०१ चैत २०८१ , शनिबार

स्वस्थ दिनचर्या/यस्तो होस् दिनचर्या


तपाईं बिहान उठेदेखि राति नसुत्नेबेला सम्म के के गर्नुहुन्छ ? कतिबेला उठ्नुहुन्छ ? कतिबेला खानुहुन्छ ? के खानुहुन्छ ? कसरी खानुहुन्छ ? कहाँ जानुहुन्छ ? किन जानुहुन्छ ? लगायतका क्रियाकलापहरुलाई सामान्यतया दिनचर्या भन्ने गरिन्छ । यी सबै प्रश्नको जवाफ तपाईंसँग अवश्य पनि छ नै । किनकि हरेक मानिसले केही न केही गरिरहेकै हुन्छन् ।
यहाँ हामी आयुर्वेदअनुसार मानिसको दिनचर्या कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा केही महत्वपूर्ण कुराहरु बताउन गइरहेका छौं । हाम्रो सनातन तथा पूर्वीय दर्शनमा स्वास्थ्यसम्बन्धी एक अति नै लोकप्रिय र चर्चित शास्त्र आयुर्वेद शास्त्र हो । आयुर्वेदको उद्देश्य नै स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु तथा रोगहरुबाट बचाउनु हो । आयुर्वेद भन्छ व्यक्ति स्वस्थ छ अथवा अस्वस्थ छ भन्ने कुरा शरीरमा त्रिदोषको स्थिति कस्तो छ भन्ने कुरामा निर्भर रहन्छ । र, शरीरमा त्रिदोषको स्थिति हामीले अवलम्बन गरेको दिनचर्याले निर्धारण गर्दछ ।
अतः हामी के भन्न सक्छौं भने हामीले अपनाउने दिनचर्याले हाम्रो जीवनशैलीको निर्माण गर्छ । यसैले हाम्रो शरीरको स्वस्थ अवस्थाको पनि निर्धारण गर्छ । यसरी हाम्रो दिनचर्या स्वस्थ छ भने हामी स्वस्थ तथा निरोगी हुन्छौं । यदि जानेर वा अज्ञानमै पनि अस्वस्थ दिनचर्या अवलम्बन गरिरहेका छौं भने हाम्रो शरीर अस्वस्थ हुन्छ, हामी रोगी हुन्छौं । आयुर्वेद पनि यही भन्छ कि स्वस्थ रहन स्वस्थ दिनचर्याको पालन गर्नु जरुरी छ ।
यतिन्जेल हामीले आयुर्वेदअनुसार स्वस्थ हुनका लागि स्वस्थ दिनचर्याबारे चर्चा गर्‍यौं । अब हामी त्यो स्वस्थ दिनचर्या चाहिं कस्तो हुनुपर्छ भन्नेबारे चर्चा गरौं ।

क) जाग्नु/ब्युझनु
अष्टाङ्ग संग्रह सुत्रस्थानमा भनिएको छः
ब्राह्मे मुहूर्त उत्तिष्ठेज्जीर्णाजीर्ण निरुपयन् । (३.३)
अर्थात्, ब्रह्म मूहूर्त (सुर्योदयभन्दा दुई घण्टा पहिले) उठिसक्नुपर्छ । उठेबाटै हाम्रो दिनचर्या सुरु हुने भएकाले बिहान छिटै उठ्नु अनिवार्य छ । ब्रह्म मुहूर्तको समय शान्त, सात्विक, स्वच्छ र प्रसन्न हुन्छ । यस कारण ब्रह्म मुहूर्तमा उठ्नु अधिक लाभदायक हुन्छ ।
उठ्नासाथै आफ्‌नो इष्टदेवको स्मरण गर्दै प्रार्थना गर्नाले त झन् शारीरिक र मानसिक रुपमा उर्जा प्राप्त हुन्छ ।
मन, बुद्धि र शरीर तरोताजा हुने यस समयमा हामी जे याद गर्छौं त्यो हाम्रो स्मरणमा बसिरहन्छ ।
छिटै उठ्नाले शौचालय, स्नान, योगाभ्यास, व्यायाम आदि नित्य कामका लागि पर्याप्त समय मिल्छ । अतः रोग लाग्दैन र शरीर तथा आयुुको रक्षा हुन्छ । यही समयमा दिनचर्याको योजना बनाउँदा सबै कामहरु सही समयमा उचित तरिकाले सम्पन्न गर्न पनि सकिन्छ ।

ख) मुख धुने
ओछ्यान छोड्ने बित्तिकै गरिनुपर्ने पहिलो काम हो मुख धुने । उठ्नासाथ सफा पानीले मुख धुनुपर्छ । यसबाट आँखा, नाक, मुख, तथा अनुहारमा जमेको फोहोर मैला सफा हुन्छ, आलस्य हट्छ र शरीरमा स्फुर्ति छाउँछ । चिसो मौसममा भने मनतातो पानीले मुख धुन सकिन्छ ।

ग) खाली पेटमा पानी पिउने
मुख धोएपछि खाली पेट कम्तीमा एक गिलास र बढीमा चार गिलास सफा पानी अवश्य पिउनुपर्छ । आयुर्वेदमा यसलाई उषःपान भनिन्छ । यसरी पिउने पानी राति नै एक तामाको सफा भाँडोमा भरेर राख्नुपर्छ ।
जाडो मौसममा तथा मोटोपनका रोगीहरुले तातो पानी पिउनुपर्छ । यसबाट मलमूत्र त्याग सहज र उचित तरिकाले हुन्छ । खाली पेटमा पानी पिउँदा मलासनमा बसेर पानी पिउनु उत्तम मानिन्छ । अर्को महत्वपूर्ण कुरा हामीले पानी पिउँदा सधैं बसेर पिउनुपर्छ । उठीउठी पानी पिउनाले जोर्नी दुख्ने समस्या हुनसक्छ ।

घ) मल त्याग
त्यसपछि मल त्याग अर्थात् दिशा पिसाब गर्नका लागि तयार हुनुपर्छ । दिशा पिसाब नियमित रुपमा बिहानै हुने बानी बसाल्नुपर्छ । आजकल मानिसहरुको तनावपूर्ण र व्यस्त दिनचर्याका कारण धेरैलाई बिहान मल त्यागका लागि सङ्घर्ष गर्नुपर्ने अवस्था छ । राति अबेर खाएको खाना नपच्नाले, निन्द्रा पूरा नहुनाले, अधिक चिन्ता, क्रोध, संवेदनशीलता एवम् असन्तुलित स्वभाव तथा तारेको र भारी खानाका कारणले पेटको आँतमा वात अर्थात् ग्यास जम्मा हुन्छ । जसले मल त्यागको गतिमा अवरोध उत्पन्न गरिदिन्छ । परिणामस्वरुप थोरै दिशा भएपछि पेट खाली भएजस्तो लाग्छ । तर केहीबेरमा पुनः दिशा लागेको अनुभव हुन्छ ।
समयमा पेट सफा नहुँदा भोक लाग्दैन । पेटमा ग्यास बन्छ । अपच हुने, टाउको दुख्ने, उदासी, ग्लानी, बेचैनी, थकान, आलस्य जस्ता समस्या देखिन्छन् । पेटमा अधिक ग्यास जम्मा हुँदा मुटुमा अनावश्यक दबाब बढ्नाले धड्कन बढ्न जान्छ । अधिक समयसम्म कब्जियत हुनाले दम, बबासिर, जोर्नीको दुखाइ, गठिया जस्ता रोग लाग्न सक्छ ।
त्यसैले सकेसम्म बिहानै पेट पूरा सफा हुनेगरि शौचादि निवृत हुनुपर्छ । यदि पटक पटक शौच लागेको अनुभव हुन्छ भने पनि बेवास्ता गर्नुहुँदैन । अर्को कुरा कब्जियत लगायत पेटका अन्य रोगको स्थाइ समाधानका लागि भने बिहान खाली पेटमा कपालभाती प्राणायामको अभ्यास गर्नुपर्छ ।

ङ) दाँत माझ्‌ने
आयुर्र्वेदमा बिहान शौचदि निवृत्त भइसकेपछि दतिउनले दाँत सफा गर्ने विधान छ । तितो तथा टर्रो रस भएको औषधिय रुखको औला बराबर मोटाइ, छ इन्चजति लामो सीधा डाँठलाई अगाडिबाट एक/दुई इन्च जति चबाएर ब्रसजस्तो बनाएर दाँत सफा गर्नुपर्छ । दाँत, गिजा तथा मुखसम्बन्धी रोगका लागि बबुल, करंज, मालति, नीम आदिको डाँठले दाँत सफा गर्नु राम्रो हुन्छ ।
दाँत सफा गर्दा दाँतको तलमाथि, भित्रबाहिर सबैतिर रोम्रोसँग सफा गर्नुपर्छ । दतिउनसँगै आयुर्वेदिक जडीबुटीबाट बनाइएको पाउडर वा दन्त मञ्जनको प्रयोग पनि गर्न सकिन्छ । यसप्रकार दाँत सफा गर्नाले जिब्रो तथा मुखको दुर्गन्ध, फोहोर आदि हराएर जान्छ । दाँत बलियो हुन्छ, खाएको खानाको स्वाद पनि पाइन्छ ।

च) तेलको प्रयोग
खानका लागि मात्र होइन, आयुर्वेदका अनुसार शरीरको बाहिरी स्वास्थ्यमा पनि तेलको नियमित प्रयोगको विशेष महत्व छ । टाउकामा नियमित रुपमा नरिवल, तिल, जैतुन वा तोरी आदिको तेल लगाउनुपर्ने मान्यता छ । यसबाट छिटै बाल झर्ने, फुल्ने, टाउको दुख्ने आदि समस्याबाट रक्षा हुन्छ । साथै शरीरमा पनि नियमित तेल लगाएर मालिस गर्नाले छाला स्वस्थ, नरम, मुलायम हुन्छ भने शरीरका मांशपेशीहरु पनि स्वस्थ र बलिया हुन्छन् ।
त्यसैगरी आयुर्वेदले कानमा नियमित तेल हाल्नाले कानको दुखाइ लगायतका कानसम्बन्धी समस्याबाट छुटकारा मिल्ने कुरा बताउँछ । खुट्टामा तेल मालिस गर्नाले छालाको सुरक्षासँगै राम्रो निन्द्रा पर्छ । नाकलाई टाउकाको ढोका पनि मानिन्छ त्यसैले नाक स्वस्थ राख्नका लागि नियमित नाकको सफाइसँगै तेल हाल्नुपर्छ । नाक स्वस्थ हुँदा श्वासप्रश्वास तथा मस्तिष्कको कार्यमा अवरोध आउँदैन । गाईको घ्यू मनतातो बनाएर नाकमा हाल्दा स्मरणशक्तिमा वृद्धि हुन्छ । गाईको घ्यूसँगै जैतुन तथा बदामको तेल पनि उत्तम मानिन्छ नाकमा हाल्नका लागि ।

छ) व्यायाम
अष्टाङ्ग सङ्ग्रह सुत्रस्थानमा भनिएको छः
शरीरायासजननं कर्म व्यायाम उच्यते । (३.६२)
अर्थात्, जुन काम गर्दा शरीरमा थकावट उत्पन्न हुन्छ त्यसलाई व्यायाम भनिएको छ । शरीरमा तेल मालिस गरेपछि व्यायाम गर्नुपर्छ । व्यायामले शरीरलाई बल तथा दृढता प्रदान गर्छ । आयुर्वेदले नियमित रुपमा सबै मौसममा शरीरको शक्ति अनुसार निधार तथा शरीरमा पसीना आउनेगरी व्यायाम गर्नुपर्छ भनेको छ । तर शरीरलाई कष्ट या पिडा हुनेगरि अधिक व्यायाम गर्ने भुल गर्नुहुँदैन ।
नियमित पसीना आउनेगरि व्यायाम गर्नाले शरीर हल्का हुन्छ, स्फुर्ति आउँछ, काम गर्ने क्षमता, स्थिरता, कष्ट सहने सामर्थ्य तथा पाचन शक्तिमा वृद्धि हुन्छ । व्यायामको रुपमा सर्वाङ्गिण लाभकारी हुने योगआसनहरुको अभ्यास गर्नाले त्रिदोष सन्तुलित हुन्छ, शरीर पूर्ण स्वस्थ तथा उर्जावान् बन्छ ।

ज) लेप
नुहाउनु पूर्व अनुहार तथा शरीरमा जडिबुटीयुक्त पदार्थको लेप बनाई लगाउनाले छालाको चाउरीपन, काला दागहरु आदि हराउँछन् । शरीरको छाला ताजा, कोमल, निर्मल तथा चम्किलो हुन्छ । लेप लगाएर दिनमा सुत्न, बोल्न, आगो या घाम ताप्न, चिन्ता गर्न, रिसाउन निषेध गरिएको छ ।
झ) नुहाउनु
शरीरको स्वच्छताका लागि प्रतिदिन नुहाउनुपर्ने कुरामा जोड दिन्छ आयुर्वेद । ताजा पानीले नाक, कान, खुट्टा आदिको राम्रोसँग सफा गरेर नुहाउनाले मानव शरीरलाई नवजीवनको प्राप्ती हुन्छ । नुहाउनाले पाचन अग्निको वृद्धि हुन्छ । मन प्रसन्न हुन्छ । आयु बढ्छ । शरीरमा बल वृद्धि गर्छ । थकान, चिलाउने, छालाको फोहोर, पसिना, दुर्गन्ध, अल्छिपना, प्यास तथा शरीर पोल्ने जस्ता समस्याबाट राहत मिल्छ ।
आँखा, मुख र कानमा कुनै रोग हुँदा, पखाला चलेको बेला, पिनास तथा अजिर्ण भएका बेला तथा खाना खाने बित्तिक्कै नुहाउनु हुँदैन । यसबाट रोग अझै बढ्ने सम्भावना रहन्छ ।

ञ) पहिरन
नुहाइसकेपछि सधैं सफा, सुन्दर र सौम्य कपडा लगाउनाले शरीरको सुन्दरता एवम् आकर्षण बढ्नुका साथै आयुको पनि वृद्धि हुन्छ । राम्रा कपडा लगाउनाले शरीर तथा अनुहारमा प्रसन्नता, आत्मविश्वास र योग्यता झल्किन्छ । कपडाले मौसम तथा अन्य अशुभ प्रभावबाट शरीरको रक्षा गर्छ । मौसमअनुसार कपडा लगाउनु बुद्धिमानि हुन्छः जस्तै गर्मीमा हल्का तथा सेतो रङ्गको र चिसो मौसममा गाढा रङ्गका बाक्ला कपडा लगाउनुपर्छ ।

ट) सुगन्ध, आभूषण, मणी आदिको धारण
पहिरन लगाएपश्चात् मौसमअनुसार फूलका माला तथा प्राकृतिक सुगन्धको प्रयोग गर्नाले, सुन, चाँदी, आदिबाट बनेका आभूषण धारण गर्नाले शरीर सुगन्धित हुन्छ; आर्कषक देखिन्छ; मन प्रसन्न हुन्छ । अनुहारमा आत्मविश्वास तथा चमक आउँछ । सुगन्धको प्रयोगले राम्रो निन्द्रा पर्छ । जसले आयुको वृद्धि गराउँछ । आयुर्वेदमा हर दोषलाई सोही अनुसारको सुगन्धको प्रयोगबाट सन्तुलित अवस्थामा ल्याउन सकिन्छ भनेर उल्लेख गरेको पाइन्छ । त्यसैगरि विभिन्न मणी तथा रत्नहरु सिद्ध गरेर धारण गर्नाले नकारात्मक तथा आसुरी उर्जाबाट रक्षा हुन्छ । आयुर्वेद चिकित्सामा धातु, रत्न तथा मणीको धारण स्पर्श चिकित्साको एक अंग मानिन्छ ।
ठ) सुगन्धित पदार्थ मुखमा राख्नु, चपाउनु
शरीर सुन्दर बनाएपछि मुखलाई सुगन्धित, स्वच्छ तथा सफा राख्न तथा जिब्रो स्वाद लिने क्षमतामा वृद्धि गर्न जाइफल, सुपारी, सुकमेल, ल्वाङ्ग, पानको पात, आदि चपाउनुपर्छ । जसले मुखमा रोग लाग्न दिंदैन तथा खानाको स्वादमा पनि वृद्धि गर्छ ।
सुर्ति, तमाखु आदि नसालु पदार्थ र क्यान्सर उत्पन्न गर्ने गुट्खा, पान मसला आदिको प्रयोग गर्नुहुँदैन ।

ड) चप्पल जुत्ता लगाउनु
खुट्टामा जुत्ता लगाउनाले तातो चिसोबाट खुट्टाको रक्षा हुन्छ साथै खुट्टालाई पनि आराम मिल्छ । किला, काँडा, किरा तथा रोगाणुबाट पनि रक्षा गर्छ । जुत्ता चप्पलले खुट्टाको छाला बिग्रिन दिंदैन तथा आँखा तेजिलो बनाउँछ । असुविधाजनक तथा खुट्टालाई कष्ट हुने खालका, अग्ला जुत्ता चप्पल लगाउनुहुँदैन । त्यसैगरी मौसमको अनुकुल हुनेगरि जुत्ता चप्पलको छनौट गर्नुपर्छ ।

ढ) कपाल तथा नङको हेरचाह
हरेक व्यक्तिले आफ्‌नो टाउकाको कपाल, दारी, जुङ्गा, नङ आदि समय समयमा काट्ने तथा मिलाउने गर्नुपर्छ । लामो नङ राख्नुलाई आयुर्वेदमा अपवित्र मानिन्छ । साथै फोहोर मैला तथा किटाणुहरु जम्मा भएर बस्ने भएकाले स्वास्थ्यका लागि पनि हानिकारक हुन्छ । शरीरको स्वच्छता, निरोगिता तथा सुन्दरता कायम राख्न सकेसम्म यी कुराहरुलाई छोटो तथा सानो अवस्थामै राख्नुपर्छ ।

ण) भोजन/खाना
आयुर्वेदले शरीरको स्वास्थ्यका लागि खानालाई महत्वपूर्ण उर्जाको स्रोत मान्दछ । त्यसैले हाम्रो दिनचर्यामा खानामा के खाने, कति खाने, कहिले खाने जस्ता कुरामा विशेष साबधान हुनुपर्छ । त्यसैले भोजन सदा सही मात्रामा, सही समयमा तथा अनुकुल खाना खानुपर्छ । भोजनको मात्रा व्यक्तिको पाचन शक्तिमा निर्भर गर्दछ ।
हल्का, शिघ्र पाचन हुने खालका खानेकुरा खानुपर्छ । त्यसैगरि खाना सधैं सन्तुलित खानुपर्छ । एकपटक खाएको खाना सम्पूर्ण रुपमा पचिसकेपछि मात्र फेरि खाना खानुपर्छ । खाना खाने समयमा धेरै कुरा गर्नुहुँदैन । भोजनको समयमा मन शान्त तथा शरीर स्थिर हुनुपर्छ । यसरी खाएको खाना शिघ्र पाचन हुन्छ । शरीरका तीनै दोषहरु सन्तुलित अवस्थामा रहन्छन् । शरीरमा बल तथा आयु वृद्धि हुन्छ ।

त) निन्द्रा
शरीरको थकान मेट्न, शरीरलाई स्वस्थ र स्फुर्त बनाइराख्न निन्द्रा अत्यन्तै जरुरी हुन्छ । सारा दिन काम गर्दा हाम्रो शरीर र मस्तिष्क दुवै थाकेर निस्क्रिय हुन्छन् । सँगसँगै हाम्रा ज्ञानेन्द्रिय र कर्मेन्द्रियहरु पनि थाक्छन् । तब हामी निन्द्राको अवस्थामा पुग्छौं । अर्थात् जब मनको ज्ञानेन्द्रिय र कर्मेन्द्रियसँगको सम्पर्क टुट्छ हामीलाई निन्द्रा लाग्छ । यो अवस्थामा हाम्रो शरीरका श्वासप्रश्वास र रक्तसञ्चारबाहेकका सबै कार्यहरु रोकिएका हुन्छन् । जसकारण शरीरको न्युनतम उर्जा मात्र खर्च हुन्छ । त्यसैले हामी निदाएर उठ्दा ताजा देखिन्छौं ।
रातिको समय सुत्नका लागि उत्तम मानिन्छ । आयुर्वेदका अनुसार स्वस्थ रहनका लागि राति छिटै सुत्ने तथा बिहान छिटै उठ्ने गर्नुपर्छ । किनकि रातिको समयमा तमोको प्रभाव अधिक हुन्छ, त्यसैल निन्द्रा लाग्छ । जति छिटो सुत्यो त्यति नै छिटो निन्द्रा पूरा हुन्छ । यदि अनिन्द्राको समस्या छ भने राति नुहाउने, शरीरको मालिस गर्ने, सुत्नुअघि दुध पिउने, प्याज खाने, मानसिक रुपमा प्रसन्न हुने, रुचि अनुसारको संगीत सुन्ने, आँखा, टाउको तथा मुखमा आरामदायक मल्हम लगाउने आदि गर्नाले गहिरो निन्द्रा पर्छ ।
आयुर्वेदका अनुसार यसरी स्वस्थ दिनचर्याको अवलम्बन गर्न सकिन्छ । यसका अतिरिक्त जीवनमा स्वस्थ तथा सुखी रहनका लागि हरेक व्यक्तिले आध्यात्मिक एवम् मर्यादित बानी व्यबहार अवलम्बन गर्नुपर्छ । दैनिक जीवनमा धर्म, अर्थ, काम अर्थात् इन्द्रिय सुखलाई यसप्रकार पालना गर्नुपर्छ कि यी तीन आपसमा विरोधी नहुन् । भन्नुको अर्थ हामीले धर्मपूर्वक अर्थोपार्जन गर्नुपर्छ । त्यसैगरी धर्म र अर्थ बाधित नहुनेगरि मर्यादामा रहेर कामसुखको भोग गर्नुपर्छ ।
आदिकवि वाल्मिकी रामायणको किष्किन्धा काण्डमा भन्नुहुन्छ,
धर्ममर्थं च कामं च काले यस्तु निषेवते ।
विभज्य सततं वीर स राजा हरिसत्तम ॥
हित्वा धर्मं तथार्थं च कामं यस्तु निषेवते ।
स वृक्षाग्रे यथा सुप्तः पतितः प्रतिबुध्यते ॥
अर्थात्, जो धर्म, अर्थ र कामको समुचित एवम् सन्तुलित भोग गर्छ, त्यही व्यक्ति समझदार हो । यसको विपरित जो धर्म तथा अर्थलाई छोडेर केवल काम सुखामा मात्र लिप्त रहन्छ, त्यस्तो व्यक्ति संकट आइसकेपछि मात्र होसमा आउँछ, जसरी रुखमा सुतेको मान्छे रुखबाट तल खसेपछि मात्र होसमा आउँछ ।
सधैं सत्य बोल्नुपर्छ । सबैलाई समान देख्नुपर्छ, समान व्यवहार गर्नुपर्छ । अशक्त तथा रोगीहरुको सहायता तथा सेवाका लागि तयार हुनुपर्छ । सबैलाई आदर सत्कार गर्नुपर्छ । सधैं सकारात्मक हुनुुपर्छ । यसप्रकारको दिनचर्याबाट हामी सफल, खुसी तथा सुखी रहनसक्छौं ।
त्यसैले आफ्‌नो दिनचर्यालाई स्वस्थ राख्नुका साथसाथै मर्यादित, आध्यात्मिक र धार्मिक पनि बनाउन जरुरी हुन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *