदी । मान्छेले त्यसै भन्छन् । नपढेको मान्छेले मात्रै गाडी कुदाउने हो अरे, हाे र दिदी ? ”
– “तिमी गाडी कुदाउ । स्टेयरिङसँगै आफ्नो मनको इच्छा समातेर दौड । गाडीको गीयर जस्तै समयको गीयर पनि तालमेल मिलाएर लायौ भने यात्रुहरु ओर्लिने ठाउँसम्म तिम्रो सपनाको गाडी तिमी आफैले पु¥याउनेछ्यौ, कतै दुर्घटना नगराई ।”
नहुनु दुर्घटना त उसको जीवनमा भईसकेको थियो । जाहाँ उसको केही दोषै थिएन । तर अरु दुर्घटना ऊ आफैले नगरोस् भन्ने लागेर उसलाई निकै पाठ पढाउन थालेछु । आखिर मास्टर न परें ।

उसको चित्त बुझाउनलाई मैले फेरि थपें
– “प्रत्येक दिन कोही न कोही मान्छेलाई उनीहरुको गन्तव्यसम्म छाडेर उनीहरुकै यात्राको साक्षी बन्नु सानो कुरा हैन नि, सृष्टी । मान्छेले त खाना बनाउने काम पनि सानो भन्छन् । अब भन त खाना नखाएर कोही बाच्न सक्ला र ? संसारमा चाहिने जती सबै काम ठुला हुन्छन् । पढेका र नपढेका सबैले सबै कामलाई बुझेर गर्न सक्छन् । अनि ती काम, केटाले या केटीले मात्रै गर्नु पर्छ भनेर भनेको पनि छैन । यसै मान्छेले देखि राखेको भएर भनेका मात्रै हुन् । तर संसारमा नदेखेको कुरा पनि गर्न सकिन्छ नि, नानी । आज तिम्रो आँखा पर्‍यो । भोलि तिमीलाई देखेर अरुको आँखा पर्नेछ । सानो काम त केवल मान्छेले गर्नै नहुने काम मात्रै हुन् । ती अपराध हुन् । बुझ्यौ ।”
– “त्यो त हो है दिदी ।”
उनी धक फुकाएर टाउको हल्लाउँदै हास्न थालिन् । लाग्यो उनले मैले भनेका सबै कुराहरु बुझिन् ।
– “अनि दिदी बलात्कार भाको मान्छेले बिहे नै गर्न नपाउने हो र ? मेरा साथीहरुले भनेका, उनीहरुका बाआमाले यस्तै कुरा गर्छन् अरे ।”
म आपत्मा परें । के उत्तर दिने दिने । निकैबेर टोलाएँ । भन्नु त थियो नै तर आएन । तैपनि बल गरें ।
– “धत् लाटी, त्यस्तो पनि हुन्छ काहीं । तिमीले कसैको केही बिगारेकी छैनौं । तिम्रो जीवनमा केही नराम्रो हुँदैन । अहिले तिमी सानै छ्यौ । पहिले तिम्रा सपना पुरा गर । उमेर पुगेपछि मेरी यति राम्री बहिनीका लागि एउटा राम्रो ज्वाई कसो नभेटिएला, यो संसारभरिमा ।”
ऊ लजार्ई ।
यत्तिकैमा चिया आइपुग्यो । चियासँगै उनकी आमा पनि आइपुगिन्, चिया लिएर । उनकी आमाले हामी दुईका कुरा सुनिछन् क्यारे, खै किन चिया दिदैं केही नसुने जस्तो गरेर सोधिन्,
– “के भन्दै छे नानी यसले रु यो त जे पनि बोल्छे । यी नानी चिया लिनुस् ।”
तीनवटा साना गिलास चियामध्ये एउटा गिलास समातें र एक घुड्को चिया सुरुप्प पार्दै भनें,
– “सृष्टीले पनि नराम्रो बोल्छिन् र दिदी । तपाईंकी छोरी पो हुन् त । आमाको एक्लो संघर्षले हुर्केकी छोरी ।”
– “त्यही त आमा पनि । अबदेखि मलाई गाडी किन कुदाउनु परो भन्ने होइन । बुझ्नुभयो नि, मलाई ढिला भईसक्यो । ल म गएँ, बाइ दिदी भोली फेरि आउनु ल ।”
यति भनेर सृष्टी रिता मिसकामा ट्यूशन पढ्न गई ।
सृष्टीले छरेको उत्साह उसले थाहै नपाई मैले पनि बटुलें । शरीरको भित्र पोको पारेर उत्साहलाई लुकाएँ, पिँधमा बाँकी रहेको एक घुड्की चिया पिएँ अनि आफ्नो बाटो लागें ।

अहिले नौं कक्षा पास गरेर १० मा पढ्दै छे सृष्टी । छ महिना उसले न्यायका लागि लडाईं गरी, समाजसँग लडाईं गरी । कानूनले उसलाई न्याय दियो । उसको जीवन थुत्न खोज्ने तीनै जना अपराधीहरुलाई सजाय दियो । समाजले भने उसलाई सजाय दिई नै रहेको छ । अझै कति लड्नुछ समाजसँग । सायद उसको समाजसँगको लडाईं जीवनपर्यन्त चलि नै रहने छ ।

भाग १ पढ्नुहोस्


25 thoughts on “सृष्टी भाग–२

  1. उत्कृष्ट ,भावुक,यथार्थमा सजिएका ती सब्दहरु हृदयस्पर्सि छन सुभकामना हजुरलाई।

  2. लेखाइ कति मीठो । समाजको यथार्थ हो यो । छोरी मान्छेप्रतीको धारणा बदल्नु पर्नेछ समाजले । कथाबाट सिक्नुपर्नेछ ।

  3. अति उत्तम लेख दीदी
    समाजको वास्तविकता लाई एकदमै मिठासपूर्ण तरिका ले चित्रण गर्नु भए को छ ।

  4. अति उत्तम लेख दीदी
    समाजको वास्तविकता लाई एकदमै मिठासपूर्ण तरिका ले चित्रण गर्नु भए को छ ।

  5. हरेक लेख भित्र समाज को यथार्थता लुकेको हुन्छ।पहिलो भाग पढ्दा आँखा भरी आँसु आयाको थियो ।सायद भावमा पुगेर होला । तिम्रो उतर उतर प्रगतिको कामना।

  6. कति वेला पढि सके पत्तै पाइन्। तेरो मेहनत ले सार्थकता हासिल गराेस।❤️

  7. अदालतले बलात्कारीलाई सजाय दिइसकेपछि, समाजले बलात्कृतलाई दिएको सजायका दृश्यहरू मार्मिक रूपमा भेला गरिएकाे रहेछ । यो लेखले समाज र समाजमा रहेका हामी सबैलाई दुख्ने गरी झापड हानेको छ । समाजका इन्जिनियरहरू(नेता) आत्मसमिक्षा गरुन् । अनि लेखकलाई शुभकामना !

  8. समाजलाई मिहिन ढंगले बुझेर केलाउन सिपालु मान्छे । तपाईंका सोचहरु सबै लेख रचनामा आउन् । समाजलाई पक्कै त्यसले फाइदा पुग्नेछ ।

  9. बास्तबिकतासगँ नजिक पुगेर लेखिएको लेख ❣️❣️❣️

  10. भाग २ सोचेको भन्दा पनि उत्कृष्ट लाग्यो रेनुका जि । यसरी नै लेख्दै जानुस धेरै धेरै शुभकामना।🙏

  11. उत्कृष्ट ,भावुक लेख….लेखाइ कति मीठो !!
    उत्तर उत्तर प्रगतिको शुभकामना रेनुका💞💞

  12. कथाले समाज बोलेको छ । समाज बोल्ने कथाहरुले समाजले झटारो हानेको छ । समाजले बुझ्नुपरो

Leave a Reply

Your email address will not be published.