छुटेका कुरा-
खरी नेपालमा पाइने एक प्रकारको पतझड वर्गको वनस्पति हो । नेपालमा यसको प्रयोग धेरै जसो डाले घाँसको रुपमा घरेलु जीवजन्तूलाई खुवाउन हुने गर्दछ । मुख्यतः पश्चिम एसिया, उत्तर अफ्रिका र दक्षिण युरोपमा पाइने यो वनस्पतिको पहिचान पहिलोपटक बेलायतमा सन् १७९६ मा भएको थियो । खरीको बैज्ञानिक नाम “सेल्टिस अष्ट्रालिस” हो ।
१० देखि २५ मिटरको उचाइ हुने खरीको खस्रो र खैरो रंगको बोक्रा हुन्छन । शरद ऋतुपछि पातहरु पहेँलो भई झर्ने र नयाँ लाग्ने गर्दछ । यसको कालो र मसिनो फलहरु चराहरु तथा जंगली जनावरका लागि आकर्षणका केन्द्र मानिन्छ । स्वादिष्ट हुने भएकाले यसलाई मान्छेले पनि खाने गर्दछन्।
प्राकृतिक रुपमा वातावरण स्वच्छ राख्न भूमिका खेल्ने, आर्थिक रुपले यसबाट निर्मित उत्पादनले आर्थिक उपार्जनमा सहयोग गर्ने, मानवीय रुपमा विभिन्न रोगहरुको उपचारमा प्रयोग गर्न सकिने यो वनस्पतिको ऐतिहासिक महत्त्वलाई पनि चर्चा गर्न सकिन्छ ।
मुख्यतः सडकको वारि-पारी सजावट र वायु प्रदूषण तथा ध्वनि प्रदूषण कम गर्न यसको प्रयोग हुने गर्छ जसले वातावरण सन्तुलनमा ठूलो योगदान पुग्छ । परम्परागत रुपमा चोटपटक लाग्दा रगत बग्न नरोकिएको, खाना नरुचेको उपचार खरीको फल र पातको प्रयोगद्वारा हुने गर्दछ । महिनावारी गडबडी, अधिक रक्तश्राव वा रुन्चे रोग लागेका बच्चालाई उपचार गर्न पनि यसको प्रयोग गर्न सकिन्छ । झाडापखाला, आउँ, मासी तथा आन्द्राको अल्सरको उपचारमा खरीको पात र फलको प्रयोग गर्न सकिने विभिन्न अध्ययनबाट प्रमाणित भएका छन् ।
खरीको बोक्राबाट रस निकालेर रंग निकाल्न मिल्छ जुन कपडा उद्योगमा प्रयोग हुन्छ । काठको प्रयोग गरि सजावटका फर्निचर सामान उत्पादन गर्न सकिने हुँदा यसका आर्थिक महत्त्व पनि धेरै रहेका छन् ।
ऐतिहासिक सन्दर्भमा “खरी”को भूमिकालाई ठूलो महत्त्वका साथ हेरिन्छ । प्रस्तुत तस्बिरमा देखाइएको खरीको बोट काठमाडौं टेकुस्थित सहिद शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थान हो । नेपालको राणा शासन विरोधी आन्दोलनको इतिहाससँग जोडिएको झन्डै सय वर्ष पुरानो खरीको रुखमा शुक्रराज शास्त्रीलाई तत्कालीन राणा शासकले प्रजातन्त्रको पक्षमा वकालत गरेको आरोपमा झुन्ड्याएर मारेका थिए । धार्मिक प्रवचन दिँदा जनचेतना जगाउने भाषण गरेको भनी राजद्रोहको मुद्दा लगाई वि.स. १९९७ माघ १० मा यहीँ खरीको रुखमा झुन्डाएर मृत्युदण्ड दिइएको थियो । यस घटनापछि प्रजातन्त्रवादी आन्दोलनले नयाँ मोड र आयाम आत्मसात् गरेको विश्वास गरिन्छ ।
१०४ वर्षे जहाँनिया राणा शासनको पतन तथा प्रजातन्त्रको बहालीको लागि उनले मृत्युवरण गरेका थिए । यिनै सहिदलाई चिनाउने ठाउँमध्येको एक टेकुको यो खरीको फेदमा बनाइएको शालिकमा औपचारिक रुपमा प्रत्येक माघ १६ गते सहिद दिवसमा सहिदका सपना र योगदानको गुनगान, चर्चा परिचर्चा त हुन्छ तर सहिदहरुका सपनाको वास्तविक हालत के छ भनेर यहि तस्बिरमा देख्न सकिन्छ । शालिक त बनाइएको छ तर संरक्षण छैन । ऐतिहासिक महत्त्वको खरीको बोटमा तारहरु असरल्ल तरिकाले झुन्डिएको देख्न सकिन्छ ।
Tree of the Century को उपमाबाट सम्मान गर्नुपर्ने यो रूखको उचित संरक्षण हुन जरुरी छ र सहिदले देखेको सपनालाई वास्तविकतामा परिणत गर्न संघीय नेपालको नयाँ संविधानको उचित कार्यान्वयन हुन जरुरी छ । समानता, मानवअधिकार,सुशासन तथा कानुनी राज्यको प्रत्याभूतिबाट नै सहिदको योगदानलाई सहि अर्थमा कदर गरेको ठहरिन्छ । जिम्मेवार पदमा आसिन सार्वजनिक पदाधिकारीको तर्फबाट यो कुरा मनन नभएसम्म सहिदका सपना , सपना नै रहनेछन् ।
जुनै शासकीय प्रणालीको अभ्यास भए पनि , सत्तामा जुनै दल पुगे पनि सहिदले देखाएको बाटो अवलम्बन गर्नु हामी सबैको कर्तव्य हो । किनकि सहिदहरु हाम्रा मार्गदर्शक हुन । राज्यले यो विषयलाई हलुका साथ नलेओस् ।